सुनकाण्ड : भारतमा सुन भेटिएपछि रिहा भएका प्रहरीहरु अख्तियारको फन्दामा

काठमाडौं । करिब एक वर्षपछि चुडामणि उप्रेती ‘गोरे’ समूहको ३३ किलो सुन नाटकीय ढंगमा भारतमा भेटिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरिएको छ । लामो समय लुकाएपछि सो सुन बेच्नका लागि कलकत्ता लगिएको प्रहरीको आशंका छ । इटहरीका दुई व्यवसायीलाई भारतको राजस्वसम्बन्धी कार्यालयले पक्राउ गरेपछि ३३ किलो सुनले तरंग ल्याएको हो ।

उता सुन भेटिदा सो प्रकरणमा जोडिएका ठूला व्यक्तिहरु भने धमाधम उच्च अदालतको आदेशमा छुटिरेहका छन् । गत साता मात्र विमल पोद्दार र आरके ज्वेलर्सका राजेन्द्र श्रेष्ठ लगायत धरौटीमा छुटेका छन् ।

सो प्रकरणमा मुछिएका अधिकांश प्रहरीसमेत छुटिसकेका छन् । सुन लुकाएको आशंकामा हत्या गरिएका सनम शाक्यको शवलाई त्रिशुलीमा लगेर फालिदिनु भनेर सुझाव दिने र तस्करीमा सहजीकरण गरिदिने प्रमाण भएका प्रहरी समेत साधारण तारेखमा छुटेर प्रहरी सेवामा जोडिएपछि छानबिन समितिका अधिकारीसमेत अचम्मित भएका छन् ।

तर, साधारण तारेखमा छुटेर जागिरमा जोडिएका केही प्रहरीको जागिर अझै धरापमै छ । किनकि उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्ला अदालत मोरङमा गत जेठमा मुद्दा दायर गर्ने क्रममा केही प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा समेत छानबिन गर्न राय दिएको थियो । जसमा पूर्व डिआईजी, गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी संजय राउत र सई बालकृष्ण सञ्जेल छन् । उनीहरुले सुन तस्करसँग आर्थिक लाभ लिएको देखिएकाले उनीहरुको सम्पत्ति समेत छानबिन गर्नुपर्ने सरकारी वकिलको राय थियो । सोही अनुसार जेलबाट छुटेपछि तीन जनालाई अख्तियारमा बुझाइएको थियो ।

अख्तियारले तारेखमा राखेर उनीहरुमाथि छानबिन गरिरहेको छ । तस्करीमा संलग्न अन्य व्यक्तिहरु उपर भने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ ।
उता उच्च अदालतको आदेशमा छुटेका निरौला र खनालविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सर्वाेच्च अदालतमा थुनामै राख्न माग गर्दै पुनरावेदन गरेको छ । अनुसन्धानमा लापबाही गरेको आरोपमा जेल परेका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको हकमा भने सरकारी वकिल कार्यालय सर्वाेच्च गएको छैन । उनीहरुविरुद्ध बलियो प्रमाण नभएकाले सरकारी वकिल कार्यालय सर्वाेच्च नगएको हो ।

सुन प्रकरणमा पक्राउ परेका एसएसपी श्याम खत्री र डिएसपी संजय राउत भने अझै जेलमै छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!