मेरो देशमा त्यस्ता धेेरै महिला छन् जो ‘वेेश्या’ का रूपमा विभिन्न देशमा बेचिन्छन् :नीती शाह

विराटनगर, कार्तिक ३०
जापानमा आयोजित ‘मिस इन्टरनेशनल’को अन्तरराष्ट्रिय प्लेटर्फममामा नेपालको प्रतिनिधित्व गर्दै पुगेकी ‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेकी मोडल नीती शाहको अहिले निकै आलोचना भइरहेको छ । नेपालबाट प्रतिनिधित्व गर्ने सहभागीले नेपालको बिषयमा अन्य देशका प्रातियोगी, आयोजक तथा त्यहाँका जनतालाई राम्रो सन्देश दिन निकै आवश्यक छ । तर, नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्लेटर्फममा पुगेकी नीतीले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा बोलेको कुराले राम्रा भन्दा पनि नराम्रा प्रतिक्रिया धेरै आएको छ ।

जापानमा आयोजित ‘मिस इन्टरनेशनल’को एक कार्यक्रममा नीतीले नेपाली महिलाको बारेमा दिएको बयानका कारण सामाजिक संजालमा यो कुरा अहिले सर्वाधिक विवादमा तानिरहेको छ । उनले नेपाल विकासोन्मुख राष्ट्र भएको र शिक्षाले सामाजिक बिकासमा लिनु पर्ने गति लिन नसकेको स्थितिमा नेपालको महिला शिक्षाको बारेमा आफ्नो मन्तब्य राखेकी थिइन् ।

उनले भनेकी छिन्-

म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं । एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्को वर्गमा ग्रामीण महिलाहरू छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन । म शहरी महिलाभित्र पर्छु जसले एउटा धेरै राम्रो स्कुलमा पढेपछि राम्रो उच्च शिक्षा पनि पाएँ । तर मेरो देशमा त्यस्ता धेेरै महिला छन् जो ‘वेेश्या’का रूपमा विभिन्न देशमा बेचिन्छन् । ग्रामीण महिलाहरूलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरूसँग दुई वटा विकल्प छन्ः कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’

नीती शाहले बोलेको यस कुरालाई अहिले सामाजिक संजालमा निकै आलोचना गरिएको छ । उनलाई धेरैले अनुहार मात्र राम्रो भएपनि उनको विचार निकै तल्लोस्तरको र उनलाई अरुको अगाडी बोल्न नआउने भनेर आलोचना गरेका छन् । सामाजिक संजालमा उनलाई अंग्रेजी बोल्न नआउने तथा दिमाग नभएको भन्दै ब्यङ्ग गर्दै थुप्रै ट्रोल पनि बनेका छन् ।

यस विषयमा नीतीले आफ्नो मुख खोलेकी छिन् । सोवा विश्वविद्यालयमा भएको छलफलका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे आफ्नो अधिकारिक सामाजिक संजाल फेसबुकमार्फत नीतीले स्पष्टिकरण दिएकी छिन् । आफूले भनेको कुरालाई गलत ढंगले बुझिएको र नेपालको लैंङ्गिक अवस्थाबारे मात्र कुरा राखेको र आफुले उक्त भनेको कुरा सत्य भएको बताएकी छिन् । उनले आफ्नो कुराबाट कसैलाई चोट परेकोमा माफी पनि मागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्