अप्रेसनबाट कृत्रिम याेनी -पाेखराकी यी युवती पाईन नयाँ जीवन

महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् ।

पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन ।

इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा. आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा.आरपी चौधरीि, डा. सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा. छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो ।

उपचारमा संलग्न डा. सिंहले समान्यतया १२ वर्षदेखि महिनावारी हुने गरे पनि ती युवतीको २६ वर्षसम्म पनि महिनावारी नभएको जानकारी दिनुभयो । यो अत्यन्त जटिल शल्यक्रिया हो, उहाँले भन्नुभयो,“योनी नभएको महिलाको शरीरमा योनी बनाउनु ठूलो चुनौती थियो ।”
पेशाले एयर होस्टेज ती युवतीको योनीको कृत्रिम रुपमा शल्यक्रिया गरी बनाइएको छ । डा. आरपी चौधरीले ती युवतीमा पिसाब फेर्ने मात्रै प्वाल रहेको भन्दै शल्यक्रियाका माध्यमबाट कृत्रिम योनी बनाइएको बताउनुभयो ।

उहाँले यस्तो समस्या दुर्लभ मात्रै देखापर्ने बताउनुभयो । युवतीले योनीको समस्याका बारेमा आफ्नो प्रेमीलाई समेत भनिसकेको र अबको केही महिनाभित्रै विवाह गर्ने तयारीमा रहेकी छन् । शल्यक्रिया गरी बनाइएको योनीले महिनावारी हुने र यौन सम्पर्क गर्न पनि सकिने डा. चौधरीले बताउनुभयो ।

चौधरीले पाठेघर नभएका कारण सेरोगेसीको माध्यमबाट बच्चा पाउनसक्ने जानकारी दिनुभयो । अति नै दुर्लभ र जटिल शल्यक्रिया भएको दाबी गर्दै उहाँले ती युवतीको शारीरिक तथा जैविक बनौट र बाहिरी यौनाङ्ग महिलाको भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको जानकारी दिनुभयो ।

त्यस किसिमको दुर्लभ समस्या चारदेखि पाँच हजार जनामध्ये एक जनामा देखिने भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको अवस्था भने अति दुर्लभ रहेको चिकित्सकहरूको भनाइ छ । साधारणतया यस किसिमको समस्या किशोर अवस्थामा रजस्वला सुरु हुने बेलामा मात्रै पहिचान हुने गर्दछ ।

युवतीले महिला तथा प्रजनन् विशेषज्ञ कन्सल्ट्यान्ट डा.आशा सिंहसँग परामर्श लिएर शल्यक्रियाको लागि योजना बनाउनुभएको थियो । शल्यक्रिया अघि युवतीको अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरिएको थियो । युवतीको बाहिरी यौनाङ्ग र शारीरिक बनौट महिलाको भएता पनि समस्याको बारेमा परीक्षणपछि मात्र दुर्लभ र जटिल स्थिति रहेको पत्ता लागेको थियो ।

युवतीलाई यस शल्यक्रियाको जटिलताको बारेमा परामर्श तथा जानकारी गराई शल्यक्रियाको लागि तयार गरिएको थियो । शल्यक्रियामा आन्द्राको सानो भागलाई निकालेर यौनाङ्ग सोही भागबाट बनाई शल्यक्रिया गरिएको जानकारी दिइएको छ । क्रियाशील नभएको दुई गर्भाशय भने अनुमति लिएर शरीरबाट निकालिएको थियो ।

डा. सिंहले ती युवतीलाई शल्यक्रिया पछि सातौँ दिनमा घर फर्काइएको जानकारी दिँदै यस किसिमको जटिल शल्यक्रियामा लामो समयसम्म चिकित्सकसंँग ‘फलोअप’मा बस्नुपर्ने बताउनुभयो ।

गाेर्खापत्र दैनिकमा सराेज ढुंगेलकाे रिपाेर्ट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!