सम्झनामा ढुंगे रेल, नेपालको ढुंगा भारत ओसारियो!

इटहरी : नेपालीका लागि मिठो सपना बनेको छ रेल। पूर्वपश्चिम रेल कुदाउन सर्वे भइरहेको छ। विराटनगरसम्म आउने चर्चा पनि छ। ट्रयाकमा बसेर लिइएका सेल्फीले पनि नेपालीको रेल चढ्ने उत्कट इच्छालाई प्रतिबिम्बित गर्छ। यो सब चलिरहँदा सुनसरीबासी भने धरानदेखि कोशी ब्यारेजसम्म चल्ने ढुंगे रेल सम्झिन्छन्, किस्सा हाल्छन्।

छविलाल कार्कीको जन्म धरानको रेल्वे लाइनमा भयो। उनी जन्मिँदा त्यो ठाउँको नाम रेल्वे थिएन। २०१६ सालमा धरानदेखि कोशी ब्यारेजसम्म रेल कुद्न थाल्यो। भीमनगर–चक्रघट्टी–घोपा (धरान) र चक्रघट्टी–चतरा लिक ओछ्याइएको थियो। वर्षौँ चलेको रेल उनले हेर्दाहेर्दै बन्द पनि भयो। त्यो रेल उनलाई मात्र होइन, धेरैलाई सपना जस्तै लाग्छ। किनभने कुनै समय त्यहाँ रेल गुडेको प्रमाण खोज्न अहिले ठूलै कसरत गर्नुपर्छ।

त्यो मान्छे बोक्ने रेल थिएन। कोशी ब्यारेज बनाउँदा ढुंगा, गिटी, बालुवा ओसार्न बनाइएको थियो। कार्की कैयौं पटक रेल चढे। बस्नलाई सजिलो थिएन। तर हिँड्नुजति गाह्रो पनि थिएन। ‘हिँडेर आधा दिन लाग्ने बाटो रेलमा एकैछिनमा पुगिन्थ्यो,’ उनी भन्छन्। १५–१६ वटा डब्बा थिए। कोइलाबाट चल्ने इन्जिन थियो। लिक पनि एउटा मात्र थियो। ‘घुमाउने ठाउँमा चाहिँ दुईटा लिक थियो,’ उनी सम्झिन्छन्, ‘त्यो बेला चक्रघट्टीमा गाडी पनि पुगेको थिएन। कि हिँडेर जानुप¥यो, कि ढुंगा बोकेको रेल चढेर।’

चक्रघट्टी–चतरा रेल्वे ३२ सालमा बन्द भयो। चतरा–भीमनगर चाहिँ ४५ सालसम्म चल्यो। रेल चल्न छोडेपछि लिकको फलाम चोरेर लगे। फलामको नाममा एउटा काँटीसम्म बाँकी छैन। चोरिएपछि प्रहरीले बरामद गरेको लिकको केही सामान ०४७÷४८ सालसम्म सुनसरी जिल्ला अदालत परिसरमा थियो। रेलका दुई वटा डब्बा कुशाहामा छन्। सुनसरीमा रेल गुडेको अवशेष यति नै हो। रेल चढ्नेहरुको अनुभूति भने धेरै छ। ‘चेप्टा ढुंगामाथि बसेर दौँतरीसँग भीमनगरसम्म जान्थ्यौँ,’ बराहक्षेत्र–२ का युवराज भट्टराई भन्छन्, ‘रेलका डब्बाभरी टनाटन ढुंगा र ती ढुंगामाथि मान्छे हुन्थे।’ ०४५ सालमा कोशी किनारको राजाबास क्षेत्रमा कटान भएको थियो। त्यसबेला रेलबाट चौबीसै घण्टा ढुंगा ओसारेर बाँध मर्मत गरियो।

६० वर्षअघिको ढुंगे रेल चढेका सुनसरीबासी नयाँ रेल चले कृषि र पर्यटन विकासमा टेवा पुग्ने बताउँछन्।

प्रकाशपुरका शिक्षक सरोज बराल रेल चढ्दा ८ वर्षका थिए। अवसर पायो कि चढिहाल्थे। गुड्दै गरेको रेलमा पछिपछि दौडेर चढ्ने र उत्रने गर्थे। ‘सात क्लास पढ्दै गर्दा एउटा ३–४ कक्षामा पढ्ने केटो उत्रने हुँदा रेलले खुट्टा छिनाएको देखेपछि त्यसरी दौडेर चढ्ने र ओर्लने गर्न छाडियो,’ उनले भने।

हुमरजंग बस्नेत २०२८ सालमा प्रकाशपुर आएका थिए। उनी मिल चलाउँथे। तर रेल आएपछि मिल बन्द गरेरै जान्थे। ‘म मात्रै हैन गाउँका सबै मानिस रेल चढ्न भनेपछि हुरुक्क हुन्थे,’ उनी भन्छन्।

नेपालको ढुंगा भारत ओसारियो

२०११ सालको कोशी परियोजना सम्झौताअनुसार भारतले नेपालको स्रोत साधन प्रयोग गरेर कोशी ब्यारेज बनायो। निर्माण सामाग्री ढुवानी गर्न रेल र सडक पनि उसैले बनायो। धरानको फुस्रेबाट रेल्वेसम्म रोपवेबाट ढुंगा झारिन्थ्यो। त्यसलाई रेलले ओसाथ्र्यो। ०२० सालमा सम्ममा ब्यारेज बन्यो। रेल भने त्यसपछिको दुई दशकसम्म चलिरह्यो। त्यो समयमा नेपालको सम्पदा भारतले लगेको स्थानीय बताउँछन्।

भारतको बिहारस्थित कटैया पावर हाउस निर्माण गर्दा नेपालको ढुंगा प्रयोग भएको बताइन्छ। रेलमा काम गर्ने सबै भारतीय थिए। ‘नेपाली त खोलामा र ट्रकमा काम गर्ने मात्र थिए,’ कार्की सम्झिन्छन्। कहिलेकाहीँ चढेर गन्तव्यमा पुग्नेबाहेक सुनसरीबासीले रेलबाट कुनै फाइदा लिन सकेनन्।

फेरि कुद्ला रेल ?

ढुंगे रेल चढेकाहरु अझै त्यही रुटमा रेल चलाउन सम्भव रहेको बताउँछन्। तर त्यो ट्रयाक बिछ्याइएको जमिनमा अहिले बाढी पीडित बसेका छन्। सप्तकोशी बाढीपीडित डुबान कटान संघर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बुका अनुसार जमिन बगाएपछि उनीहरुले त्यहाँ शरण लिएका हुन्। भारतले बनाएको कोशी बाँधका कारण गाउँ नै उठिबास लागेकोले उचित थातबासको व्यवस्था नहुन्जेल त्यो ठाउँ छाड्न कोही तयार नभएको उनी बताउँछन्। अन्य ठाउँबाट आएकाहरुले पनि त्यहाँको जमिन कब्जा गरेका छन्।

भारत नियन्त्रित कोशी ब्यारेज क्षेत्रमा रेल कुदाउन उसको समेत अनुमति चाहिन्छ। बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल पहिलेकै ठाउँमा रेलमार्ग बनाउन समस्या रहेको बताउँछन्। ‘विराटनगरदेखि हरिनगरा, कोशी गाउँपालिका हुँदै बराहक्षेत्र अनि धरान हुँदै रंगेलीको बाटोसम्म पुग्नेगरी मेट्रो चलाइयो भने राम्रो हुन्छ,’ उनले भने।

बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर मिनी रेल चलाउन सकिने सम्भावना देखाउँछिन्। भन्छिन्, ‘मिनीरेल चलाउन सके कोशीटप्पु वन्यजन्तु आरक्ष, बराहक्षेत्र र रामधुनी मन्दिरमा पर्यटक बढाउन सकिन्थ्यो।’

कृषिलाई सघाउ

धरान विकास भएसँगै ओझेलमा परेको बजार हो चतरा। भोजपुर, उदयपुरलगायतका पहाडी जिल्लाको कृषि उपज र अन्य उत्पादन सस्तोमा ढुवानी गर्न रेल उपयोगी हुनसक्छ। महाकुम्भ लाग्ने चतराधाम, बराहक्षेत्र विश्वभरका हिन्दूमाझ चर्चित छ। त्यहाँसम्म पुग्ने गतिलो सडक समेत छैन।

धरान, भेडेटार, नमस्ते झरना घुम्न ठूलो संख्यामा भारतीय पर्यटक सुनसरी आउँछन्। रेल चले तिनको संख्या बढ्नसक्छ। त्यसैले ६० वर्षअघि चलेको रेल अहिले कुदाउन सके पर्यटन र कृषि विकासमा टेवा पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!