कर्मचारीको मनपरी : सरकारी गाडी लिएर वनभोज

हेटौंडा : सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्न पाइदैन। नेपाल विद्युत् प्राधिकरण कर्मचारीले शनिबार वनभोज जाँदा सवारी पास नलिई दुई दर्जन बढी सरकारी गाडी प्रयोग गरेका छन्।

 

शनिबार सरकारी गाडी लिएर वनभोज

हेटौंडा बजार नजिक भिफेदीस्थित त्रिखण्डीमा नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय समितिको वनभोज तथा भेलामा सहभागी अधिकांश कर्मचारीले प्राधिकरणका गाडी दुरुपयोग गरेका हुन्।

वनभोज खान नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत वीरगंज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरीया वितरण केन्द्रका कर्मचारी सहभागी थिए।

‘यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु राम्रो होइन’, त्रिखण्डीमै वनभोज गएका बारा रतनपुरका भीम तामाङले भने, ‘दुई दर्जन बढी प्राधिकरणका गाडीको दुरुपयोग भयो।’

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ क्षेत्रीय समिति हेटौंडाका अध्यक्ष प्रकाश बस्नेतले वनभोज मात्र नभई भेला पनि भएकाले प्राधिकरणको सवारीसाधन प्रयोग भएको बताए।

प्रायः गाडीको सवारी पास रहेको बताएपनि कुनै पनि गाडीको सवारी पास देखाउन सकेनन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिदाको दिन सकारी गाडी चलाउनु परेमा सवारी पास अनिवार्य रहेको बताए।

‘कुनै पनि सरकारी गाडी सार्वजनिक बिदाको दिन चलाउनुपरेमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास अनिवार्य लिनुपर्छ’, उनले भने, ‘सवारी पास नलिई सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएमा नियन्त्रणमा लिएर प्रशासनले कारबाही गर्छ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!