दाङ दुर्घटना : बिहे गरेको एक सातामै उजाडियो सिउँदो

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी २२ वर्षीय गणेश विकले मंसिर २९ गते शनिबार धुमधामसहित बिहे गरे। विवाह गरेको एक साता पछि शुक्रबार भएको राम्री बस दुर्घटनामा परी उनले ज्यान गुमाए।

तुलसीपुरकै नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बसका परिचालकको रूमा काम गर्दै आएका उनी बस दुर्घटनामा मृत्यु भएका २३ जनामध्येका एक हुन्।

काम नगरी माम आउँदैन भन्दै उनी विवाह भएको दोस्रो दिनदेखि नै काममा जान बाध्य भएका थिए। काममा नगए दुई छाक टार्न समस्या थियो।

विवाह पछि काममा गएको पाँचौ दिनमा उनले काम गर्ने बस रिर्जभमा जानुपर्ने भयो।

दाङको घारोहीबाट विद्यार्थी र शिक्षक लिएर सल्यानको कपुरकोटस्थित मुलपानीमा गएर फकर्ने गरी उनको बस रिजर्भ भयो।

शुक्रबार गणेशले नव विवाहिता दुलही कमलालाई बेलुका घर चाडै फर्किने वाचा गरि बिहान ५ बजे निस्किएका थिए।

बिहान ७ बजे घोराही उपमहानगरपालिका-१७ स्थित गैरागाउँस्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकसहितको बस सल्यान तर्फ प्रस्थान गर्‍यो।

वन वातावरणका विद्यार्थी सल्यानको मुलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन भ्रमण सकेपछि पुनः घोराही फर्किए।

विद्यार्थी, शिक्षक र बसका स्टाफहरू सबै मिलेर कपुरकोटमा दिउँसोको खाजा खाए। त्यहाँबाट पनि गणेशले आफ्नी दुलहीलाई फोन गरेर कपुरकोटबाट खाजा खाएर दाङको तुलसीपुर झर्दै गरेको हुँदा बेलुका ७ बजेसम्म घर आइपुग्ने जानकारी गराएका थिए।

सँगै रहेकी आमालाई पनि उनले जानकारी गराएका थिए। तर, कपुरकोटबाट हिँडेको करिब १५ मिनेटमा उनको बस भयानक दुर्घटनामा पर्‍यो।

उनीहरू चढेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्रीको भीरबाट करिब ८ सय मिटर तल खोल्सामा खस्यो।

नाटक जस्तै लाग्ने यो दुर्घटना पछि गणेशले नवविवाहित दुलही र जन्मदिने आमासँग गरेको वाचा पुरा गर्न नपाउँदै अस्ताए।

शनिबार तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा गणेशकी आमा लक्ष्मीले आफ्नो पारिवारिक गरिवी र हप्तादिन अगाडि बिवाह गरेको छोरा गुमाउँनु पर्दाको पीडा व्यक्त गर्दै भक्कानिइन्।

‘आमा साँझ घर आउँछु भन्दै बिहान उज्यालो नहुँदै घरबाट निस्किएको मेरो छोरा विवाह भएको हप्ता दिन नहुँदै संसार छोडेर गयो, दैव यो के अचम्म भयो,’ उनले बिलौना गरिन्।

साँझ ७/८ बजेसम्म पनि गणेशसँग फोन सम्पर्क नभएपछस पत्नी कमला र आमा लक्ष्मीले तारन्तार फोन सम्पर्कको प्रयास गरे। तर, जति प्रयास गर्दा पनि गणेशको फोनमा सम्पर्क हुन सकेन।

त्यसले झनै नवविवाहित दुलही र आमालाई छटपटी बनायो। यही अन्यौंलताका बीच उनीहरु खाना खाएर सुते। एक साता अगाडि मात्रै विवाह गरेर आएकी कमलाले कतिबेला श्रीमान आउलान् भन्दै राति अबेरसम्म प्रतिक्षा गरेर बसिन। तर, गणेश आएनन्।

शनिबार बिहान मात्रै छिमेकी शिक्षिकाले सल्यानबाट आएको बस दुर्घटनामा परेको र त्यसमा धेरैको हताहति भएको खबर सुनाएपछि उनीहरुको होस उड्यो।

आमा जत्तिको महान सन्तानको लागि को हुन्छ र? त्यो कुरा सुने लगतै गणेशकी आमा लक्ष्मी दौडिएर तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा आइपुगिन्।

त्यहाँ आउँदा सयौं मानिसको भीड अस्पतालमा देखेपछि उनले घटना ठूलै भएको अडकल काटिन्।

अन्य सबै आमाहरुले जस्तै उनले आफ्नो छोरा गणेशलाई केही नभएको होस भन्ने भगवानसँग प्रार्थना गरिन्।

शनिबार बिहान सवा १० बजेतिर अस्पतालको शव गृह नजिक पुग्दासम्म उनी छोरालाई केही पनि भएको छैन कि? भन्ने कुरामा निश्चिन्त जस्तै सुनिएकी थिइन्।

‘मेरो छोरा गणेश हिजो सल्यान बस लगेर गएको थियो, साँझै फर्किन्छु भन्दै थियो। तर, हिजो घर आएन, कि घाइते भएर यही पो राख्या छन् कि?’, लक्ष्मीले यसो भन्दै शव गृह भित्र प्रवेश गरिन्।

तर उनले शव गृहमा आफ्नो छोरा गणेशलाई अचेत र स्थिर अवस्थामा सुताइएको देख्ने वित्तिकै भक्कानिएर बाहिर आइन्।

त्यसपछि छोराको मृत्युको शोकमा भावविह्ल हुँदै डाको छोडेर रून थालिन्।

त्यो सबै नियालीरहेका प्रहरी अधिकारीले उनलाई सम्झाउन महिला प्रहरीलाई अह्राए।

भुईमै बसेर विलौना गर्न थालेकी लक्ष्मीलाई महिला प्रहरी र सँगै आएका उनका गाउँले महिलाहरुले जसोतसो केही पर लगे।

उनीहरुले सम्झाउन जति प्रयास गर्दा पनि उनको रूवाई कम भएको थिएन। केही बेरमै शव वहान आयो र उनको मृत छोरालाई त्यसमा राखेर साईरन बजाउँदै अगाडि बढ्यो। उनलाई सम्हाल्न प्रहरी र स्थानीयलाई हम्मे हम्मे परेको थियो।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी रामबहादुर जिएमका एक्ला छोरा बिजय जिएमलाई गुमाउनुको पीडाले विछिप्त छन्।

शैक्षिक भ्रमणका लागि सल्यान जान लागेको छोरालाई विद्यालयसम्म छोड्न एकाबिहानै बाबु रामबहादुर जिएम आफैं पुगेका थिए।

उनले छोरालाई हात हल्लाएर विदाई गर्दै आफ्नो ख्याल गर्नु र साँझ समयमै घर आउनु भनेर सम्झाउँदै विदाईका हात हल्लाएको स्मरण गरे। तर, त्यही विदाई नै बाबु छोराको अन्तिम विदाई बन्न पुग्यो। ‘म आफैं विद्यालयसम्म पुर्‍याउन गएको थिए,’ रामबहादुरले भक्कानीदै भनेका थिए, ‘साँझ पनि लिन आउनु होला भनेको थियो, अब म कस्लाई घर लगेर जाँउ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!