करेन्ट लागेर कर्मचारीको मृत्यु, दुई दिनदेखि ट्रान्सफर्मरमै शव

भवानी भट्ट/२०७५, बेदकाेट। नेपाल विद्युत् प्राधिकरण बेदकोट नगरपालिका ७, लालपुरस्थित ग्रिड सञ्चालन विभागका कर्मचारीको शव दुई दिनदेखि ट्रान्सफर्मरमै अलपत्र छ ।ग्रिड सञ्चालन विभागका चौकीदार चन्द्रदेव भट्टको आइतबार बिहान शंकास्पद मृत्यु भएको भन्दै आफन्तजनले शव बुझ्नमानेका छैनन् ।

भट्टको हत्या भएको हुन सक्ने भन्दै दोषी पत्ता लगाउनुपर्नेलगायत विभिन्न माग राखेपछि शव २ दिनदेखि ट्रान्सफर्मरमै रहेको हो । प्रारम्भिक अनुसन्धानमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएपनि आफन्तले हत्या भएकोबताएका छन् ।

आफन्त र स्थानीयले हत्यारा पत्ता लगाउनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र एकजनालाई रोजगारी दिनुपर्ने माग गर्दै लालपुर क्षेत्रमा आइतबारदेखि नै विरोध प्रदर्शन गरिरहेका छन् । ट्रान्सफर्मरबाट शव नउठदा दुई दिनदेखि महेन्द्रनगर तथा लालपुर ग्रिड सञ्चालन विभागबाट वितरण हुने विद्युत् सेवा ठप्प भएको छ ।
भट्टको शनिबार साँझ ५ देखि २ बजेसम्म डयुटी थियो । उनी साँझपख खाना बोकेर आएका थिए । बिहान अबेरसम्म घर नफर्केपछि बुहारी मञ्जुले विभागको कार्यालयमा फोन गरेकी थिइन् । ‘फोन गर्दा सिकिस्त बिरामी छन्, सबैजना तुरुन्त आउनुस् भनियो,’ मञ्जुले भनिन्, ‘यहाँ आउँदा त ट्रान्सफर्मरमा जलेको अवस्थामा भेट्यौं ।’ उनका अनुसार चन्द्रदेव केही दिनदेखि तनावमा थिए ।

‘कार्यालयमा तेल र तार चोरीको छानबिन चलिरहेको छ,’ केही दिनअघि बुवाले भनेको सम्झिँदै चन्द्रदेवकी छोरी ताराले भनिन्, ‘त्यो मैले नै चोरेको हो भनेर भन्नु भन्दै धम्की आइरहेको छ ।’ उनले घटनाको वास्तविकता बाहिर नआएसम्म शव नबुझ्ने बताइन् । प्रहरी प्रशासनसँगको छलफलमा आफ्ना माग राखे पनि पूरा हुन नसकेको उनले बताइन् ।
पीडित पक्ष र स्थानीय प्रशासनबीच साँझ अबेरसम्म छलफल चलिरहे पनि सहमति हुन सकेको छैन । पीडित पक्षले विभाग प्रमुख पदम चन्दसहित १४ जनाका नाममा किटानी जाहेरी दिएका छन् ।
५ जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!