कोटेश्वर–भक्तपुर सडक जाम : ट्राफिक–ड्राईभर घम्साघम्सीमा यात्रुको बिजोग

कोचाकोच माइक्रो बसभित्र उँधो मुन्टो भएका एक प्रौड यात्रु अनुनय गरिरहेछन्, ‘सुन्नुस् न भन्या ।’
चालकसँग वादविवाद गरिरहेका पातलो ज्यानका ट्राफिक प्रहरी झटारिएर पछाडिको झ्यालतर्फ आए । माक्स र क्यापको माझमा चेपिएको आँखाले भित्र चिहाए अनि चिच्याए, ‘को ? किन ?’

उही प्रौड यात्रुले विलौना मिश्रित आग्रह गरे, ‘सरहरुले यो ‘पिक आवर’मा के गर्नुभा’को ? आजलाई माफ गरिदिनुहोस् न … !’
उनको आग्रह टुंगिन भएकै थिएन, ट्राफिक कड्किए, ‘तपाईं को ? किन बोलेको ?’

भक्तपुर–रत्नपार्क चल्ने १० नम्बर रुटको माइक्रो बसमा चढेका सबै यात्रु हतारोमै थिए । बिहान ९ बजेको समय । कसैलाई कार्यालय त कोहीलाई विद्यालय, कसैलाई अड्डा–अदालत त कोहीलाई अस्पताल पुग्नुपर्ने हतारो । सबै आ–आफ्नै कामधन्दाले गाडीभित्र कोचिएका थिए ।

लोकन्थलीबाट घना जाममा परेको माइक्रोको गति सुस्त भइरहँदा यात्रुमा छटपटी बढिरहेको थियो ।

शिव मुखिया
ट्राफिकले कर्कस श्वरमा ‘तपाई को ?’ भनेपछि एक क्षण त यात्रु के भन्ने÷के नभन्ने, अल्मलिए अनि फेरी अनुनय गरे, ‘हेर्नुस् त यहाँ हामी कोचिएर बसेका छौं, सबैलाई हतार छ । सरहरुले यसरी गाडी रोकेपछि झन गाह्रो पर्छ ।’

तात्तिएका ट्राफिक प्रहरी चालक भएतिर गए । नेवार लवजमा चालक पनि चर्किए, ‘अगाडि त्यो बाइक देख्नुभएन ? त्यसले गर्दा थोरै लेन मिचियो । किन बिनावित्थामा दुःख दिनुहुन्छ यार !’

ट्राफिक गल्नेवाला देखिएनन् । उनले कागजात मागेर चिट काटे । ‘सह–चालक’ अंकित ज्याकेट लगाएका किशोरले अघिल्तिर गएर मुस्कुराउँदै केही भने । तर, ट्राफिक कठोर नै बने ।

‘पहिले लेनदेन मिलेको थिएन होला, अहिले दुःख दियो’ माइक्रोको पछिल्लो भागमा चेप्टिएका यात्रुले बिस्तारै मुख चलाए ।
‘त्यै होला नि’ अधवैंशे महिला यात्रुले समर्थन जनाइन्, ‘यत्तिका मान्छेलाई दुःख हुन्छ भन्ने पनि नसोचेको ….।’

ट्राफिक प्रहरीले खासखुसको भेउ पाएछन् । फेरी आँखा फुकालेर झ्यालबाट भित्र चिहाउन थाले । यात्रुहरुको बोल्ती बन्द !

त्यतिबेलासम्म जडिबुटी–कोटेश्वर सडक गाडीले भरिभराउ भएको थियो । कामाख्या पेट्रोल पम्प अगाडिबाट यात्रु टिप्ने तँछाड–मछाडले पछिल्तिरका गाडीको लामलाई स्थिर बनाएको थियो । त्यसतर्फ भने ट्राफिक प्रहरी पिँठ्यु फर्काइरहेका थिए ।
खासमा उनी ‘पिक आवर’मा जाम घटाउनभन्दा चालकहरुको गल्ती पक्रन दत्तचित्त थिए ।

सर्बसाधारणको पीडा

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने भनेका ‘सर्वसाधारण’हरु नै हुन् । र, सडकमा सजाय भोग्ने एउटा प्रमुख पक्ष उनीहरु नै । गल्ती गर्छन् चालक, सजाय दिन्छन् ट्राफिक, भोग्नुपर्छ यात्रुले ।

सह–चालक छुचो स्वरमा आदेश जारी गर्छन्, ‘भित्र जानु, एकातिर फर्किएर उभिनु ।’ तीन मिटरको माइक्रोमा यसरी यात्रु कोच्ने चेष्टा गरिन्छ कि त्यो रेलको वोगी हो ।

गाडीभित्र कोचिएका यात्रुहरु तन्कने, खुम्चने, बाङ्गिने, घोप्टिने, एउटाले अर्कोलाई बोक्नुपर्ने अवस्थामा पुग्छन् । कसैको काखी, कसैले कपालमा लगाएको नवरत्न तेल, कसैको परफ्युमको मिश्रित गन्धले घ्राणयन्त्रलाई थला पार्न खोज्छ । कसैलाई लघुशंकाले च्यापेर ‘हलचल गर्‍यो कि फुत्कियो’ भन्ने पारेको हुन्छ ।

त्यो अवस्थामा ट्राफिक प्रहरी सिटी ‘तिर्रर, तिर्रर’ पार्दैै गाडी रोकेर ड्राइभरसंग ‘कागजपत्र’ माग्छन् ।

मनमनै भरमार गाली गर्दै चालक चिप्लो घस्छन्, फकाउँछन्, रिसाउँछन् पनि । केही क्षण गलफत्ति चल्छ । त्यसपछि गाडी साइड लगाउने आदेश जारी हुन्छ । गाडी साइड लगाएपछि चालक ओर्लेर ‘कुरो मिलाउन’ जान्छन् । ढोकामा सह–चालक ट्राफिकलाई सत्तोसराप गर्दै यात्रुलाई थामथुम पार्न खोज्छन् ।

अब यात्रुका लागि दुई विकल्प आइलाग्छ– कि भुन्भुनाउँदै बस कि त ‘फुल भाडा’ चुक्ता गरेर आधा बाटोमा ओर्ल अनि ट्याक्सि खोज ।

अक्सर यात्रु पहिलो विकल्प रोज्छन्– यस्तो टाइममा, बिच बाटोमा गाडी रोकेर यत्तिका मान्छेलाई किन अलपत्र पारेको ? ड्राईभरहरुको गल्तिमा कारवाही गर्ने अरु तरिका पनि होला नि ? कस्तो मनपरी गरेको ?’

आखिरमा सारा गुनासो, आक्रोस सरकारमा गएर ठोक्किन्छ । अन्ततः यात्रुहरु मन बुझाउने बाटो पहिल्याउँछन्– ‘सरकार नै मनपरि गरेर बसेको छ, यहाँ जसले जे गरेपनि हुन्छ ।’

सडक जाम, यात्रुको जोखाना

थाहा छैन, कोटेश्वर–भक्तपुर जामले यात्रुको रक्तचाप कति बढाउँछ । विहान कोटेश्वरको जाम तन्कदै कौशालटारसम्म पुग्छ । यात्रुहरु दिसा–पिसाब च्यापेर, भोक सहेर, हात–गोडा थकाएर गाडीमा कोचिएका बसिरहन बाध्य हुन्छन् ।

कोटेश्वर–सुर्यविनायक सडक नेपालको सबभन्दा गतिलो सडकमा गनिन्छ । ६ लेनको भएर पनि यो सडक जामको पर्याय बनेको छ । ट्राफिक व्यवस्थापन सबैको आँखै अगाडी छ– गाडी जथाभावी रोकिएका छन्, मोटरसाइकलहरु कुनाकाप्चाबाट छिरिरहेका छन्, बीच सडकमा गाडी रोकेर ट्राफिक–ड्राइभर भनाभन गरिरहेका छन् ।

बिहान ८–११ बजे र बेलुका ४–६ बजेको समयमा कोटेश्वर–गठ्ठाघर चानचुन तीन किलोमिटर छिचोल्न दुई/तीन घण्टा लाग्छ । आजित हुँदै हरेक यात्रु सोच्छन्– यस्तो जाम किन हुन्छ ? सहज व्यवस्थापनको लागि अहिले ट्राफिक प्रहरीले अपनाएको भन्दा गतिला उपायाहरु छैनन् ?

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!