निर्मलाको न्यायका लागि सडकमै सुतेर धर्ना

महेन्द्रनगर : निर्मलाका लागि न्याय माग्दै चरणबद्ध आन्दोलन सुरु गरेका कञ्चनपुरका अधिकारकर्मी महिला मंगलबार आँखामा कालोपट्टी बाँधेर सडकमै सुतेका छन्।

जिल्ला प्रशासन कार्यालय सरकार अन्धो भएको र अहिलेसम्म न्याय दिन नसकेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

‘१ सय २९ दिन भइसक्यो। निर्मलाका हत्यारा सार्वजनिक गरिएको छैन’, अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘सरकार अन्धो भएको र न्याय दिन आँखा नखोलेकाले कालोपट्टी बाँधेर सडकमै सुतेका हौं।’

सरकारले निर्मलालाई न्याय दिन आँखा खोलोस् भनेर आँखामा कालोपट्टी बाँधेको उनले बताइन्।

न्याय माग्दै सडकमा सुतेर, आँखामा कालोपट्टी बाँधेर त कहिले अनेक तरिकाले आन्दोलन गरिरहेको अधिकारकर्मी भारती चौधरीले बताइन्। ‘सरकारले हामीलाई यसो गर्न बाध्य बनाएको छ’, चौधरीले भनिन्। न्याय नपाएसम्म आन्दोलन जारी रहने उनले बताइन्। ‘यो आन्दोलन एउटा निर्मलाका लागि मात्रै होइन’, उनले भनिन्, ‘छोरीको रक्षाका लागि राज्यले विशेष कानुन ल्याउनुपर्छ भन्ने पनि हाम्रो माग हो।’

हत्यारा सार्वजनिक गर्न माग गर्दै अनिश्चितकालीन धर्ना बसेको २६ दिन भएको निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तले बताइन्। ‘सरकारसँग हामीले छोरीका हत्यारा सार्वजनिक गर भनेका हौं। धेरै मागेका छैनौं, त्यैपनि सरकार सुन्दैन’, लक्ष्मीले भनिन्।

नागरिक संघर्ष समितिले २० गतेसम्मका आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। मंगलबारको धर्नामा राष्ट्रिय लोकदोहरी प्रतिष्ठान नेपालले समेत ऐक्यबद्धता जनाएको छ। प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसीको नेतृत्वमा प्रतिष्ठान काठमाडौंदेखि आएको हो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!