सीडी विजय भन्छन -‘बिक्रमलाई मैले पैंसा दिएको छैन’

द भ्वाँइस अफ नेपाल’ का विजेता सीडी विजय अधिकारीले आफूले नेपाल आइडलका फाइनलिष्ट बिक्रम बराललाई कुनै आर्थिक सहयोग नगरेको स्पष्ट पार्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत नेपाल आइडल सिजन टू का फाइनलिष्ट बिक्रमलाई ५० हजार नगद सहयोग गरेको भनि बाहिर आएको समाचारहरु गलत भएको बताउनु भएको छ ।

नेपाल आइडल सिजन टू को ग्राण्ड फिनाले आज हुँदैछ । सीडी विजय र बिक्रम बराल दुवै जना पोखराका हुन् । उहाँहरु दुवै जना एकदम मिलनसार साथी हुन् । सीडी विजयले आफू ‘द भ्वाँइस अफ नेपाल’ को विजेताको नैतिकताले कुनै एक जनालाई सपोर्ट गर्न नमिल्ने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल र आफुसँग सत्यतथ्य नबुझि प्रकाशित गरिएका समाचारहरुबाट प्रभावित नहुन आफ्ना शुभचिन्तकहरुलाई अनुरोध गर्नु भएको छ । उहाँले आफुलाई ‘द भ्वाँइस अफ नेपाल’ को विजेता बनाउन र बिक्रम बराललाई नेपाल आइडल बनाउन गठित दुवै सहयोग समितिका पदाधिकारीहरु सबै उही व्यक्तिहरु भएको बताउनु भएको छ ।

उहाँले आफुलाई जिताउन गठित सहयोग समितिले संकलन गरेको सहयोग रुकम मध्येबाट आफ्ना लागि खर्च गरेर बचत रहेको ५० हजार रुपैया अर्को सहयोग समिति अर्थात बिक्रम बरालको सहयोग समितिलाई हस्तान्तरण मात्र गरेको बताउनु भयो ।

उहाँले आफु विजेता भइसकेपछि घर पुग्दा पोखरामा एक कार्यक्रमको आयोजना गरी आफ्नै उपस्थितिमा बिक्रमको सहयोग समितिलाई हस्तान्तरण गरेको स्पष्ट पार्नु भयो । उहाँले तर, आफु व्यक्तिगत रुपमा बिक्रमलाई आर्थिक सहयोग नगरेको बताउनु भयो ।

साथै पोखरामा हुँदा बिक्रम र आफु एउटै साँगीतिक ब्याण्ड ‘प्रयास ब्याण्ड’ को सदस्य भएको, एउटै गुरुबाट संगीत सिकेको, एउटै विद्यालयमा पढेको तथा खोजी प्रतिभा २ मा आफु भाग लिदा बिक्रम बराल सीडी विजयलाई जिताउन भन्दै भोट माग्दै गाउँ गाउँ डुलेर आफ्ना लागि भोट मागिदिएको सीडी विजयले बताउनु भयो ।

उनले बिक्रम बराल आफ्नो मिलनसार साथी एवं उमेर भाई भएकाले उनले आफ्ना लागि विगतमा गरेको गुनका लागि बिक्रम बराल सहयोग समितिले आयोजना गरेको कार्यक्रममा उपस्थित भएर शुभकामना मन्तव्य राख्दा गलत भएको भए, आफु क्षमाप्रार्थी रहेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!