हात नभएपछि खुट्टाले लेखेर डिग्री गर्ने रूपाको सपना

जहाँ करेन्ट लागेर दुवै हात गुमाएकी बालिका रूपा रौतारको परिवार बस्छ । उनीहरू यो घरमा बस्न थालेको झण्डै ५ वर्ष भयो ।

टोलका धेरैलाई थाहा छ– रूपा बस्ने यहीँ हो । रूपाको परिचय यतिले पुग्दैन । रूपा कलाकार पनि हुन् । अनि खुट्टाले लेखेर विद्यालयमा राम्रो अङ्क ल्याउने विद्यार्थी ।

आइतबार बिहान ८ बजे रूपा बस्ने घर पुग्दा उनी भर्खर नुहाएर आमासँगै टीभी हेर्दै थिइन् ।

उनीसँग कुराकानी गर्नुथियो । कुराकानी सुरु भयो । कुरा गर्दैगर्दा भित्तामा झुन्डाएको क्यालेन्डरमा बाल्यकालको फोटोमा रूपाको आँखा पटक पटक ठोक्किन्थे ।

झुण्ड्याएको क्यालेन्डरमा दुई हातमा चुरा लगाएको र मुसुक्क हाँसेको रूपाको एउटा फोटो थियो । हल्का कलर उडेको जस्तो देखिने फोटोलाई निकै जतनसाथ राखिएको बुझ्न सकिन्थ्यो ।

आखिर किन उनको आँखा त्यो फोटोमा पटक पटक पर्छ ? जिज्ञासा स्वभाविक थियो । प्रश्नले उनलाई निकै भावुक बनायो । उनी भावुक बनिन् । भनिन्– ‘यो मेरो फोटो अमूल्य सम्पत्ति हो, किनकि मेरा हात भएका अरू फोटाहरू छैनन् र अब कहिल्यै खिच्न पनि पाइँदैन । तसर्थ मलाई यो फोटोले बाल्यकालको सम्झना आउँछ ।

आमा इन्द्रकलाका अनुसार २ वर्षको उमेरमा खिचेको हो त्यो तस्बिर । रूपाको स्थायी घर कपिलवस्तु वाणगङ्गा नगरपालिका वडा नं. ३ धनकौलीमा हो । छोरीको करेन्ट लागेपछि बुटवल बस्न थालेका हुन् उनीहरू । यहाँ बस्न थालेपछि कहिले काहीँ मात्रै पुरानो घर जान्छन् ।

१४ वर्ष विदेशी भूमिमा पसिना बगाएका रूपाका बुबा अहिले रूपासँगै छन् । बुटवलको आम्दा अस्पतालमा सुरक्षा गार्डको काम गर्छन् रूपाका बुबा ।

रूपाका दाइ बुटवलमै अध्ययन गर्दैछन् । आमाको काम चाहिँ रूपाको सहयोग गर्ने हो ।

आमाले केही वर्षसम्म्म रूपालाई बिहान सङ्गीत सिक्न बुटवलको मिलनचोक लैजाने अनि अध्ययनका लागि दीप बोर्डिङ स्कुलमा पुर्याउने र ल्याउने गरिन् । अहिले रूपा आफै बस चढेर स्कुल र अन्य ठाउँमा पनि जान सक्छिन् ।

आमा इन्द्रकला भन्छिन्– ‘छोरी आफै काम गर्न थालेपछि मलाई निकै सहज भएको छ ।’

घटना यस्तो थियो

०५८ साल वैशाखमा जन्मिएकी रूपा समान्य बिरामी थिइन् । उनका बुबा विष्णु विदेशमा थिए । आमा इन्द्रकालालाई चिठ्ठी लेख्न आउँदैथ्यो ।

विदेश गएका रूपाका बुबा विष्णुसँग परिवारको संवादको माध्यम भनेकै चिठ्ठी थियो । अहिले जस्तो हातहातमा मोबाइल थिएन ।

कपिलवस्तुको होराइजनमा पढ्दै गरेकी रूपालाई घरमा बोलाएर आफन्तकोमा चिठ्ठी पुर्याउने भन्दै रूपाकी आमा इन्द्रकला घरबाट निस्किइन् ।

छोरीलाई स्कुलबाट ल्याएर आफन्तकोमा चिठ्ठी दिन गएकी उनी आफन्तसँग कुराकानी गर्दैगर्दा रूपा अचानक घरको दोस्रो तलामा पुगेको कसैलाई थाहै भएन ।

इन्द्रकलाले घटना स्मरण गरिन्– एक्कासि आवाज आयो । हेर्दा कतै देखिएन, घरमाथि हेर्दा त छोरी करेन्ट लागेर टिनमा बजारिएकी रैछ । टिनमा बजारिएपछि पनि दाउरा राखेको ठाउँमा झरी । घाँटीमा, शरीरमा दाउरासमेत गाडिएका थिए । हातमा दनदनी आगो मात्र बलेको देखेपछि लुम्बिनी अञ्चल अस्पताल लगेँ, त्यहाँबाट टिचिङ अस्पताल ।

त्यहाँ पनि नभएपछि कान्ति बाल अस्पतालमा लगियो । ६ दिन डाक्टरले रूपालाई उपचार गरिरहे । हातको मासु कुहिन थाल्यो । जलेको हाड र मासु पलाउन सम्भव थिएन । त्यसैले उपचारको सातौँ दिन रूपाका दुवै हात काटियो । रूपालाई काठमाडौँमा ६ महिनाको उपचारपछि कपिवस्तु ल्यायौँ । ४ लाख रूपैयाँ खर्च भयो ।

रूपाको जब होस खुल्यो

घटनापछि रूपा लामो समयसम्म होसमा आइनन् । ‘थाहा पाउँदा त दुवै हात थिएनन्, पट्टी बाँधिएको थियो । डाक्टरले बचाउन यति गर्नुभएको होला भन्ने लाग्यो’, रूपा भन्छिन् । ‘डाक्टरले हात नकाटेको भए क्यान्सर हुन सक्ने भएकाले हात काट्नुभएको रे’, उनले सुनाइन् ।

अस्पतालमा आउने शुभेच्छुकले त्यो बेला प्राधिकरणमा राहतका लागि अपिल गर्न बारम्बार भने । तर उनी छोरीलाई छाडेर हिँड्न सकिनन् । आमा नदेख्दा रूपा अस्पतालको बेडबाट रुन्थिन् । इन्द्रकलाले त्यो बेला विद्युत प्राधिकरणमा राहतका लागि निवेदन दिनसमेत पाइनन् । पछि निवेदन दिदा ढिला भइसकेको थियो । घटना घटेको ७ दिनमा निवेदन दिनुपर्ने हुन्छ । बल्लतल्ल उनले प्राधिकरणबाट ९७ हजार रूपैयाँ राहत पाइन् । त्यतिन्जेलसम्म रूपाका परिवारको ४ लाख रूपियाँ सकिसकेको थियो ।

रूपाको हात गुमेपछि उनको परिवार अन्तै मोडियो । सामान्य आर्थिक अवस्था रहेको रौतार परिवारलाई रूपालाई कपिलवस्तुस्थित पढ्दै आएको विद्यालयले पढाउन मानेन । त्यसपछि यो परिवार रूपाकै खुशीको लागि बुटवल आयो । कतारमा रहेका बुबा विष्णु पनि नेपाल फर्किए । त्यसपछि उनीहरू बुटवलको लक्ष्मीनगर हुँदै हाल देवीनगरस्थित साङ्ग्रिला पथमा बस्छन् ।

यसरी जान्छिन् रूपा विद्यालय

रूपा आमाको सहयोगमा मुख्य राजमार्गसम्म पुग्छिन्, बिहानको सङ्गीत कक्षाका लागि । विद्यालयका लागि भने घर नजिकैको होराइजनचोकसम्म स्कुल बस आउने भएकाले आमाको सहयोग चाहिँदैन । उनी बसमा बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ पुग्छिन् ।

प्रार्थना सकिन्छ । साथीहरूसँगै प्रार्थना गरेपछि उनी कक्षा ८ को कोठाभित्र छिर्छिन् । देव्रे साइडमा उनलाई छुट्टै बस्ने स्थान राखिएको छ । साथीसँगै बस्छिन्, पढ्छिन्, खाजा खान्छिन् अनि विद्यालय सकेपछि पुनः घर फर्किन्छिन् रूपा । रूपाको दैनिकी यही हो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले रूपाको पढाइ मध्यम रहेको बताए ।

उनले खुट्टाले लेख्ने भए पनि अक्षर चाहिँ राम्रा भएको बताए । स्वाभाविक रूपमा दुई हात भएको विद्यार्थी र दुई हात नभएको विद्यार्थीहरूको गतिविधि फरक हुन्छ । त्यसमा समान्य असर पर्ने नै भयो । तर रूपाको आत्मविश्वास र मिहिनेतले उनलाई अध्ययन र कला क्षेत्रमा राम्रो फड्को मार्न सहयोग पुग्ने शिक्षकहरूको विश्वास छ । उनलाई विद्यालयले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । डिग्री पास गर्ने सपना

रूपा रौतार अहिले १६ वर्षकी भइन् । आठ कक्षामा पढ्दै आएकी रूपा सङ्गीत कक्षा पनि स्थानीय बागेश्वरी सङ्गीतालयमा निःशुल्क नै सिक्छिन् । रूपाको भर्खर मात्रै हिम्मत भाकी छोरी गीति एल्बम बजारमा आएको छ । ‘रूपाको सङ्गीतमा रुचि छ, उनको क्षमता पनि छ । गत वर्ष देवदहमा भएको प्रदर्शनीमा आइडल पनि भईन्’, रूपालाई सङ्गीत सिकाउँदै गरेका गुरु सुरेश सेन्चुरी भन्छन्– ‘रूपाको क्षमता अपरम्पार छ ।’

रूपाले खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । मोबाइल पनि खुट्टैले चलाउँछिन् । भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रूपा पढाइमा पनि तेज छिन् । ‘रूपाको पढाइ राम्रो छ । सङ्गीत पनि उस्तै छ । विद्यालयले आवश्यक सहयोग गरेको छ’, रूपा अध्ययनरत विद्यालयका प्राचार्य न्यौपानेले बताए । रूपाले सङ्गीत र पढाइ दुवैलाई सँगसँगै लैजाने इच्छा रहेको बताइन् । ‘जसरी भए पनि डिग्री पास गरेरै छाड्छु’, उनले आफ्नो सपना सुनाइन् । भनिन्– ‘मेरो हात छैन । तर पढ्नका लागि कुनै अप्ठ्यारो छैन । म जसरी पनि डिग्री पास गर्छु ।’

रातो पाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!