भारतमा चौकीदार काम गर्ने बुवाको छोरा नेपाल आईडल बन्दा…

गत शुक्रवार अबेर पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ मा विजेता घोषित भए लगत्तै रवि ओड रोएका थिए।

विजेता बन्नुको खुशी त छँदै थियो उनमा, तर रुनु पछाडिको मुख्य कारण थियो भारतको गुजरातमा विगत २५ वर्षदेखि चौकीदारका रूपमा कार्यरत आफ्ना बुवालाई मञ्चमा ल्याउन नसक्नु।

‘मैले पटक-पटक बुवालाई नेपालमा आइडलको मञ्चमा ल्याउन खोजेँ, सकिनँ। तर ग्राण्ड फिनाले अर्थात् अन्तिम दिन पनि ल्याउने कोसिस गरेँ तर ल्याउन सकिनँ,’ बीबीसी नेपाली सेवासँगको कुराकानीमा रविले भने।

उनका अनुसार बुवा राजेन्द्रले चौकीदारीबाट कहिल्यै छुट्टी पाएनन्।

तर उक्त प्रतियोगिताको विजेता घोषित भएपछि पहिलो फोन बुवालाई गरे।

दिनचर्या
‘बुवाले स्याबासी दिनुभयो र उक्त उपाधिको प्रतिष्ठा जोगाउन रहेका चुनौतीबारेमा पनि सचेत पार्दै त्यसका लागि शुभकामना दिनुभयो,’ उनले भने।

गरिबी, अभाव लगायत अनेक सङ्घर्षबीच रवि दोस्रो नेपाल आइडल बन्न सफल भएपछि उनको मात्र होइन, उनका बुवाको दिनचर्या पनि फेरिएको छ।

रविले हाँस्दै भने, ‘यता मैले सम्मानपछि सम्मान पाइरहेको छु र उता भारतमा रहेका नेपालीले मेरो बुवालाई सम्मान गरिरहेका छन्। बुवाले हाम्रो बारेमा अन्तर्वार्ता दिइरहनुभएको छ।’

कन्चनपुरमा जन्मिएका २१ वर्षीय रविले सानो छँदा नै आमा उमा देवीलाई गुमाएका थिए।

गरिबीका बावजुद उनका बुवाले उनीहरूको रेखदेख तथा लालनपालनमा भरमग्दुर प्रयास गरे।

प्रेरणा
‘भारतमै चौकीदारको काम गरेर बुवाले पठाएको पैसाले हाम्रो जीवन चलेको हो। त्यसैले सङ्घर्ष, दु:ख, अभावलाई मैले नजिकबाट नियालेको छु, भोगेको छु। मैले पाएको सफलतामा यसको पनि हात छ,’ रविले भने।

तर गीत-सङ्गीतमा रुची बढ्नुमा भने उनको हजुरबुवाको प्रेरणा छ।

उनले आफ्नो हजुरबुवालाई भेट्न त पाएनन्, तर गाउँका बूढापाकाले रविको आवाज हजुरबुवाको जस्तो भएको बताउँथे।

‘हजुरबुवाले राम्रो गाउने र मेरो आवाज उहाँसँग मिल्ने थाहा पाएदेखि नै मेरो सङ्गीतप्रति रुचि बढ्दै गएको हो।’

१२ कक्षासम्म पढेका रविले सातजनाको परिवारलाई सघाउन विभिन्न स्थानीय कार्यक्रम, महोत्सव र रोदीघर तथा दोहोरीसाँझमा समेत गाउन थाले।

म्यादी
उनी देउडाका अतिरिक्त पप, आधुनिक गीत गाउन समेत पोख्त भएको बताइन्छ।

दिपक बज्राचार्य, सुगम पोखरेल, हेमन्त राना जस्ता ख्याति प्राप्त गायकबाट विशेष प्रभावित उनको साङ्गीतिक यात्रामा धनगढीका दोहोरी साँझ बन्द भएपछि केही पूर्णविराम लागेको उनी बताउँछन्।

पटक-पटक कामविहीन बनेका उनले संविधानसभाको निर्वाचनताका म्यादी प्रहरीका रूपमा जागिर समेत गरे।

‘मैले कामको जोहो गर्दैगर्दा राम्रोसँग पढ्न पनि पाइनँ। पास हुनका लागि मात्रै परीक्षाको केही अघिमात्रै पढ्थेँ। १२ कक्षाको अब एउटा विषय पास गर्नुछ र अब पढाइमा समेत ध्यान दिन्छु,’ उनले भने।

अमेरिकन आइडलको फ्रेन्चाइज लिएर नेपालमा भित्रिएको उक्त नेपाली संस्करणका अतिरिक्त भारतीय संस्करण पनि रविले नजिकबाट नियालिरहेका हुन्थे।

योजना
नेपाल आइडलमा सहभागी भएर उपाधि नै जित्ने उनको कुनै योजना थिएन।

तर फुर्सदमै रहेको बेला साथीहरूको सुझावका आधारमा उनले केही महिनाअघि पहिलो अडिसन धनगढीमा दिए र शुरू गरे नेपाल आइडलको यात्रा।

डिजे नानी
शुरुदेखि नै निर्णायकहरूको रोजाइमा पर्दै आएका उनले भने, ‘आफूमा केही प्रतिभा भएकै कारणले निर्णायकहरूले मलाई पछिल्ला राउण्डमा ल्याउनुभयो।’

५० प्रतिशत दर्शकको भोट र ५० प्रतिशत निर्णयको छनोटका आधारमा विजेता घोषित भए पनि कतिपयले उनको जितलाई दया र क्षेत्रीयताको प्रभावका रूपमा अर्थ्याएका छन्।

आलोचना
तर त्यसको प्रतिवाद गर्दै उनी भन्छन्, ‘दया, जातीय वा क्षेत्रीय कारणले जितिने भए म भोटिङ्ग राउण्ड अर्थात् मतका आधारमा मूल्याङ्कन गरिने चरणमा समेत पुग्न सक्ने थिएन।’

‘तर ती आलोचना वा प्रतिक्रियालाई म सहज रूपमा लिन्छु। ऊर्जाको रूपमा लिन्छु र अघि बढ्छु।’

विजेता बनेसँगै आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ।

”सर्वत्र माया र सम्मान पाएको छु। त्यसले ममा एक प्रकारको चुनौती पनि थपिदिएको छ, भन्दै उनले आगामी योजनाबारे भने, पहिले आयोजकसँगको सम्झौता सकाउँछु र त्यसपछि दर्शक-स्रोताको माग अनुसार मेरो साङ्गितिक यात्रा अघि बढाउछु।”

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!