बैंकको करोडौं रकम लिएर सुनचाँदी व्यवसायी फरार

विराटनगर , २४ मंसिर । विराटनगरको जलजला रोड स्थित ऊँ लक्ष्मी ज्वेलर्सका सञ्चालक सन्तोषकुमार बेगबानी ग्राहक र बैंकको करोडौं रकम लिएर फरार भएका छन् ।गत शनिवार देखि जलजला रोडमा रहेको पसल बन्द गरेर फरार भएको थाहा पाएपछि ग्राहकहरु बिहानै देखि उनको पसल अगाडि जम्मा हुन थालेका छन् । बेगबानी बाबु छोराले ग्राहकले बनाउन दिएको गहना, धितो सुनचाँदी र नगद गरी करिब २० करोड र विभिन्न बैंकको २७ करोड गरी जम्मा करिब ४७ करोड रुपैया लिएर फरार भएको ग्राहकहरुले बताएका छन् ।सोमवार करिब १ सय जना ग्राहकहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् ।

बेगबानीका बाबु छोराले विराटनगरको प्राइम बैंक, ग्लोबल आईएमई बैंक र लक्ष्मी बैंकबाट सुनचाँदी र घरजग्गा धितो राखेर करिब २७ करोड रुपैया ऋण लिएको बताइएको छ । उनीहरुले ऋण तिर्न नसकेपछि हालै मात्र ग्लोबल आईएमई बैंकले लिलामी समेत निकालेको थियो ।ग्राहक र बैंकको करोडौं रकम लिएर फरार भएका बेगबानीको बाबु छोरालाई खोजी गर्ने कार्य थालिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।यसअघि पनि विराटनगरका कृष्णा ट्रेडर्स र सुपेन्द्र बर्माले बैंक र स्थानीयको लाखौं रुपैया लिएर फरार भएका थिए । लगातार व्यापारीहरु ग्राहकको करोडौं रकम लिएर फरार हुन थालेपछि व्यापारीहरु माथिको विश्वास घट्दै गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!