नेपाल आईडल जितेको खुशी मनाउन नपाउँदै रबिकी आमाको निधन

कैलाली : नेपाल आइडल दोस्रो सिजनको उपाधि जितेर घर फर्किँदै गर्दा कञ्चनपुर कृष्णनगरस्थित घरमा आमा विष्नासहित गाउँका सानीआमा ठूलीआमाहरू रवि ओडलाई स्वागत गर्न घरबाहिर लहरै उभिएका थिए।

घर पुगेका आमाहरूको फूलमाला र अबिर ग्रहण गरेपछि उनले विष्नालाई देखाउँदै भनेका थिए- ‘उहाँ चाहिँ मेरो मम्मी।’

रविकी आमा विष्ना हर्षका आँसु झारिरहेकी थिइन्। ‘जन्मदिने मम्मी अहिले हुनुहुन्न। उहाँले यति माया दिनुभयो, साथ दिनुभयो, सपोर्ट दिनुभयो कि मलाई अर्को ममीको पनि त्यति याद आउन्न’, यसो भनेर आमालाई अँगालो हाल्दा विष्नाका आँखाबाट खुसीका आँसु झरेका थिए।

चरम गरिबीबाट मुक्तिका लागि उनका बाबु रोजगारीका क्रममा भारतमा छन्। रवि बाबुलाई उस्तै सम्झिरहेका थिए। ‘बुबालाई धन्यवाद दिन चाहन्छु। उहाँलाई केही थाहा छैन। भोट हाल्ने कसरी थाहा छैन तर भोट माग्दै हिँड्नुभएको छ’, रवि पनि आफ्ना पीडादायी दिन सम्झेर भक्कानिएका थिए। ‘बुबा चाहिँ अहिले इन्डियामा हुनुहुन्छ। बुबा भइदिएको भए धेरै खुसी हुन्थेँ होला’, रवि भन्दै थिए।

नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए ।

वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। रवि ८ वर्षको हुँदा उनकी आमा उमाको निधन भएको थियो । रविको बाल्यकाल निकै संघर्षपूर्ण थियो। उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए । उनै रविले बुधबार कर्मदिने आमा विष्नालाई गुमाएका हुन् ।

बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा प्राण छोडेकी हुन्। बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको हो।

रवि परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो । धनगढी अडिसनबाट छानिएका रवि अन्नत दोस्रो नेपाल आइडल बन्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!