लमजुङ – सुन्दरबजार नगरपालिका–६, अन्नपूर्ण टोल निवासी कमल रेग्मीको निधन भएको छ ।भारतको नयाँ दिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा पुस १० गते बिहान ४ बजे ४८ वर्षको उमेरमा उहाँको निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँ कांग्रस समर्थित हुनुहुन्थ्यो । रेग्मी नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव हुनुहुन्थ्यो । उहाँ नेपाल तरुण दल जिल्ला कार्य समितिका पूर्व उपाध्यक्ष, पूर्व सचिव समेत हुनुहुन्थ्यो । उहाँ आदर्श बाल मावि बरेटारका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । यसका साथै उहाँ विभिन्न संघसंस्थामा पनि आवद्ध हुनुहुन्थ्यो ।
भारतबाट रेग्मीको पार्थिव शरीर ल्याई बुधबार पाउँदीस्थित मरानघाटमा दाहसंस्कार गरिएको छ । रेग्मीको पार्थिव शरीरलाई उहाँका दुई छोरी श्रद्धा रेग्मी र श्रष्टा रेग्मीले दिउँसो २:३० बजे दागबत्ती दिएको नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका मनोनित सचिव किरण पण्डितले जानकारी दिनुभयो । श्रद्धा र श्रष्टा स्नातक तहमा पढ्दै छन् ।‘रेग्मीको पार्थिव शरीरलाई दुई छोरीले दागबत्ति दिएका छन् । उनीहरु १३ दिनसम्मै बुवाको किरिया बस्नेछन्,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार दाह संसस्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, क्षेत्रीय सभापति वृषराज गुरुङ लगायत विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ५ सय बढी सहभागी थिए ।स्वर्गीय रेग्मीका बुवाआमा, श्रीमती र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्