दशगजा भित्रै बाटो बनाउने भारतीयलाई मोरङवासीले यसरी लखेटे

तारा आचार्य, विराटनगर । नेपाल भारतको सीमा क्षेत्र त्यो पनि दशगजामा नै भारतले बनाउन लागेको बाटोको स्थानीयले विरोध गरेर रोकेका छन् ।

एक साता देखि मोरङको जहदा गाँउपालिका वडा नं. १ कालाबञ्जरको दशगजामा भारतले बनाउदै गरेको बाटो प्रहरी प्रशासनले रोक्न नसकेपछि स्थानीय आफैले निर्माण कार्य रोक्न लगाएका हुन् ।

बिहारको मुख्यमन्त्रीको गलीनाली योजना अन्तर्गत बनाइएको सो बाटो ४ फिट अग्लो रहेको छ । दशगजा भित्रै बनाइएको सो बाटो निर्माण पछि नेपाल तर्फको भूभाग डुबानमा पर्ने भएकाले स्थानीयवासीले प्रहरी प्रशासनलाई जानकारी गराए पनि प्रहरीले चासो नदिएको जहदा गाँउपालिका वडा नं. १ का वडाध्यक्ष प्रदीपचन्द्र यादवले बताउनु भयो । उहाँले स्थानीय जनताको अग्रसरतामा नै सडक निर्माण रोकिएको पनि बताउनुभयो ।

बिहारका विधायक मञ्चन केशरीको विधायक फण्डबाट करिब ४ लाख १५ हजार भारतीय रुपैयाँमा सो पीसीसी बाटो निर्माण भईरहेको थियो ।

बिहारको कुशमाहा ग्राम पञ्चायत वडा नं. ४ आमगाछीको दशगजामा करिब २ सय मिटर बाटो निर्माण भईसकेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरित बिहार सरकारले दशगजामा बाटो बनाउनु गलत भएको संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।

प्रहरी प्रशासनले चासो नदिदा बाटोको निर्माण रोक्न स्थानीय आफै जुट्नु परेको छ । सीमाको सुरक्षामा स्थानीयवासी जुर्मुराएको सप्तरी पछिको यो दोश्रो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!