एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, गुण्डा शैलीमा डाक्टरमाथि आक्रमण

सुनसरी, मंसिर १ – सुनसरी इनरुवा- ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै बिहीबार बेलुका एम्बुलेन्सको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको ज्यान गएको हो ।

बेलुका साढे ६ बजे इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा२४प ४२४४ नंको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा भट्टराइको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक भट्टराइलाई उपचारका लागि भन्दै इनरुवा अस्पताल ल्याएको र मृत रहेको भट्टराइका विषयमा स्वास्थ्यकर्मीले जानकारी गराएपछि प्रहरीले डा माथि आक्रमण गरेको बताइएको छ ।

मृतक भट्टराईका आफन्तपर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले डा तुसार झा, स्वास्थ्यकर्मी ओम गोहीबार यादवलगायत सात जना स्वास्थ्यकर्मी माथि गुण्डा शैलीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी निरीक्षक पोखरेलले बर्दी र बन्दुकको आडमा रक्सीमा मातेर आफूहरु माथि आक्रमण गरेको पीडित तुसार झाले बताउनुभएको छ । अस्पतालको इमर्जेन्सी कक्षमा रहेका डा झा सहितका स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी समेतलाई बुट र लठीले कुटपीट गरेको झाले बताउनुभयो ।

मृतक भट्टराई आफ्नो आफन्त रहेको र सिरानी नदिएको तथा उपचारसमेत नगरिदिएको आरोप लगाउँदै डाक्टर माथि आक्रमण गरेको त्यहाँस्थित एक जना कुरुवाले प्रतिक्रिया दिनुभयो ।

घटनालाई लिएर जिल्ला अस्पताल पूर्णरुपमा बन्दगरी स्वास्थ्यकर्मीहरु अस्पताल अगाडि र सडकमा धर्ना दिएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरिरहेका छन् ।

चिकित्सकमाथिको आक्रमण सह्य नहुने भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, अस्पताल विकास समितिका अध्यक्ष रमेश कटुवाल, नेपाली काँग्रेका सचिव केदार भण्डारी लगायतले ऐक्बद्धता जनाउँदै चिकित्सको आन्दोलनमा सहभागी भएका छन् ।

चिकित्सकमाथिको आक्रमणको विरोधमा सुनसरीका सबै स्वास्थ्य संस्था बेलुकादेखि नै बन्द भएका छन् भने दोषीलाई कारबाहीको माग गर्दै इलाम, उदयपुर, धनकुटा, पोखरा, सप्तरीलगायतका क्षेत्रमा डाक्टरले सेवा अवरुद्ध गरेको स्वास्थ्यकर्मी राजीव मेहताले जानकारी दिनुभयो ।

जिल्लाको पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले घटना सुनेपछि राति साढे ८ बजे इनरुवा आइपुगेको र आन्दोलनमा सरिक भएको डा वसन्त यादवले जानकारी दिनुभयो । उता प्रहरी र प्रशासनले आफ्नो कमजोरी भएको भन्दै मिलाउने र वार्ता गर्ने तयारी गरिरहेको बुझिएको छ ।

आन्दोलनमा उत्रेकाले भने कारबाही नभएसम्म शुक्रबार बिहानैदेखि इनरुवा बजार बन्द गर्ने र स्वास्थ्यसंस्था समेत अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् । Ujyaalo Online

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!