काठमाडौं–तराई फास्ट ट्र्याक’ निर्माण रोक्न सांसदको सुझाब

काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण तत्काल रोक्न सांसदहरूले सरकारलाई सुझाब दिएका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा सत्तारुढ तथा विपक्षी दलका सांसदले हतियारको बलमा स्थानीयको असन्तुष्टिका बीच नेपाली सेनाले फास्ट ट्र्याक निर्माण गर्न नहुने बताएका हुन् ।

फास्ट ट्र्याकको काठमाडौंतर्फको प्रवेशबिन्दु ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनप्रतिनिधिसँग समितिले छलफल गरेको हो । सो क्रममा सरकारले हाल चलनचल्तीको भाउअनुसार मुआब्जा नदिएको तथा सांस्कृतिक महत्वको बस्ती नै जोखिममा पर्ने गरी काम अघि बढाउन लागेको भन्दै सांसद र जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए । समितिले फास्ट ट्र्याक रोक्न सरकारलाई औपचारिक निर्देशन भने दिइसकेको छैन । समिति सदस्यहरूले भने रोक्नुपर्ने भन्दै यसबारे प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री तथा नेपाली सेनासँग छलफल गर्न समितिसमक्ष माग गरेका छन् ।

कसले के भने ?
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, नेकपाका कृष्णगोपाल श्रेष्ठ, पम्फा भुसाललगायतले तत्काल काम रोक्नुपर्ने माग गरे । ‘एकपटक सरकारको कुरा सुनाैँ । तत्काल काम रोक्न निर्देशन दिनुपर्छ,’ सांसद बडूले भने । ‘हतियारको भरमा सेनाले विवाद सिर्जना गर्नुहुन्न । डिपिआरविना काम थाल्नुहुन्न,’ नेकपाका सांसद श्रेष्ठले भने । स्थानीयको माग सम्बोधनमा कर्मचारीहरू नै बाधक बनेको सो क्षेत्रकी सांसद भुसालले बताइन् । नेकपाकै नवराज सिलवालले स्थानीयको गुनासाबारे सरकारसँग पनि बृहत् छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताए ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!