७७ वटै जिल्लामा भोलि विप्लवको धर्ना तथा जुलुश

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा जुलुश गर्ने भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले अपराधी सार्वजनिक गर्न नसकेको भन्दै नेकपाले विरोध जुलुश निकाल्न लागेको हो ।

यही मंसिर ८ गते भृकुटिमण्डपमा भएको कार्यक्रममा नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हत्यारा पत्ता लगाउने बताएका थिए।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बढि बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण नेपाली जनसमुदायलाई लज्जित बनाएको भन्दै दबाबमूलक जनप्रदर्शन गर्ने उक्त पार्टीले जनाएको छ।

पार्टीले राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्दै आएको र देशव्यापी दबाबमूलक जनप्रदर्शन गर्ने केन्द्रीय निर्णयअनुसार कञ्चनपुर, झापालगायत जिल्लाहरूमा जनप्रदर्शन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!