भारतमा भेटियो ३३ किलो सुन तर भारतले दिन मानेन !

काठमाडौं, ५ पुस । त्रिभुवन विमानस्थलबाट भित्रिएर गायव भएको ३३ किलो सुन लामो समयपछि भारतमा भेटिए पनि उक्त सुन भारतले नेपाललाई दिन आनाकानी गरेको छ ।

भारतीय डिआरआई (राजश्व अनुसन्धान विभाग) ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कलकत्ताको दानकुनी टोल प्लाजामा नेपालको विभानस्थलबाट बाहिरिएको भनिएको ३३ किलो सुन बरामद गरेको थियो ।

उक्त सुन चुँडामणि उप्रेती ‘गोरे’ समूहले गायव बनाएको सुन नै भएको प्रमाणित भइसके पनि भारतले सुन फिर्ता गर्न आनाकानी गरिरहेको जनाइएको छ । मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको उक्त सुन विदेशबाट आएको र सुन लिएर हिंडेका दुई जना नेपाली नागरिक भएको पुष्टि गर्दै डिसेम्बर १३ मा भारतीय पक्षले कलकत्तास्थित महावाणिज्य दूतलाई पत्र पठाएको छ ।
कलकत्तास्थित नेपालका लागि महावाणिज्य दूत एकनारायण अर्याललाई डिसेम्बर १३ मा भारतीय राजश्व अनुसन्धान निर्देशनालयका डेपुटी डिरेक्टर दिपंकर आरेनले लेखेको पत्रमा मारुती स्विफ्टको गियर बक्सको भित्रपट्टि बनाएको विशेष बक्समा फेला परेको सुन ओसार पसारमा संलग्न राकेश प्रसाद र हेम प्रसाद शर्मा नेपाली नागरिक भएको बयानमा खुलेको उल्लेख छ ।
कलकत्ताका महावाणिज्यदूत एकनारायण अर्यालमार्फत भारीतय पक्षसँग पटक–पटक कुराकानी हुँदा बरामद भएको ३३ किलो सुनमा ‘युएई गोल्ड’ को ट्रेडमार्क रहेको पुष्टि भएको तत्कालीन छानविन समितिका एक सदस्यले बताएका छन् । २०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको अनुसन्धानबाट खुलेको थियो ।
३३ किलो सुनको दसी देखाउन नसकेपछि अदालतले अभियुक्तहरुलाई धमाधम साधारण तारेखमा छाडेको परिवेशमा अचानक सुन फेला परेपछि उक्त सुन नेपाल ल्याउने प्रयास गरिए पनि भारतीय राजश्व अनुसन्धान निर्देशनालयले उक्त सुन नदिने भएको छ ।
‘आफ्नो देशको राजश्वमा जम्मा हुने हुनाले भारतीय राजश्व अनुसन्धान निर्देशनालयले सुन चाहिँ हामीलाई नदिने संकेत गरेको छ’, सुन तस्करी छानविन समितिका एक सदस्यल भने, ‘हामीलाई सुन नै चाहिन्छ भन्ने हुँदैन, सुन फेला परेको प्रमाणित कागजात र पक्राउ परेका मानिसहरु बुझाएमा बयानबाट खुलाएर फेरि मुद्दा स्ट्रङ बनाउन सकिन्छ ।’

१० करोड ४२ लाख भारतीय रुपैयाँ कुल मूल्य रहेको उक्त सुनसहित डिआरआईले राकेश प्रसाद र हेम प्रसाद शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
राकेश र हेमलाई नेपाल ल्याउन परराष्ट्र मन्त्रालयमार्फत दुई देशबीचमा कुराकानी अगाडि बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!