कतारमा फुलेको नेपाली-फिलिपिनोको प्रेम, पतिको मृत्युपछि जनकपुरमा फर्किंदै

जनकपुरधाम– फिलिपिन्सकी २९ वर्षीय रुजान जोय पैड्रोग मेबुलस ७–८ वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगिन् । त्यहाँ उनले ‘रेड ट्याग’ कम्पनीमा बिक्रेताको काम पाइन् । केही वर्ष काम गर्दै जाँदा त्यही कम्पनीमा काम गर्ने १ नेपालीसँग उनको प्रेम भयो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० का मोहम्मद मजहर पनि कतारको सोही कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै प्रकृतिको काम गर्दा उनीहरूबीच प्रेम भयो ।

दुवै अलग–अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो ।

रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् । ‘त्यसपछि बिहे गर्ने प्रस्ताव पनि मजहरबाटै आयो । मैले त्यसलाई सहर्ष स्वीकार गरें,’ रुजानले भनिन्, ‘मैले पनि आफ्नो घरमा बिहेबारे कुरा गरें र मजहरले पनि नेपालमा आफ्ना आमाबुवासँग बिहेबारे कुरा गर्यो ।’

रोजगारी पूरा गरेपछि दुवै जना नेपाल आए । जनकपुरमा मुस्लिम धर्म रीतिरिवाज अनुसार दुवै जनाको ‘निकाह’ भयो । दुवै जनाले २०७० फागुन २६ गते ‘कोर्ट म्यारिज’ गरे ।

जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै जना पुगेर विवाह दर्ता ऐन २०२८ बमोजिम एकअर्कालाई पतिपत्नीको रूपमा ग्रहण गरी मजहर र रुजानबीच विवाह दर्ताको प्रमाणपत्र वितरण गरिएको थियो । मजहर फेरि वैदेशिक रोजगारीमा गए ।

यसबीच दुवैले छोरी याजी एन्जेला पाए । छोरी एन्जेला अहिले ५ वर्षकी छन् । छोरी भएपछि रुजान जनकपुरमै सासुससुरासँग बस्न थालिन् । कहिलेकाहीँ माइतीघर फिलिपिन्स पनि जाने–आउने गर्थिन् ।

पछिल्लो पटक मजहर घर फर्किएर आउँदा ५ महिना जति बसे । त्यही क्रममा रुजान पुनः गर्भवती भइन् । मजहर पुनः कतार काममा फर्किए । गत अक्टोबर ५ तारिखमा राति समुद्रमा नुहाउन गएको बेला डुबेर उनको निधन भयो ।

मजहरका बुवा अब्दुल सहमत मोमिनले भने, ‘त्यहाँको समाचार पत्रमा समुद्रमा नुहाउन जाँदा डुबेर मृत्यु भएको उल्लेख थियो ।’ रुजान नेपालमै जनकपुरमा सासुससुरासँग बस्दै आएका छन् । उनको पेटमा अहिले ५ महिनाको गर्भ छ ।

पतिको निधन भएपछि अब उनी आफ्नो देश फिलिपिन्स पÞmर्केलिन् कि भन्ने जनकपुरको घर परिवारमा चिन्ता थियो । तर रुजानले अब जनकपुरमै आजीवन बस्ने निधो गरेकी छन् । मजहरको निधन भएपछि उनले आफ्नो देशको नागरिकता समेत परित्याग गर्दै नेपाली नागरिक बन्न जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिइन् ।

‘मेरो घर परिवार र सारा संसार भनेको यहीँ जनकपुरमा नै छ । अब फिलिपिन्स फर्किने कुरा सोच्नै सकिन्न,’ रुजानले लोकान्तरसँग भनिन्, ‘घरमा सासु, ससुरा, देवर, जेठाजु सहितको सम्पूर्ण परिवार छ । अब यहीँ नेपालमै बसेर आफ्नो छोरीलाई पालनपोषण गर्नेछु ।’

उनले घरमै गृहिणी भएर बस्ने बताइन् । छोराको निधनपछि सासु ससुराले पनि आफ्नो पुरापुरी ध्यान राख्ने गरेको उनले बताइन् । बुहारीलाई नेपाली नागरिकता दिलाउन पहल गरेका ससुरा अब्दुल सहमत मोमिनले भने, ‘म आफैं पनि टेलर मास्टर हुँ । मैले पनि कमाएर बुहारी र नातिनीलाई आर्थिक समस्यामा पर्न दिन्न ।’

उनका अरु २ जना छोरा पनि छन् । जेठो छोरा ३० वर्षीय मोहम्मद अजहरुद्दीनको बिहे भइसकेको छ भने कान्छो छोरा मोहम्मद अथरको बिहे भएको छैन । निधन भएका मजहर माइलो छोरा थिए । बुहारीलाई सजिलो होस् भनेर नेपाली नागरिकता बनाइदिएको उनले बताए । ५ वर्षकी नातिनी एन्जेला जनकपुरकै एक निजी विद्यालयमा पढिरहेकी छिन्् । रुजानलाई मैथिली भाषा बोल्न त आउँदैन । तर अरुले बोल्दा मैथिली बुझ्न थालेकी छन् । विगत ५ वर्षदेखि जनकपुरमै बस्दै आएकाले मैथिली भाषा बुझ्न समस्या नभएको उनले बताइन् ।

रुजान नेपालमै बस्ने भएपछि रुजानका आमाबुवाले असहमति जनाएनन् । ज्वाइँको निधनपछि रुजानकी आमा पनि जनकपुर आएकी थिइन् । आमाको सहमतिमै रुजानले नेपालमा बस्ने निर्णय गरेकी हुन् । रुजानकी आमा कतार एयरलाइन्समा काम गर्छिन् ।-अजय अनुरागी/लोकान्तर

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!