३ दशक ट्राफिक इन्चार्ज बनेका सीताराम हाछेथु अवकाश पछि ‘वनबास’

मंसिर शुक्ल पक्षको पूर्णिमा तिथि । घरमा सबै जना योमरी बनाउँदै थिए । सुत्केरी हुने दिन नजिकै आए पनि केशरी हाछेथुलाई योमरी बनाउनकै चटारो थियो । चटारोमै केशरीको पेट असामान्य ढंगले चल्न थाल्यो ।

नेवार समुदायको दसैँ जस्तै लाग्ने योमरी पुन्हीमा सबै जना रमाइरहेका थिए । त्यही रमाइलोमा केशरीको कोखबाट जन्मिएको शिशुले नयाँ खुशी थपिदियो । पछि नाम राखियो, सीताराम हाछेथु । यो २०२२ सालको कुरा हो ।

‘आमाले योमरी पकाउँदै गर्दा म सुकुलमै जन्मिएको थिएँ रे’ मंसिरको ठन्डीमा परेको जन्मतिथि सम्झिदै सीताराम भन्नुहुन्छ, ‘कति छिट्टै ५३ वर्षको पुगिएछ ।’

सिताराम हाछेथु, ललितपुरका प्रत्येक सडक जाममा देखिने अनुहार हो । चोक चोकका ट्राफिक ‘आइल्याण्ड’मा उभिएका प्रहरी भन्दा धेरै यात्रुलाई सीतारामको नाम कण्ठस्थै छ ।

गहुँगोरो वर्ण । आकाशे रङको सर्ट र निलो कालो पाइन्ट अनि सेतो टोपी । ढाडमा क्यामेरा भिरेको योद्धा जुन सडकमा उभिन्छ, त्यो सडकमा सित्तिमिती कसैले ट्राफिक नियम उल्लंघन गर्ने हिम्मत गर्दैनन् ।

अटेर गर्ने यात्रुले तुरुन्तै पाँच सयदेखि एक हजार रुपैयाँसम्मको चिट भेट्छन । त्यो भन्दा अगाडि सितारामले राम्रैसँग सम्झाई बुझाई पनि गर्नुहुन्छ । तर अहिले काठमाडौँ उपत्यकाका सडकमा सिताराम देखिनुहुँदैन ।

लाग्न सक्छ, सितारामको सरुवा भयो । तर होइन । सिताराम अब सडकमा ट्राफिक लाइट बालेर नउभिने गरी ‘वनबास’मा हुनुहुन्छ ।

‘वनबास’मा बनेको घर ! 

सिताराम अहिले घरमा हुनुहुन्छ । भक्तपुरको सूर्यविनायक जंगल नजिकै बनेको घर वनबास भन्दा कम छैन । वरिपरीका बाक्ला रुखले घर घेरिएको छ । सितारामले फूर्तिलो ज्यान बनाउनुमा यिनै साल र सल्लाका रुखले दिने स्वस्थ्य ‘अक्सिजन’को पनि त्यत्तिकै योगदान छ ।

यसपटक पुसमा परेको योमरी पूर्णिमा, सितारामका लागि विशेष भए पनि फरक भइदियो । गएको मंसिर ६ गते नै प्रहरी निरीक्षकबाट अवकाश पाइसक्नु भएका सितारामले यसपटकको जन्मदिन सूर्यविनायक मन्दिरमै गएर परिवारसहित पूजा गरेर मनाउनुभयो ।

५३ वर्षको उमेर हदका कारण अवकाश पाएका हाछेथु अहिले फुर्सदमा हुनुहुन्छ । यसअघि आफू जति वर्ष पुग्यो, त्यत्ति नै वटा योमरीको माला लगाउने गरे पनि यसपाली फुर्सद मिल्दा पनि उहाँले योमरीको माला लगाउनु भएन ।

योमरीको सट्टा सूर्यविनायक मन्दिरमा फूल चढाउनु भयो । फूलको माला लगाउनुभयो । आखिर जिन्दगी फूल जस्तै छ नि । अचेल यस्तै सम्झनुहुन्छ, सिताराम ।

फुर्सदमा झण्डै ‘डिप्रेसन’ 

सधैं भिडभाड र कोलाहलमा बस्ने बानी परिसकेका हाछेथुलाई अहिले घरमै बसे पनि वनबास जस्तै भएको छ । घरमा श्रीमती र दुई छोराछोरी भएपनि त्यो उहाँका लागि पर्याप्त छैन ।

त्यसमाथि छोरीको विवाह भैसकेको छ । छोरा सिरिष आफूसँग भन्दा बढी साथीहरुसँग व्यस्त हुन्छन् । श्रीमती बिजु प्रधान जल तथा मौसम पूर्वानुमान विभागमा सहसचिव पदमा कार्यरत हुनुहुन्छ । बिजु बिहान ९ बजे नै कार्यालय हिँड्नुहुन्छ । छोरा आफ्नै काममा ।

‘कहिलेकाहीँ त यस्तो लाग्छ, कुनै गुनासौ गरौँ । कुरा गरौँ भने पनि सुन्दिने कोही छैन’ अवकाशपछि फुर्सदिला भएका सिताराम विगत सम्झिदै भन्नुहुन्छ, ‘२९ वर्षसम्म काम काम काम मात्रै सम्झें मैले । न साथीभाइलाई समय दिएँ, न छिमेकीसँगै चिनजान गरें । अहिले एक्लिएको छु ।’

अवकाशपछि पञ्जा छुट्यो, भाँडा माझ्यो ! 

यसअघि जतिबेला पनि पन्जा लगाएर बस्ने हाछेथु, अहिले खुल्ला हातमा देखिनुहुन्छ । ट्राफिक प्रहरी भएर हातमा सेतो पन्जा लगाउँदा उहाँका हात धुँवा, धुलो र चिसोबाट सुरक्षित हुन्थ्यो । तर अहिले उहाँ पन्जा लगाउनुहुन्न । त्यसैले १० वटै औंला फुटेर कालो भएका छन् ।

‘२९ वर्ष श्रीमतीले घरको सबै काम गरिन् । उनी अहिले पनि गर्छिन । तर कार्यालय पनि समयमै पुग्नुपर्‍र्यो । त्यही भएर केही काम सघाउन थालेको छु । भाडा माझ्छु । यसअघि नगरेको भएर होला मेरो हात फुट्यो’ हाछेथु भन्नुहुन्छ ।

कार्यालयमा नै खाने भएकाले कहिल्यै खाना पकाउनु परेन । न त भाँडा माझ्न नै पर्‍यो । त्यसैले भाडा माज्दा जुटले हात फुटाएको हाछेथुको भनाई छ । भाडा माझ्नेसँगै लुगा धुने, खाना पकाउने काममा पनि श्रीमतीलाई सघाउन थाल्नुभएको छ, हाछेथुले ।

स्वभाव: घरको इन्चार्जसँग ट्राफिकको भीडन्त ! 

२९ वर्षमध्ये २७ वर्ष उपत्यकामै ट्राफिक प्रहरी इन्चार्ज भएर बस्नुभएका हाछेथु दुई वर्ष पथलैया र चन्द्रनिगाहापुरमा बस्नुभयो । जतिबेला पनि काम मात्रै भन्ने सिताराम हाछेथु प्रहरी संगठनको कुशल इन्चार्ज बन्नुभयो । घरको जिम्मेवारीसँगै सरकारी सेवामा सक्रिय बिजु प्रधान घरको इन्चार्ज बन्नुभयो ।

श्रीमान श्रीमतिको काम बाँडफाँड भयो । दुवै जनाले आफ्नो जिम्मेवारी निभाउन कुनै खाली ठाउँ बाँकी राख्नुभएन । सिताराम हाछेथुले प्रहरी संगठनको इन्चार्जबाट अवकाश पाउनुभयो । तर इन्चार्जको स्वभाव भने हटेन ।

बिजु भने अझै पनि घरको इन्चार्ज नै हो । त्यही भएर यी दुई इन्चार्जको कहिलेकाहीँ खटपट पनि हुन थालेको छ । घरको सामान बिगारियो भने बिजुलाई मन पर्दैन । २९ वर्षसम्म आफ्नो अगुवाईमा रहेको सामान होस् वा अरु केही कुरा आफुलाई नसोधी अन्त लगेको मन पर्दैन ।

अवकाश पाएको भोलिपल्टै भान्साकोठाको सामान फेर्दा हाछेथुलाई घरको इन्चार्जले गाली गर्नुभयो । पछि सहमती पनि भयो । यस्तो रिसाउने र फकाउने पहिलेको भन्दा धेरै नै चल्न थालेको छ, हाछेथु र बिजुबीच । तर पनि माया भने अझ बढ्दो छ ।

लाइब्रेरीको भेटले बिहे गरायो ! 

बुबा कृष्णभक्त र आमा केशरीको माइलो छोरा हुन हाछेथु । उहाँका एक दाजु, एक भाइ र एक बहिनी हुनुहुन्छ । सानैदेखि चुलबुले स्वभावका हाछेथुलाई खेल्न र घुम्न मन लाग्थ्यो । दिनमा चार जोरसम्म लुगा फेर्नुहुन्थो । तर पढ्न भने ज्वरो आउँथ्यो । उहाँ एसएलसीमा फेल हुनुभयो । सबै साथी पास भए ।

अल्लारे स्वभाव भएकाले आमाले छोरो बिग्रन्छ भनेर सानोठिमी क्याम्पसको पुस्तकालयमा काम लगाइदिनुभयो । हाछेथु र बिजुको भेट त्यहीँ भयो । बिजु बिएससी पास गरेपछि लाइबेरी असिस्टेन्टको रुपमा त्यहाँ कार्यरत हुनुहुन्थ्यो । त्यत्तिकैमा झागिंएको माया विवाहमा परिणत भयो ।

बिजुको दाइले बहिनीको हात नदिएपछि दुई जनाले भागेर विवाह गर्नुभयो । तर हाछेथु आफुले बिजुलाई नभगाएको दाबी गर्नुहुन्छ । यो विवाह केटाकेटीको सहमतिमा भएको हो त्यहि भएर भागेको वा भगाएको होइन उहाँको तर्क छ । माया प्रीति गाँसेर विवाह गरेको भन्न उहाँको आग्रह छ ।
अल्लारे ठिटोलाई बिजुको साथ, प्रहरीको जागिर !

२०४४ साल फागुन ६ गते बिजुसँग भागेर विवाह भयो । तर एक वर्षसम्म पनि बिजुको परिवारले नस्वीकारेपछि हाछेथुलाई सोच्न बाध्य बनायो । कतै यो मेरो क्षमतामाथिकै प्रश्न त होइन ? हाछेथुलाई यस्तै लाग्यो ।

विवाह भएको ५ महिनापछि बिजुले जल तथा मौसम विभागमा काम थाल्नुभयो । श्रीमतीले काम थाले पनि हाछेथु बेरोजगार हुनुहुन्थ्यो । यसले थप पीडा दियो ।

२०४३ सालमा आमा र २०४५ सालमा बुबालाई गुमाएपछि हाछेथुमा थप जिम्मेवारी बढ्यो । २०४६ सालमा नेपाल प्रहरीमा जागिरको लागि आवेदन खुल्यो । ठूलो आशले हालेको आवेदन अन्ततः जागिरमा परिणत भयो । पुस २९ देखि काम नै शुरु भयो ।

पहिलो पोस्टिङ नै आफ्नै घर नजिकैको भक्तपुरमा भईदियो । भक्तपुरको ट्राफिक इन्चार्ज बनेर पुस २९ देखि शुरु भएको सितारामको जागिर २९ बर्ष पुगेर समाप्त भयो ।

जागिर छुट्यो, तर सिट्ठी छुटेन   

युवा अवस्थामा केटीलाई जिस्काउन सिट्ठी बजाउनुहुन्थो हाछेथु । त्यस्तै सिठी २९ वर्ष गोजीमा बोकेर हिँड्नुभयो । कतै ट्राफिक जाम हुँदा खुलाउन त्यही सिठी फुक्नुहुन्थो । अवकाश पाएपछि यो सिठ्ठी पनि छुट्ने अपेक्षा थियो ।

तर काममा हुँदा ट्राफिक व्यवस्थापनमा जुुट्ने हाछेथुलाई सपनाले पनि बिउँझाउँछ । उहाँ सपनामा पनि दौडिएर जाम खोल्न गएको देख्नुहुन्छ । भन्नुहुन्छ यति धेरै लगाव भएछ सपनाले पनि म, जाम अनि सिठ्ठीलाई छोडेन ।’

हतारको ट्राफिक जिन्दगी, फुर्सदको पछुतोे !

प्रहरी सेवामा प्रवेश गरेदेखि नै हाछेथुले परिवारलाई समय दिन भ्याउनुभएन । पहिलो नम्बरमा आफ्नो काम, त्यसपछि श्रीमती र परिवार भन्ने बानीले उहाँलाई घरपरिवार, सन्तान र आफन्तबाट टाढा बनायो । छोरा इन्जिनियर हुनुहुन्छ । छोरीको विवाह भैसक्यो ।

दुई महिना अघि मात्रै हाछेथु हजुरबुबा हुनुभयो । तर छोराछोरीलाई कहिल्यै आफ्नो काखमा बोक्ने फुर्सद भएन । उनीहरुलाई स्कुल पु¥याउन वा लिन जान भ्याउनुभएन । कहिल्यै गृहकार्य गराउनुभएन । उनीहरुको आवश्यकता कहिल्यै महशुस भएन ।

उनीहरुलाई मन पर्ने नपर्ने केही पनि थाहा छैन । यस्तै हाछेथुको स्वभावबारे छोराछोरी अपरिचित छन् । छोराछोरीसँगको सामिप्यता भनेको कस्तो हो भन्ने नै थाहा छैन उहाँलाई ।

छोराको खुट्टा फ्याक्चर हुँदा पनि आफू अस्पताल नगएर दाइलाई जानु भनेकोमा, अनि काकाको छोरी बहिनीको विवाहमा जान नपाएकोमा हाछेथुलाई पछुतो छ ।

‘ड्युटी मात्र भन्दा परिवारलाई समय दिइएन’ आँखा टिलपिल पार्दै हाछेथुले भन्नुभयो ‘देशको लागि काम गर्न पाएकोमा खुशी छु । तर अहिले आफन्त, घरपरिवार र समयको महत्व नबुझेकोमा अलिकति पछुतो लाग्छ ।’

दुर्घटनामा जब आफ्नै छोराको नाम सुन्नुपर्‍यो…….

‘म सातदोबाटोमा भर्खरै बनेको ट्राफिक भवनमा बसिरहेको थिएँ । बालकुमारीमा खटिएका ट्राफिक प्रहरीको फोन आयो । बालकुमारी पुल वारि मोटरसाइकल दुर्घटना भएको थियो । मैले बिएण्डबी अस्पताल लैजाउ भने । उ हात समातेर सडक पेटीमा बसिरहेको छ भनेपछि उसको बारेमा सोधीखोजी गर भने । नाम के हो भनेर सोध्दा शिरिष भन्ने जवाफ आयो ।

शिरिष के ? हाछेथु । म छाँगाबाट खसें । मेरो आफ्नै छोरा दुर्घटनामा परेको थियो । उसलाई तुरुन्तै धापाखेलको सुमेरु अस्पताल लगियो । हात भाँचिएको रहेछ । अपरेशन गर्नुपर्‍र्यो ।’ जीवनमा आफ्नै छोरालाई दुर्घटनामा भेटेका सितारामका लागि यो भूल्नै नसक्ने क्षण बनेको छ ।

त्यसैले बाटोमा कसैले सोधिहालेमा भन्नुहुन्छ, ‘जागिर छाडे पनि धर्म छाड्नु हुँदैन । एकपटक बाइक, स्कुटर र गाडीको स्टेरिङमा हात राखेपछि ट्राफिक नियम पालना गर्नु भनेको धर्म गर्नु हो । नभए व्यर्थमा ज्यान जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!