मधेसमा चिसोले शरीर कठ्यांग्रिन थाले, चिसो छेल्न पराल बालेर ताप्दै

प्रदेश २ ब्युरो, जनकपुरधाम : पुस सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ।

गरिबको सिरकडसना भनेकै पराल। कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उही पराल। प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ। शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक काम गरी खाने मजदुर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरिब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन्।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका इन्दल माझी भन्छन्, ‘चिसो बढेपछि खानलाउन र बालबालिकालाई जोगाएर राख्ने चिन्ता बढेको छ।’ ५५ घर मुसहर रहेको पटेर्वामा सय जनाभन्दा बढी बालबालिका छन्। चिसो छल्न न्यानो कपडासमेत नहुँदा आफूहरूलाई निकै गाह्रो भएको उनले बताए। यही बस्तीकी ६० वर्षीया पोषणीदेवी माझीले चिसो बढेपछि आफू जस्ता वृद्धवृद्धाको जीवन कष्टकर बनेको गुनासो गरिन्। ‘घरमा आगो बाल्ने काठदाउरा छैन’, उनले भनिन्, ‘साहुमहाजनकहाँ पराल भुस ल्याउन गयो, दिँदैनन्।’

प्रदेश २ को राजधानी जनकपुरको पनि अवस्था चिन्ताजनक छ। ‘रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्यांग्रिदो चिसोले ज्यानै जाने डर,’ जनकपुरधाम–१ का ठेला चलाउने विनोद सदाले भने। ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको उनले बताए। ‘कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु’, उनले भने, ‘हाम्रो पीडा सरकारसमक्ष पु¥याइदिनुस्।’

सदा जस्तै पीडा अन्य विपन्न समुदायका मजदुरका छन्। दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित छन्। जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ। दमका रोगीको संख्या पनि बढेको चिकित्सकको भनाइ छ।

चिसोकै कारण जनकपुर उपमहानगरपालिका–१ मा ४५ वर्षीय नेरु मेस्तरको ज्यान गयो। सुकुमवासी मेस्तरले स्टेसन चौकमा घर बनाएका थिए। तर रेलवे स्टेसन बनाउने क्रममा घर भत्काएपछि सडक छेउमै रात बिताउँथे। बाक्लो लुगा नभएकै कारण कठ्यांग्रिएर उनको मृत्यु भएको स्थानीय नरेश मेस्तरले बताए। बर्सेनि शीतलहरबाट विपन्न वृद्धवृद्धा तथा बालबालिकाको ज्यान गुमाउने गरेकाले प्रदेशसभाका सांसदले पूर्वतयारीमा जुट्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। ‘चिसो ह्वात्तै बढ्यो’, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेश यादवले भने, ‘तर सरकार कानमा तेल हालेर बसेको हेर्दा दुःख लागेको छ।’ सरकारले अति विपन्न परिवारलाई कम्बल र बाक्लो लुगा बाँड्नुपर्ने उनको सुझाव छ।

शीतलहर सुरु भए पनि स्थानीय तहले जाडोबाट बच्ने उपाय तथा पूर्वतयारीबारे कार्यक्रम नल्याएको रौतहटवासीको गुनासो छ। जनता आवास कार्यक्रमले जिल्लामा करिब एक हजार दलितको झुपडी भत्काएर दुईकोठे पक्कीघर निर्माण गर्न लागे पनि त्यस्ता घरको छाना, झ्यालढोका नहुँदा अवस्था दयनीय छ। यहाँका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ। जनता आवासले दुई वर्षअघि घर बनाउन थाले पनि छाना नहाल्दा चिसोमा पाल टाँगेर बस्न बाध्य हुनुपरेको चन्द्रपुर–९ चेतनगरस्थित मुसहर बस्तीका इन्द्रदेव मुसहरले बताए।

चिसो बढेपछि मजदुर बाहिर निस्कन सकेका छैनन्, जसकारण उनीहरूको दैनिकी कष्टकर बनेको छ।

जाडो शुरु भए पनि यस्ता बस्तीमा स्थानीय तहले पूर्वतयारी गरेका छैनन्। स्थानीय तहले अहिलेसम्म जाडो तथा शीतलहर प्रभावितका लागि विपन्न बस्तीमा कार्यक्रम नगरेको राष्ट्रिय मुसहर उत्थान संघका उपाध्यक्ष नथुनी माझीको गुनासो छ। मुसहर बस्तीमा खानोपानी र सरसफाइको समेत अभाव छ। प्रदेश २ को सरकारले चिसोबाट बच्न कुनै योजना सार्वजनिक गरेको छैन। सँगै स्थानीय सरकारको तयारी पनि सुस्त छ। धनुषामा हालसम्म जनकपुरधाम उपमहानगरपालिका वा अन्य कुनै पनि स्थानीय तहले चिसोबाट जोगिने तयारीका योजना सार्वजनिक गरेका छैनन्।

महोत्तरीमा बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सुरक्षा निकायलाई सम्भावित कुनै पनि प्रकारको प्रकोपका लागि ‘अलर्ट’ बस्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत श्यामकुमार श्रेष्ठले बताए। सागरनाथ वन विकास परियोजना र स्थानीय तहलाई सस्तोमा दाउरा उपलब्ध गराउन, सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन र निःशुल्क चिया वितरणको व्यवस्था गर्नसमेत निर्णय गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको आह्वानमा बाराका सबै स्थानीय सरकारका प्रतिनिधिले बुधबार सदरमुकाम कलैयामा भेला गरी यस विषयमा छलफल गरेका हुन्। अघिल्लो वर्षको समीक्षा गर्दै भेलामा स्थानीय सरकारका प्रतिनिधिले लक्षित वर्ग केन्द्रित न्यानो वितरण अघि बढाउने विषयमा छलफल गरेको बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक गणेश भट्टराईले जानकारी दिए।

चिसोबाट मानवीय क्षति हुन नदिन र न्यानो वितरण गर्न उपमहानगरपालिकाले योजना बनाइरहेको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले बताए। अघिल्लो वर्ष उपमहानगरपालिकाका दलित बस्ती र बजार क्षेत्रमा दाउरा वितरण गरिएको र यस वर्ष कार्यपालिकाको बैठक बसेर न्यानो वितरणको कामलाई अघि बढाउने उनको भनाइ छ।

चिसोबाट प्रभावित समुदायमा काठदाउरा वितरण गर्न सर्लाहीमा विपद् व्यवस्थापनको बैठकबाट निर्णय भइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए। रौतहटको गौर नगरपालिकाका मेयर तथा मेयर क्लब रौतहटका संयोजक अजय गुप्ताले विपन्न तथा शीतलहर पीडितका लागि दाउरा तथा न्यानो कपडा वितरण गर्ने योजना बनाएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!