मनाङको तापक्रम माइनस ६ डिग्रीमा झर्‍यो

लमजुङ — बिहान सबेरै कोही बाहिर निस्कँदैनन् । जब घामको लाली हिमालबाट बस्तीमा छिर्छ, घरका धुरीबाट धुँवा निस्कन थाल्छ । मानिसको चहलपहल सुरु हुन्छ । हिमाली जिल्ला मनाङको दैनिकीमा अहिले चिसोले निकै प्रभाव पारेको महसुस स्थानीयले गरेका छन् । करिब २ सातायता बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमाली जिल्ला मनाङको मनाङ गाउँमा गएको शुक्रबार दिउँसो परेको हिउँ । यो वर्ष मनाङमा गएको शुक्रबार पहिलोपटक बस्तीसम्म आइपुग्ने गरी हिउँ परेको थियो । तस्बिर : कान्तिपुर

गत शुक्रबार हिउँ परेपछि चिसो ह्वात्तै बढेको हो । बस्तीसम्म आइपुग्ने गरी यो वर्ष पहिलोपटक शुक्रबार हिउँ पर्‍यो । अन्य जिल्लाबाट मनाङ पुगेका कर्मचारी बढी समस्यामा परेका छन् । उनीहरुका अनुसार चिसो अत्यधिक बढेको छ । ‘बिहान भए पनि बाहिर निस्कनै नसक्ने । धारा खोल्यो पानी झर्दैन । घाम लागिसके पनि पानी पूरै जमिरहने कस्तो ठाउँ हो यो ?,’ शुक्रबारमात्रै गृह मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘म त नयाँ अनुभव पो गर्दैछु त ।’ रातभरिको चिसोले पाइपमै पानी जमेर बिहान धारा खोल्दा नआउने उनले बताए ।

मनाङको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झरेको छ । कतैकतै माइनस १३ डिग्री पनि सम्म देखिएको छ । मौसम मापन यन्त्र र मौसम पूर्वानुमान सम्बन्धी विभिन्न वेवसाइटमार्फत मनाङमा तापक्रम मापन गरिँदै आएको छ । मनाङको चामेमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत कार्यालयले राखेको थर्मोमिटरले बिहानीपख ३ देखि बिहान ६ बजेसम्म माइनस ६ डिग्री सेल्सियस देखाउँछ ।

मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चामेका डीएसपी नीलकमल आचार्यका अनुसार आइतबार बिहान ३ देखि ६ बजेसम्मको तापक्रम माइनस ६ डिग्री सेल्सियस थियो । ‘१२/१ बजेसम्म रातिको चिसोले जमेको बरफ पग्लिन नपाउँदै दिउँसो २ बजेदेखि घाम डुब्छ । घामले गर्दा दिउँसोको तापक्रम ६/७ डिग्रीसम्म पुग्छ । ‘बिहान चिसोले पेटी खेलाउन तथा दौडाउनसमेत प्रहरीलाई गाह्रो छ,’ उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मनाङ प्रमुख बाबुलाल तिरुवाका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समय तापक्रम माइनस १३/१४ डिग्री सेन्टीग्रेटसम्म झरेको छ । घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने उनले बताए । उनका अनुसार आइतबार बिहान साँढे १० बजेसम्म तापक्रम माइनस ४ डिग्री सेन्टिग्रेट थियो । ‘पछिल्लो २ सातायता तापक्रमको मापन माइनसमा हुँदै आएको हो । तापक्रम अझै घटदो छ,’ उनले भने । एक्यापले पर्यटकलाई मौसमी विवरण जानकारी गराउँदै आएको छ । चिसोका कारण पर्यटक सवेरै निस्कन सक्दैनन् । पर्यटकलाई सजिलो बनाउन पछिल्ला र अघिल्ला केही दिनको मौसमी विवरण पर्यटक जाँच केन्द्रमा देख्ने ठाउँमा राखेको उनले बताए ।

मनाङ गाउँ ३ हजार ५ सय ५० मिटर उचाइमा छ । बढी उचाइमा मनाङको भन्दा चिसो अझ बढेको हुनसक्ने उनी बताउँछन् । पर्यटकले मनाङबाट ५ हजार ४ सय १६ मिटर उचाइको थोराङला भञ्ज्याङ पास गर्दै मुस्ताङ र म्याग्दी भएर चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गर्दै आएका छन् । मनाङबाट विश्वकै अग्लो ठाउँस्थित तिलिचो ताल हेर्न आउँछन् । चिसो बढ्न थालेपछि पर्यटकको आगमन घट्न थालेको छ । ‘दुई/तीन साता अघिसम्म कहिलेकाहीँ दैनिक २ सय पर्यटक भित्रिएका थिए,’ उनले भने, ‘चिसो बढेसँगै सरदर दैनिक आगमन ४०/५० जनाको हाराहारीमा छ ।’

स्थानीयका अनुसार चिसोका कारण सेपिलो ठाउँमा रहेका जीआई पाइपमा खानेपानी जम्न थालेको छ । दिउँसो घाम लाग्ने ठाउँमा समस्या छैन । पानी निकै चिसो छ । चिसोका कारण दिउँसोको समय कर्मचारी र स्थानीय आगो बालेर बस्ने गरेका छन् । बाहिरै आगो तापेर बैठक बस्नुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् । कतिपय कर्मचारीले दैनिक कार्यसम्पादन कार्यालय परिसरमै घाम तापेर गर्ने गरेको बताए । तर, स्थानीय भने यसलाई मौसम परिवर्तनको रुपमा लिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिउँदमा चिसो बढ्नु मनाङका लागि नौलो होइन । ‘चिसोमा घरभित्रै बस्नु उत्तम हुन्छ । अहिलेको भन्दा बढी चिसो हुँदै गए त सबै काम ठप्प हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!