४ बजे उठेर पढेर, होमवर्क सकेर, बारीमा ८ बजेसम्म काम गरेर स्कुल जानुपथ्र्यो

चितवन — कक्षा १ को परीक्षामा सरिता चेपाङ दोस्रो भएकी थिइन् । त्यसपछि भने विद्यालयमा भएका कुनै पनि परीक्षामा दोस्रो हुनुपरेन, सधैं पहिलो भइन् ।

उनी पढ्ने चित्रकला प्राविका प्रधानाध्यापक सूर्यकुमार जीसीले कक्षा ४ पढ्दाबखत विद्यार्थीलाई सोधे, ‘पढेर तिमीहरू के बन्छौं ?’ विद्यार्थीले पाइलट र इन्जिनियर बन्ने कुरा राखे । आफ्नो पालो आउँदा सरिताले डाक्टर बन्छु भनिन् ।

जीसीले डाक्टर पढ्न त थुप्रै पैसा लाग्छ भनेपछि सरिताले तत्कालै भनिन् ‘नर्स बन्छु ।’ उनले त्यो बेला देखेको सपना यही मंसिर ८ मा नर्सिङ परिषद् परीक्षा उत्तीर्ण गरेपछि पूराभयो । सरिताले यो यात्रा भने सजिलै पूरा गरेकी भने होइनन् ।

धादिङको पहाडी गाउँ जोगिमारा लैताकमा सरिताको घर छ । आडैमा रहेको कक्षा १ देखि ५ सम्म पढाइ हुने चित्रकला प्रावि पुग्न पनि लगभग आधा घण्टा लाग्थ्यो । ५ पास भएपछि ६ पढ्ने जोगिमारा खोरभन्ज्याङ स्कुल त्योभन्दा टाढा थियो । घरदेखि १ घण्टा टाढाको विद्यालय पढेर उनले ०७१ सालमा एसएलसी परीक्षा दिइन् । नतिजा आउँदा उनको खुसीकोसीमै रहेन ।

परीक्षाअघि उनी २ महिना बिरामी भएकी थिइन् । त्यसैले डर थियो कतै फेल त हुने होइन । तर ७४ प्रतिशत नम्बर ल्याएरउत्तीर्ण भइन् ।

एसएलसीमा आएको नम्बरले उनलाई नर्सिङ पढ्न रोक्दैनथ्यो । पखेरामा घर भएका सरिताका अभिभावकले नर्सिङ पढ्ने खर्च कसरी जुटाउने भन्ने पिरलो भयो । जमिन भन्नु पाखोबारी मात्रै थियो । मकै फल्थ्यो, त्यसले जेनतन छाक टथ्र्यो । घरमा बुवा शेरबहादुर आमा सोमीसहित १ दिदी, २ बहिनी र एक भाइ थिए । त्यो बेला सबै स्कुल पढ्थे ।

‘छोराछोरीलाई पढ्ने खर्च जुटाउन आमाबाबुले तरकारी खेती थाल्नुभयो । बारीमा सिजनअनुसार काउली, बन्दा, करेला, भिन्डी र साग फल्थ्यो । त्यही बेचेर खर्च जेनतेन परिवार चलेको थियो,’ सरिताले भनिन् । उनी काम पनि सघाउँथिन् । ‘बिहान ४ बजे उठेर पढेर, होमवर्क गरी बारीमा ८ बजेसम्म काम गरेर स्कुल जानुपथ्र्यो । स्कुलबाट आएपछि पनि बारीमा जान्थें,’उनले भनिन् ।

पृथ्वी राजमार्गको हुग्दीबाट दक्षिणमा उनको गाउँ छ । पहिले उकालो बाटो हिँडेर जानुपथ्र्यो । हिँड्ने बानी परेको हुँदा आधा घण्टामा सडकमा आइन्थ्यो । पछि बाटो खुल्यो, गाडी चल्न थाले । सरिता गाउँ छाडेर टाढा त्यही हुग्दी र गजुरीभन्दा पर गएकी थिइनन् । नर्सिङ पढ्न के कसरी तयारी गर्ने हो ? खर्च के कति लाग्ने हो ? अभिभावकहरू रनभुल्लमा परे । बाबाले भने, ‘शिक्षा संकाय पढ् ।’ सरिताले मन मारेरै हुन्छ भनिन् ।

‘हामीले नगरे कसले गर्ने’ संस्थाको सहयोगमा सरिताले सीटीईभीटीले लिने छात्रवृत्तिको परीक्षा दिइन् । उत्तीर्ण पनि भइन् । पढ्नका लागि भरतपुर अस्पतालको नर्सिङ कलेजमा नाम निस्कियो, भर्ना भइन् । उनलाई संस्थाका अध्यक्ष विनोदबाबु रिजालगायतको सहयोग थियो । उनको होस्टल, स्टेसनरी, पोसाक, खाजाका लागि चाहिने खर्च चितवन समाज भिक्टोरियाबाट प्राप्त भयो ।

नर्सिङ परिषद्को परीक्षा उत्तीर्ण गरी नर्स भएकी सरिताले अब सेवा गर्ने अवसर खोजेकी छन् । चेपाङ समुदाय शिक्षामा निकै पछाडि छ । प्राथमिक तहको शिक्षा जेनतेन पढे पनि विद्यालय तहको शिक्षा पूरा गर्ने कमै छन् ।

उच्च शिक्षा र प्राविधिक शिक्षामा थोरै मात्र चेपाङ पुगेका छन् । सरिता नर्स बनेर बिरामीको सेवाका साथै आफ्नो समुदायमा शिक्षाको महत्त्व पनि बुझाउने अभियानमा लाग्ने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!