टिभीमा सिरियल हेरेर बस्नुभन्दा शेयर बजारमा लाग्नु राम्रो : राधा पोखरेल

नेपालको शेयर बजारमा लगानी गर्ने महिलाको सक्रिता पछिल्लो समय बढ्दो छ । महिलाहरू लगानी गर्ने तरिका कसरी अपडेट भइरहेका छन्, शेयर बजारमा लगानी गर्न कसरी समय मिलाई रहेका छन् र उनीहरूसँग लगानी गर्ने रकम कहाँबाट आउँछ ? यसै सम्बन्धमा चर्चा गर्न शेयरबजारमा लगानी गर्ने महिला लगानीकर्तामध्येकी एक राधा पोखरेलसंँग गरिएको कुराकानी ।

पछिल्लो समयमा महिलाको सक्रियता शेयर बजारमा बढ्दो छ, उनीहरूको शेयर बजारमा सक्रियताका साथ लाग्नुको कारण के हो ?
शेयर बजारमा सक्रियताका साथ लाग्नको लागि समय निकाल्न निकै गाह्रो हुन्छ । विशेषगरी शेयर बजार खुल्ला हुने समय ११ बजेदेखि ३ बजेसम्म हो । १० बजेदेखि ५ बजेसम्म अफिसमा काम गर्ने महिलाले सजिलै समय निकाल्न सक्दैनन् ।

विवाहित महिलालाई त झन् गाह्रो हुन्छ । जो महिला घरमै बसिरहनु भएको छ, उहाँहरुको लागि ११ बजेदेखि ३ बजेसम्मको समय भनेको टिभीमा सिरियल हेरेर बस्ने खाली समय हो । खालीे समयलाई नै सदुपयोग गरेर आज म अनि मजस्तै महिला शेयर बजारमा सक्रियताका साथ लागेका छन् ।

पुँजी बजारमा प्रवेश कसरी गर्नुभयो ?

शुरुवाती समयमा म पुँजी बजारमा प्रत्यक्ष संलग्न थिइन । आफन्तलाई शेयर खरिद गर्ने र बेच्ने काममा सहयोग माग्थे, म त्यतिखेर काम गर्दै थिएँ, समय निकाल्न धेरै गाह्रो हुन्थ्यो । अफिसमा काम गरेर कमाएको १०/१२ हजार रुपैयाँले आफ्नो खर्च जुटाउन पनि गाह्रो हुने भएकाले शेयर बजारमा लाग्नु उचित देखेर शुरुवात गरेकी हुँ ।

पुँजी बजारमा प्रवेश गर्दा पैसाको जोहो कसरी गर्नु भएको थियो ?

शुरुमा त ५/१० हजारबाट शुरु गरेकी हुँ । शेयर मार्केटमा जाँदा एकै चोटि ५/१० लाख नै चाहिन्छ भन्ने छैन । आफ्नो कामबाट जोगाएर राखेको पैसालाई नै शेयर मार्केटमा लगानी गरेकी हुँ । मैले शुरुमा प्राथमिक शेयरमा न्यूनतम १० हजार लगानी गरेर मार्केटमा प्रवेश गरेकी हुँ । अहिले त एक हजारमा पनि आईपीओ पाउन सकिन्छ ।

पुँजी बजारको ज्ञानबिना नै मार्केटमा छिर्नु भयो वा पहिले नै ज्ञान थियो ?

मार्केटमा शुरूमा पस्दा सबै कुरा थाहा हुँदैन । काम गर्दै जाँदा थाहा पाउने हो । शुरुवाती समयमा त मैले पनि आफ्नो लगानी गुमाए । अहिले विस्तारै माथि उठ्दै छु । काम गर्दै जाँदा यो पुँजी बजारको बारेमा धेरैथोरै सिकें, अहिले राम्रै प्रतिफल प्राप्त भइरहेको छ । म शुरुमा मार्केट छिर्दा बजार १८८१ को रेन्जमा थियो अहिले १४ सयभन्दा तल छ । अवश्य पनि त्यो समयमा लगानी गर्नेहरु अहिले घाटामा नै छन् । तर, शेयर बेचियो भने घाटा हुने हो, कुर्न सकियो भने त पछि नाफा कमाउन सकिन्छ ।

पुँजी बजारबाट कमाएको पैसालाई अन्य कुन क्षेत्रमा कसरी परिचालन गर्नु हुन्छ ?

म शेयर बजारमा सक्रियताका साथ लागेको ३ वर्ष पूरा भयो । अहिलेसम्म नाफाकै कारोबार गरेकी छु । यो शेयर बजारबाट कमाएको पैसा पनि मैले कत्तै परिचालन गरेकी छैन । सबै यही मार्केटमा नै लगानी गरेकी छु । भोलि पर्सि बुढेसकालमा चस्मा लगाउँदै लठ्ठीको सहारा लिँंदै यही पुँजी बजारमै सकृय रहने छु ।

पछिल्लो समय महिला लगानीकर्ताहरु कसरी बजारमा आएको पाउनु हुन्छ ?

उपत्यका बाहिरको अवस्था त मलाई थाहा भएन । काठमाडौं उपत्यकाका महिला लगानीकर्ताहरुलाई शेयर मार्केट के हो भनेर सबैलाई थाहा छ । तर, कसरी लगानी गर्ने के मा लगानी गर्दा राम्रो हुन्छ भन्ने थाहा छैन । मार्केट ११ बजेबाट शुरु हुन्छ उता १२ बजेसम्म पनि बजार खुलेको छ कि छैन भनेर सोध्नेहरु पनि छन् । यसको मतलब सशयर मार्केट अझै पनि सबैको पहुँचमा छैन ।

महिला लगानीकर्ताहरुले सूचना कहाँबाट प्राप्त गर्छन् ?

विशेषगरी सामाजिक सञ्जाल, पत्रपत्रिका पढेर नै थाहा पाइन्छ । कतिपय अशिक्षित महिला पनि यो शेयर बजारमा लाग्न चाहनु हुन्छ, कोही महिला साथीभाईको संगतले पनि यो बजारमा लाग्न उत्सुक हुन्छन् । शेयर बजारमा लाग्ने महिला लगानीकर्ता भन्दा पुरुष लगानीकर्ता बढी जानेबुझेका छन् । किनभने पुरुषले घरमा पनि अध्ययन गर्ने समय निकाल्न सक्छन् । तर, महिलाको हकमा त्यो लागू हुँदैन । महिलाले घरको काममा पनि समय दिनुपर्ने हुन्छ । आफ्नो काम पनि गर्नुपर्ने हुन्छ ।

शेयर बजारमा लगानी गर्दा जोखिम कतिको हुन्छ ?

जोखिम हुन्छ राम्रो कम्पनी हेरेर मात्र लगानी गर्नुपर्छ । घटेको मार्केटमा बिरालोको बच्चा र बाघको बच्चा छुट्याउन सकिन्न । तर, मार्केट बढेपछि त छुट्याउन सकियो नि । अहिले घट्दो बजारबाट बाहिर निस्कन खोजियो भने घाटा खाइन्छ । घट्दो बजारबाट डराउनु हुँदैन । धैर्य गर्न सक्नुपर्छ । घाटाकै कुरा गर्ने हो भने सानो पसल थापेर बसे पनि घाटा हुन सक्ने सम्भावना त त्यहाँ पनि हुन्छ । अहिले भर्खरै कम्पनीहरुको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक भयो । कम्पनीहरुको नाफा त्यति राम्रो नदेखिएता पनि सबै कम्पनीको नराम्रो रिपोर्ट आएको भन्न मिल्दैन । राम्रो कम्पनी छानेर लगानी गर्न सकिन्छ ।

राम्रो कम्पनी कसरी चिन्ने ?

यसका लागि विगतका वर्षहरुमा उक्त कम्पनीको अवस्था कस्तो थियो । वित्तीय विवरणहरु कस्ता छन् हेर्नुपर्छ । शेयर तथा पुँजी बजारसंँग सम्बन्धित समाचारहरु पढ्ने अध्ययन गर्ने । फेसबुक हेरेर समय खेर फाल्नुको साटो समाचार तथा सूचनाहरु पढेर ज्ञान बढाउँदा राम्रो हुन्छ । राम्रो कम्पनीमा लगानी गर्दा घटिरहेको बजारमा पनि नाफामा मात्र थोरै घाटा हुने हो ।

पुँजी बजारमा लागेका महिला लगानीकर्तामा डर र लोभ कतिको देख्नु भएको छ ?

हुन त महिलाहरु पैसाको मामिलामा अलि लोभी नै हुन्छन् भन्ने हुन्छ । महिला लगानीकर्ताले अरुको विश्वास छिटो गर्ने भएकाले पनि कसैले कुनै कम्पनीको अवस्था राम्रो छ किन्दा हुन्छ भनिदिँदा छिटै विश्वास गरिदिनु हुन्छ । थोरै मात्र बढेको मार्केटमा अरुको विश्वास गरेर किन्दा एक छिनपछि फेरि मार्केट घटिहाल्छ, उता बेच्ने मान्छे मार्केटबाट निस्किसकेको हुन्छ र किन्ने महिला दिदी बहिनीहरु फस्नु हुन्छ र यो सबै लोभकै कारण भएको हो । साथै डर पनि हुन्छ एकैछिनमा मार्केट घट्ने हो कि वा बेचेर निस्किँदा नै ठिक हुन्छ कि भन्ने डर पनि भइरहेको हुन्छ ।

महिला दिदी बहिनीहरु राम्रोसँंग पुँजी बजारमा लाग्न र यसलाई नै व्यवसाय बनाएर लाग्न के गर्नुपर्छ ?

सबैभन्दा पहिले पुँजी बजार पनि महिलामैत्री हुनुपर्छ । ब्रोकर अफिसमा पनि महिलाको लागि त्यहीअनुसारको वातावरण हुनु आवश्यक छ, अध्ययन गर्ने र मार्केटसम्मको पहुँच हुनु पनि त्यतिकै महत्वपूर्ण छ । यसरी सबै सर्वसुलभ भयो भने यसलाई व्यवसाय बनाउन सकिन्छ । नियामक निकायले महिलालाई पनि तालिमलगायत कुरामा पहुँच बढाउने हो भने महिला पनि पुँजी बजारमा सक्रिय रुपमा लाग्न सक्छन् ।

मार्केट घटबढ हुनुमा कस्ता कारण देख्नु हुन्छ ?

वास्तवमा मार्केट भनेको लगानीकर्ताको मनोविज्ञानले चलिरहेको हुन्छ । एकातिर वाम गठबन्धन भएमा बजार घट्छ भनि सोचिन्छ भने अर्को तिर लोकतान्त्रिक पार्टी सरकारमा भएमा बजार बढ्छ भन्ने सोच छ, तर त्यसो होइन । सबैजना बजार घटाएर नाफा कमाउने सोचमा बस्ने भएकाले यो बजारमा फैलाइएको हल्लामात्र हो । अहिले चुनाव पनि हुँदै छ, देशमा कुनै किसिमको बन्द हड्ताल पनि छैन । अहिले मार्जिङ लेन्डिङको कुरालाई पनि सहज बनाइ दिएमा अवस्था अझै सुधार हुँदै जाने थियो ।

महिला लगानीकर्ता जो पुँजी बजारमा आउन चाहन्छन् उहाँहरुलाई के सल्लाह दिनु हुन्छ ?

 

पुँजी बजारको बारेमा जानेर बुझेर अध्ययन गरेर आउँदा राम्रो हुन्छ । अरुको पछाडि लाग्नुभन्दा पनि सबैको सरसल्लाह लिने, आफूभन्दा सिनियरहरुको कुरा पनि सुन्ने तर निर्णय चाहिँ आफैं गर्दा राम्रो हुन्छ । –  Spurce: Arthik News

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!