भेडेटार फेस्टिभलमा पर्यटकले हेलिकप्टर यात्रा गर्ने अवसर पाउने

सुनसरी : प्रदेश १ को चर्चित पर्यटन केन्द्र भेडेटारमा आयोजना हुने भेडेटार फुड फेस्टिभलको अवसरमा पर्यटकले हेलिकप्टर यात्रा गर्ने अवसर पाउने भएका छन्। होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा पुस १६ देखि १८सम्म सञ्चालन हुने फेस्टिभलमा भेडेटार, थुम्की, नाम्जे र पाथीभरा मन्दिरआसपास क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टर उडाइने भएको हो।

फुड फेस्टिभलमा आउने पर्यटकलाई पाँच हजार रुपैयाँमा हेलिकप्टरबाट भेडेटारआसपास क्षेत्र देखाइने एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। उनले भने, ‘हेलिकप्टर यात्राले फेस्टिभललाई अझ विशेष बनाउने आशा गरेका छौं।’

सिम्रिक एयर प्रालिका सीईएमओ योगेश सापकोटाले फेस्टिभलका अवसरमा भेडेटारमा हेलिकप्टर उडाउने र फेस्टिभललगत्तै पुस २० देखि २३ गतेसम्म भेडेटारदेखि ताप्लेजुङको ठूलो पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने कार्यक्रम रहेको बताए। उनले भने, ‘भेडेटारबाट पहिले पनि सिम्रिकले हेलिकप्टरबाट दर्शनार्थीलाई पाथीभरा पुर्‍याएको थियो। यसपटक पनि पाथीभरा जान इच्छुकले चासो देखाउनु भएकाले यो कार्यक्रम राखेका हौं।’

उनका अनुसार भेडेटारबाट हेलिकप्टरमा पाथीभरा मन्दिर पुर्‍याउने, त्यहाँ आधा घन्टा पुजा पाठ गराउने र पुनः भेडेटारसम्म ल्याइनेछ। त्यसका लागि यात्रीले प्रतिव्यक्ति ३० हजार रुपैयाँ तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!