पुस १ गतेदेखि दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध

ओखलढुङ्गा : ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला सदरमुकामसहितका मुख्य तथा सहायक व्यापारिक केन्द्रबाट छुट्ने र भित्रने लामो, छोटा दूरीका सवारीको चाप हुने समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताए। उनका अनुसार जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार, विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो।

“हाम्रो अनुरोधलाई अवज्ञा गरे कारवाही हुन्छ”, प्रजिअ न्यौपानेले भने। निर्णय कार्यान्वयन गर्न व्यवसायी, चालक र सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने भन्दै न्यौपानेले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन्।

प्रदेश सरकारको विशेष नीतिअनुसार प्रदेशका १४ वटै जिल्लामा आजदेखि दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!