आज टीकापुर घटनाको सुनुवाइ हुँदै, सांसद रेशम चौधरीको रिहा गर्न माग

काठमाडौँ, २ पुस । टीकापुर घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ ।

गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक नाबालकसहित सात प्रहरीको हत्या भएको यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ ।

मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् ।

त्यसैगरी आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने दुई नाबालकहरु पोखरास्थित बाल धार गृहमा छन् ।

ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छैनन् ।

राजपाले भने कैलाली घटनालाई राजनीतिकरुपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!