रेडियोको सुचनाले गर्दा दुबै आँखा नदेख्ने कमलाले देखे संसार

ताप्लेजुङ — आँखाको पट्टी खोलेपछि श्रीमान् जयबहादुर तामाङ योञ्जनलाई सामुन्नेमा देखेकी तेह्रथुम आठराईको छातेढुंगाकी कमला तामाङ योञ्जनले भनिन्, ‘बाबै मैले आँखा देखे ।’

पट्टी खोल्दै गरेका काजी थेवेले दोहोर्‍याएर उनका श्रीमान्लाई देखाउँदै सोधे, ‘दिदी यो मान्छे को हो ?’ हतारमा जवाफ दिइन, ‘हाम्रो घरको बाबै हो धि ।’ उनको प्रस्तुतिले वरिपरि रहेका गलल हाँसे । उनले श्रीमानलाई बाबै भन्ने चलन रहेछ ।

हाँसोकै बीच नजिकै रहेका श्रीमानको हात समाइन् र गलामा लगाएको पछ्यौरीले देखाउँदै मेरो पो लगाएछौ भनेर भलाकुसारी गरिन् र हाँसिन् । श्रीमान् श्रीमतीबीच माया ममता त स्वभावैले हुन्छ नि । तर कमलाले श्रीमान्लाई यतिविधि सम्मान गर्नुको कारणचाँहि अर्कै रहेछ ।

दुबै आँखा नदेख्ने भएर थलिँदै गएपछि जयबहादुरले अर्की श्रीमती ल्याउने प्रस्ताव गरेछन् । शल्यक्रिया गर्नुअघि सुइ लगाउँदा दुखेका बेला उनको मुखबाट फुत्कियो ‘यति दुखेर पनि आँखा देख्ने भए त भइहाल्थ्यो नि ।’ शल्यक्रिया गर्ने कक्षमा प्रवेश गर्नुअघि आफ्नै सुरमा भनिन्, ‘नदेख्नु त साह्रो रहेछ ।’ उनले कहिले ठट्टा गरेजस्तो गरेर र कहिले साँच्चीकै अर्की ल्याउने भनेको भन्दै दुखेसो गरिन् ।

श्रीमान् जयवहादरले पनि घुमाउरो पारामा स्विकारे । भने, ‘मैले त ल्याउँछु भनेको होइन, गाउँलेले अब भात पकाउने पनि छैन, घर अँधेरो हुन्छ, अर्की ल्याउनुपर्छ भनेर सल्लाह दिँदै थिए ।’

दुई वर्षदेखि दुवै आँखाको ज्योति गुमेर बसेकी कमला श्रीमान् सँगै आँखाको शल्यक्रिया गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङ आएकी हुन । एफ एम रेडियोबाट आँखा शिविरको सूचना सुनेपछि उनले श्रीमान्लाई शिविरमा जान प्रस्ताव गरेकी थिइन् । जेठी छोरी फूलमाया तामाङले तीनहजार रुपैयाँ सापटी खोजेपछि मंसिर ६ गते बिहान छातेढुंगाबाट गाडी चढेका उनीहरू दिउँसो २ बजे शिविरस्थल पुगेका थिए ।

जबकि तीन दिने शिविर मंसिर ५ गते नै सुरु भएको थियो । दृष्टिविहीन कमलालाई स्वयंसेवकले परीक्षण स्थलमा पुर्‍याउँदा दुवै आँखामा मोतीविन्दु भएको निष्कर्ष निस्किएपछि त्यही दिन साँझ ८ बजे कमलाको देब्रे आँखा शल्यक्रिया भयो ।

पहिलो आँखाको सफल शल्यक्रियापछि डा. इसा विष्टले दाहिने आँखामा पनि मोतीविन्दु पाकिसकेकाले शल्यक्रिया गर्न सल्लाह दिइन् । डाक्टरको सल्लाहअनुसार कमला तयार भइन् र पहिलो आँखा देखेकै दिन दोस्रो आँखाको पनि मोतीबिन्दु फालिदिइन् ।

डा. विष्टका अनुसार उनको दुबै आँखा सफा भएको छ र अब १५ दिनसम्म आँखाको राम्रो स्याहार गरे उनले थप समस्या भोग्नुपर्ने छैन । नेपाल नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रले सञ्चालन गरेको शिविरमा कमलाजस्ता ७६ जनाले मोतीविन्दुको शल्यक्रिया गराएका छन । ८१ जनाको शल्यक्रिया भएकोमा ५ जनाको परेला फर्किएको, मासु पलाएको जस्ता सामान्य शल्यक्रिया गरिएको छ ।

शिविरमा मोतीविन्दुको जालो फाल्न सप्तरीको फत्तेपुर, लामको रोङ, पाँचथरको याङवरक, तेह्रथुमको आठराईदेखिका मोतिविन्दुका बिरामी आएका थिए । दुई दिनको पैदलमा रहेको जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ, मेरिङदेनको नाल्वुदेखिका मोतीविन्दुको समस्या भएकाहरू आएका थिए ।

शल्यक्रिया गरिएकामध्ये अधिकांसको मोतीविन्दु पाकिसकेको अवस्थाको पाइएको डा. विष्टले बताइन् । शल्यक्रिया त पाँच मिनेटमै सकिन्छ । शल्यक्रियाको समयमा लेन्स लगाइने भएकाले त्यसलाई जोगाउन र हल्लिन नदिन केही दिन सावधानी अपनाउनुपर्छ । शल्यक्रियापछिको दुई घण्टासम्म बिरामीलाई शल्यक्रिया स्थलमै आराम गराइन्छ ।

त्यसपछि शल्यक्रिया गरेकालाई नजिकै जान दिइन्छ । १२ घण्टापछि लगाएको पट्टी खोलेर कालो चस्मा लगाउन दिइन्छ । आँखामा धूलो धूवाँ नपसोस् र जोगाउन सजिलो होस् भनेर चस्मा अनिवार्य गरिएको नेत्र सहायक पाण्डे बताउँछिन् ।

प्रत्येक छ महिनामा एक पटक हुने शिविरमा मोतीविन्दुको शल्यक्रिया नि:शुल्क गर्ने नेत्रज्योती संघका अध्यक्ष मुक्ति पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!