बिहानै थानकोट कट्नु छ भन्थे, परलोक पुर्याईदिए !

काठमाडौं : ‘बिहानै थानकोट कट्नु छ भन्थे परलोक पु¥याइदिए, त्यो दिन सम्झँदा अझै पनि बोली लर्बराउँछ’, गत वर्ष धादिङमा भएको सडक दुर्घटनामा परेर बाँचेका दुर्गानन्द यादवले त्यो क्षण सम्झँदै भन्नुभयो– ‘के भयो थाहा नै पाइनँ, सपना जस्तो लागेको छ।’

सप्तरीबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको रात्रिबस २०७४ कात्तिक ११ गते बिहान धादिङको गजुरी–६ घाटवेंशीमा खसेको थियो। त्यस क्रममा १६ परिवारका ३३ जनाको निधन भएको थियो भने १६ जना घाइते भएका थिए। मृतकमा सप्तरीका एक सहचालकसहित २७, सिराहाका ४ र भारतका २ जना थिए।

तिनै पीडित राहत नपाएको भन्दै सिंहदरबार धाउन थालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘हेल्लो सरकार’ र गृह मन्त्रालयमा समेत निवेदन दिएको बताउँदै चतुरनारायण प्रमाणीले भन्नुभयो– ‘जिल्लाबाट नै पहल ग¥यौं तर केही लागेन, हाम्रो पीडा कसैले सुनेन, अपहेलित भएपछि अन्तिम विकल्प खोज्न सिंहदरबार आयौं।’

काभ्रेका शिक्षक प्रमाणीले काठमाडौंमा पढ्दै गरेका ४ छोरी गुमाउनुभएको छ। पीडितहरूले स्थानीय प्रतिनिधि र सांसदसँग दुःखेसो पोख्न कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा प्रदेशसभाकी सांसद रुवी कर्णबाहेक अरू कोही नआएकोमा पीडितले आपत्ति जनाए।

धादिङ जिल्ला अदालतले पीडितलाई १ करोड ७५ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे पनि अहिलेसम्म केही नपाएको उनीहरूको गुनासो छ। ५ वर्ष कैद सजाय तोकिएको चालक सन्तोषकुमार चौधरी धादिङ कारागारमा छन् भने गाडीधनी सविना तुलाधार मुखियालाई ७ महिनापछि थुनामुक्त गरिएको छ। यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

पीडित मनोजकुमार शर्माले गाडीधनीले आफूहरूको पीडामा खेलेको आरोप लगाउनुभयो। भारत मधुवनीका निज मनोजकुमार शर्माले भन्नुभयो– ‘मैले श्रीमती र छोरी गुमाएँ, गुमाएको पीडा त छँदै छ, गाडीधनीले गरेको व्यवहार झन् पीडादायी बनेको छ।’ सप्तरीबाट हिँडेको गाडी हेटौंडामा आएर बिग्रिएपछि साहुकै काठमाडौंबाट फर्कंदै गरेको गाडीले यात्रुलाई काठमाडौं ल्याएको थियो।

यात्रुहरूले चालकले अर्को गाडी लिएर काठमाडौं आउन नमानेको र साहुले बाध्य पारेर मात्र गाडी कुदाउन लगाएकाले दुर्घटना भएको आरोप लगाए। गाडी सप्तरीको रूपनीका सविना तुलाधार मुखियाको नाममा छ। उनीहरूका अनुसार विवादकै कारण गाडीको गति तीव्र भएको भनेर सम्झाउँदासमेत चालकले मानेका थिएनन्। दुर्घटना सोच्नै नसकिने सामान्य ठाउँमा भएको छ। चावहिलको ओम हस्पिटलमा कार्यरत योगेन्द्रप्रसाद यादवका पनि श्रीमती र छोरी गुमेका छन्।

‘नर्सिङमा लोकसेवा पास गरेकी थिइन्, अन्तर्वार्तामा बिग्रियो, पछि पनि नाम निस्केको थियो’, भावुक हुँदै यादबले भन्नुभयो– ‘दिन लागेपछि केही गरे पनि हुँदो रहेनछ, एक्लो जीवन बाँच्न त्यति सजिलो छैन, उनीहरूकै यादले सताउँछ।’

क्षतिपूर्तिबारे सोध्दा गाडीधनी सुशीलकुमार मुखियाले ‘पहिले नै विभिन्न सञ्चारमाध्यममा समाचार आइसकेको छ’ भनी फोन काट्नुभयो। गाडीको इन्स्योरेन्सको समय सकिएको र यातायात व्यवसायी समितिमा दर्ता नभएको जनाइएको छ। युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाइ एन्ड इन्भेस्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सूर्यप्रसाद लिम्बूले सवारी धनीले अनिवार्य रूपमा पीडितलाई राहत दिनुपर्ने बताउनुभयो। ‘बीमामा राहत खर्च दिनुपर्ने स्पष्ट व्यवस्था छ, त्यो सवारी बीमा रकम प्राप्त गर्न अयोग्य भए पनि आफ्नै जायजेथाबाट तत्काल काजकिरिया खर्च ५० हजार र पछि ४ लाख ५० हजार दिनुपर्छ, लिम्बूले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!