युद्धको खतरा कोबाट छ?

एउटा विकसित, खुसहाल राजधानीका रूपमा बेरुतलाई सम्झिन सकिने अनेकौ उपक्रम छन्। विश्वप्रसिद्ध चेन होटेलहरू, यत्रतत्र गुडिरहेका रोल्सरोयस, बीएमडब्ल्यू, अडीलगायत अन्य चर्चित ब्रान्डका मोटरकारहरू, व्यवस्थित यातायात परिचालनका लागि सुरुङगमार्गदेखि फ्लाइओभरसम्म छ यहाँ। आँखैसामुन्ने तयार हुने चर्चित ब्रान्डका परफ्युमहरू किनु किनु लाग्छ। अनि पारखीहरूको रोजाइमा पर्ने अरबिक मिठाईका अनेकौं प्रकारले मुखै रसाउँछ।

Suresh-Poudelभनिरहनु परोइन, आयआर्जनको मुख्य स्रोतमध्ये एक पर्यटन मानिन्छ लेबनानमा। पर्यटक आवागमनमा बेरुतको चहलपहल एवं व्यस्तताले धेरै कुरा ढाक्छ तर जसै बेरुतबाहिर क्रमशः दक्षिणतर्फ लागिन्छ, लेबनिजहरूका अनुहारले एक प्रकारको तनाव प्रदर्शन गरेझै लाग्छ। शान्त तर बेचैन। सडक किनार हुक्का तान्दै गरेका प्रौढ अनि बुर्कामा फाट्टफुट्ट देखिए महिलाहरू। यूएन लेखिएको गाडीमा भएकोले होला केही बालबालिकाले मुस्कानसहित हात हल्लाए तर आँखा जुधिहाले पनि ठूलाहरू भने प्रतिक्रियाविहीन देखिए। सडक जति पनि छ तर सवारी परिचालन न्यून देखिन्छ।

राष्ट्रसंघीय शान्ति सेनाअन्तर्गत लेबनानमा खटिने नेपाली सेनाको डफ्फा अदलीबदलीका लागि पछिल्लोपटक गएको टोलीमा यो पंक्तिकार पनि सामेल थियो। बेरुतको रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिंदा त्यही कार्यरत अस्ट्रियन बटालियनलाई एक सय १० किलोमिटर दक्षिणपश्चिम अवस्थित नेपब्याट (नेपाली बटालियन) मुख्यालय पुर्‍याउन तोकिएको थियो। लेबनानमा कार्यरत ४१ देशका शान्तिसेना सबैको कार्यविभाजन आआफ्नै खालको छ।

समुद्र किनारका साथै पहाडी भूभागको प्रचुरता छ लेबनानमा। तर, त्यति हरिलो भरिलो लाग्दैन। कुनै बेलाको महासागरका ती ढुंगे अवशेषमा बुट्यानसम्म उम्रिन भ्याएका छन्। कतैकतै संरक्षित वन पनि छन्। अनकन्टार पहाडका खोंचमा बनाइएका चिल्ला सडकमा लेबनान ओर्लिने नेपाली डफ्फालाई अगाडि पछाडि मोबाइल ज्यामरसहितको क्याराभानमा नेपब्याट मुख्यालय मेइस एल जबेलसम्म ल्याउने र पुर्‍याउने गरिन्छ।

यस्ता खोंचमा कतै कतै ससाना होटेल देखिए पनि सहर भने पहाडका थुम्कामा छन्। सहर फराकिला बाटाघाटा, बिजुली, पानी, सञ्चार, बजार सबैबाट सुसज्जित छन्। सहर प्रवेश गर्नुअगावै बाटोकिनार बिजुलीका पोलहरूमा विभिन्न अनुहारका बीसौं फ्ल्याक्सहरू टाँगिएका देखिन्छन्। विभिन्न नेता तथा युद्धमा मारिएका हेज्बोल्लाह अनि स्थानीयका तस्बिर रहेछन् ती।

un_gadhi

समुद्र बिर्सिने हो भने पहाडी बनावट नेपालजस्तै छ, तर नेपालमा प्रायः दुई डाँडाको खोंचमा नदी बगेको हुन्छ भने लेबनानमा बाटो। नेपालको १४ भागको एक भागमात्र भूक्षेत्र भएको लेबनानमा कालोपत्रे सडक आठ हजार किलोमिटरभन्दा बढी छ। जसरी सडक बनेका छन् त्यो हेर्दा लाग्छ, जहाँ पनि सडक पुर्‍याउन हतार छ लेबनानलाई। समतलमा त भयो नै, पहाडका ३० डिग्रीभन्दा बढीको ढलानमा पनि सडक तन्काइएको छ र सवारीसाधनहरू नचिप्लियून् भनेर कालोपत्रे खस्रो पारिएको छ।

नेपालको १४ भागको एक भागमात्र भू-क्षेत्र भएको लेबनानमा कालोपत्रे सडक आठ हजार किलोमिटरभन्दा बढी छ। जसरी सडक बनेका छन् त्यो हेर्दा लाग्छ, जहाँ पनि सडक पुर्‍याउन हतार छ लेबनानलाई।

 

आफ्नो एकवर्षे कार्यकाल सकाएर घर फर्किने नेपाली सेनाको टोलीले नयाँ टोलीलाई जिम्मेवारी सुम्पिन लाग्ने केही दिनको समयावधि नै हामीजस्ता अवलोकनकर्ताका लागि लेबनान अनि शान्तिसेना बुझ्ने अवसर बन्छ।

नेपब्याट मुख्यालय प्रवेश गर्नासाथ राष्ट्रिय पोसाकमा नमस्कार मुद्रामा रहेका नेपाली नारी पुरुषका साथै नेपाली नक्साको प्रतिमा देखिन्छ। छेवैमा नेपाल, लेबनान र राष्ट्रसंघको झन्डा फहराइएको छ, झन्डा तल बुद्धमूर्ति छ। अनि नजिकै मन्दिर छ। सबैले देख्नेगरी एउटा घडी अग्लो ठाउँमा राखिएको छ, जसको डायल चार बराबर भाग र विभिन्न रङमा बाँडिएको छ। केही अगाडि बढेपछि धरहराको सानो प्रतिरूप देखा पर्छ। भौतिक रूपमा ढले पनि नेपालीको मनमस्तिष्कमा धरहरा ठडिएकै छ। मुख्य धरहराको अवशेषबाट करिब चार हजार ६ सय किलोमिटर टाढा भूमध्य सागर किनारको यो देशमा स्थापित धरहरा सम्भवतः नेपाल बाहिरको पहिलो हो। सैनिकहरूले आफ्नै सीप खर्चेका रहेछन् यसलाई ठड्याउन।

बम आक्रमणसमेत थेग्न सक्ने कंक्रिटका पन्ध्रौं फिट अग्ला, आठ इन्च मोटा अनि चार फिट चौडा पिलरहरूबाट घेरिएको नेपब्याट मुख्यालयमा आठ सय ५० मध्ये तीन सय ५० सैनिक कार्यरत छन्। बाँकी विभिन्न पोस्ट्मा खटिएका छन्। यही घेराभित्र केही दिनको रासनपानी तथा सञ्चार व्यवस्थासहित अनेकौ बंकर पनि छन्। ‘कुनै पनि बेला युद्ध हुन सक्ने खतरा छ। त्यसैले, सदैव तयारी अवस्थामा रहनुपर्छ,’ गणपति सञ्जय देउजा भन्छन्।

को बाट छ युद्धको खतरा ?

इजरायलबाट

सन् १९४८ मा इजरायलको जन्मदेखि नै लेबनान र इजरायलबीच तनाव छ र तीन पटक यी भिडिसकेका छन्। अन्तिम पटक सन् २००६ मा युद्ध भएको थियो। लडाइँ दुई पक्षको जस्तो देखिए पनि तीन पक्ष प्रत्यक्ष त्यसमा संलग्न छन् इजरायल, लेबनान र लेबनानको विद्रोही समूह हेज्बोल्लाह, जसलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको छ। तर, त्यही आतंककारी हेज्बोल्लाह लेबनिजमाझ प्रिय छ र त्यसका नेताहरूलाई चुनावमा जिताएका पनि छन् उनीहरूले।

हेज्बोल्लाहको आफ्नै सेना पनि छ। लेबनिज राष्ट्रिय सेनाभन्दा बढी सक्रिय देखिन्छ यो सेना। खाली डाँडामा जतिसुकै उचाइमा घर बनाउँछु भने पनि त्यही एउटा घरको लागि पनि कालोपत्रे सडक, पानी र बिजुली जसरी पनि पुर्‍याइदिन्छ सरकारले। कदाचित, सरकारले समयमा पुर्‍याउन सकेन भनेर थाहा मात्र पाउनुपर्छ, हेज्बोल्लाह अघि सरिहाल्छ। थप युद्ध हुन नदिन भनेर सन् १९७८ देखि शान्तिसेना लेबनानमा खटिएको छ। सुरुदेखि नै नेपाली सेना खटिएको छ यहाँ।

लेबनान र इजरायलबीच कुनै अन्तर्राष्ट्रिय सिमाना छैन। खासमा सीमा लेबनान र प्यालेस्टाइनबीच थियो तर प्यालेस्टाइनी भूमिबाट इजरायल विस्तारित भएपछि समस्या बढ्दै गयो। लेबनिजका लागि संसारको नक्सामा इजरायल भन्ने देश अस्तित्वमा छैन, उनीहरू इजरायल उच्चारणसमेत गर्दैनन्, प्यालेस्टाइनमात्र देख्छन्, प्यालेस्टाइनमात्र भन्छन्। तर विश्वपरिप्रेक्ष्य त्यस्तो छैन। अमेरिका, नेपाललगायत अन्य मुलुकका साथै संयुक्त राष्ट्रसंघले समेत इजरायललाई मान्यता दिइसकेको छ।

पटकपटक हुन सक्ने युद्धबाट जोगाउन राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानको पालामा सन् २००० मा राष्ट्रसंघले दुवै देशबीच दसगजा जस्तो एउटा दूरी स्थापना गर्ने र दुवैले त्यसलाई पार गर्ने छैन भनेर राजी गराइयो। त्यस्ता निश्चित दूरीमा यूएन लेखिएको ब्ल्युब्यारेल (नीलो ड्रम) राखेर कायम गरियो। त्यही ब्यारेलहरूका बीच बन्ने काल्पनिक लाइनलाई ब्ल्युलाइन भन्ने गरिएको छ। तर हेज्बोल्लाहले ब्ल्युलाइन मान्दैन र बेलामौकामा गुप्तस्थानबाट इजरायलतर्फ रकेट तथा बम आक्रमण गरिरहन्छ, बदलामा इजरायलले पनि तुरुन्तै जवाफ फर्काउन बेर लगाउँदैन।

एक सय २० किलोमिटरमा विस्तारित उक्त ब्ल्युलाइनमध्ये नेपाली सेनाको जिम्मा १५ किलोमिटर परेको छ। त्यही १५ किलोमिटरमा केही सिंगो कुरा दुई देशमा बाँडिएको छ, जहाँ पटकपटक तनाव हुने सम्भावना रहन्छ।

सोएब वेल

नेपब्याट मुख्यालयबाट १८ किलोमिटर टाढा ‘सोएब वेल’ भनिने एउटा तीनमुखे इनार दुवै पक्षले आफ्नो हो भनेर दाबी गरेपछि त्यसै माथिबाट ब्ल्युलाइन तानियो, फलस्वरूप इनारको एउटा मुख लेबनान र दुइटा मुख इजरायलतिर पर्‍यो। इनार पानीका लागि प्रयोग भएको पाइँदैन। त्यसमा पानी छ वा छैन, त्यो पनि थाहा छैन तर इजरायलको निरन्तर निगरानीमा रहँदै आएको छ यो क्षेत्र। लेबनानतिरबाट इनारको ब्ल्युलाइन पार गर्नासाथ इजरायली सैनिक बन्दुक बोकेर प्रकट भइहाल्छन्। यस्तो भैपरी आउने स्थिति सामान्य बनाउन राष्ट्रसंघको झन्डा बोकेर नेपाली सेना सोएब वेलमा चौबीसैघन्टा तैनाथ छ।

शेख अब्बाद टम्ब

नेपब्याट मुख्यालयबाट १३ किलोमिटर टाढा उचाइमा रहेको एउटा टम्ब (समाधि) मा पनि किचलो छ। लेबनान भन्छ, त्यो समाधि पाँच सय वर्ष पहिलेको आफ्नो धर्मगुरु शेख अब्बादको हो तर इजरायलको तर्क छ- हैन, १६ सय वर्षअघिदेखि नै धर्मगुरु रवि आयशीको समाधिको रूपमा हामीहरूले यसलाई मान्दै आएका छौं। समाधान यहाँ पनि निकालियो, समाधिको बीचबाट ब्ल्युलाइन तानेर। आफूतिर परेको आधी समाधि सुरक्षार्थ इजरायल निकै तामझामका साथ त्यहाँ उपस्थित छ।

NEPAL_ARMY

त्यसैको निगरानीका लागि नेपब्याटको एक टुकडी त्यहाँ तैनाथ छ। कहिलेकाहीँ समाधिमा प्रार्थना गर्न आउने लेबनिजहरूले पारितिरका पुरुष तथा महिला सैनिकलाई भद्दा इशारासहित गालीगलौज गर्ने तथा ढुंगा हिर्काउँदा स्थिति जटिल बन्ने गर्छ र नेपाली सेनाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिनु पर्छ।

ब्लिडा ओलिभ फार्म

ब्लिडा नगरपालिका क्षेत्रमा केही जैतुन बगैंचा छन्, जसको बीचबाटै ब्ल्युलाइन गएको छ। जैतुन टिप्दाटिप्दै जानाजान वा अञ्जानमा ब्ल्युलाइन पार गरेपछि अवस्था तनावपूर्ण बन्छ। त्यहाँ नेपाली सेना सक्रिय भइहाल्नुपर्छ। ‘मानिस र जनावरको त कुरै छाडौं, पानीसमेत बगेर ब्ल्युलाइन पार गर्‍यो भने तनाव सुरु हुन्छ,’ गणपति देउजा भन्छन्, ‘धन्न चरा उडेर गए केही भन्दैनन्।’

नेपब्याटको घडीले अवस्था सामान्य इंगित गरे पनि नेपाली सेना त्यत्तिकै बसेको हुन्न। स्थानीय बासिन्दाको मन जित्ने तथा उनीहरूलाई सहयोग पुर्‍याउने अनेकौ कार्यक्रममा संलग्न रहँदै आएको छ। जस्तो कि बालबालिकालाई स्टेसनरी वितरण, ऐतिहासिक स्थलको सरसफाइ, वृक्षरोपण तथा मेडिकल क्याम्प सञ्चालन आदि। नेपब्याटमा मेडिकल क्याम्प जहिले पनि सञ्चालन हुन्छ भने बेलामौकामा मुख्यालय बाहिर पनि स्वास्थ्य जाँचको काम हुँदै आएको छ।

यसै क्रममा एउटा उदेकलाग्दो तथ्य बाहिर आयो, मुस्लिम समुदायका महिलाहरूले १७÷१८ वर्ष नपुग्दै विवाहबन्धनमा बाँधिएर बच्चा जन्माउन थालिहाल्नु पर्दो रहेछ। एउटा बच्चा वर्ष दिन नपुग्दै अर्को ३÷४ महिनाको गर्भ हुर्काउँदै गरेको अनेकौं उदाहरण नेपब्याट क्लिनिकमा संकलित छन्। एक जोडीको ४÷५ बच्चा हुनु स्वाभाविकै मानिन्छ।

कम उमेरदेखि नै बच्चा जन्माउन थालेकोले ४० वर्ष पुग्दा नपुग्दै लेबनिज महिलाहरूमा कयौं शारीरिक समस्या देखा पर्दो रहेछ। कति त लौरो टेकेर हिँड्नुपर्ने अवस्थामा समेत पुग्दा रहेछन। धर्मिक बाध्यताकै कारण लेबनिज चिकित्सकले जन्मान्तरका लागि साधन प्रयोग गर्ने सुझाव दिन नसक्दा रहेछन्। यद्यपि पुरुषभन्दा बढी बुर्का लगाएका महिलाहरूले कार हाँकेको देखिन्छ तर बच्चा जन्माउन अस्वीकार गर्नासाथ श्रीमान्लाई परिवारबाट अर्को विवाह गर्ने दबाब आइपर्दो रहेछ।

बेरुतबाहिर तोकिएका केही स्थानबाहेक कतै पनि फोटो खिच्न पाइँदैन। खिचेको थाहा पाउनासाथ मेट्न लगाउनेदेखि क्यामरा वा मोबाइल जफत गर्नेसम्मको काम हुन्छ। विदेशीले खिचेको उनीहरू र उनीहरूका थातथलोको तस्बिर कुनै न कुनै प्रकारले प्यालेस्टाइन कब्जा गरेका शत्रुको (इजरायली सेना) हातमा पुग्छ भन्ने आम मान्यता रहेछ।

नेपब्याटमा श्रीजंग गणको अन्तिम दिन, विभिन्न मुलुकका सैनिक प्रतिनिधि तथा लेबनानस्थित राष्ट्रसंघीय फोर्सका सेक्टर इस्ट कमान्डरको उपस्थितिमा एक समारोहबीच गणपति सञ्जय देउजाले नेपब्याटको कमान्ड नयाँ गणपति बरख गणका नारायणबहादुर थापालाई हस्तान्तरण गरे।

समारोहमा केही लेबनिज पनि उपस्थित थिए। ‘यहाँ हामी हेज्बोल्लाह समर्थक हैाँ, अबको युद्ध निर्णायक हुनेछ, हामी वारपारकै प्रतीक्षामा छौं, उनीहरूले आकाशबाट हमला गर्लान् तर हामी पनि अब २००६ को लेबनान रहेनैाँ, न शक्तिले न त धनले, हामी जताततैबाट शत्रुले ओगटेको प्यालेस्टाइनमा हमला गर्न सक्षम छैाँ। उस्तै परे जमिनमुनिबाट पनि’ यस्तै आसय थियो हेजबुल्लाह समर्थक व्यापारी नासिर सोएदान र अली असकरको।

‘दशकौंदेखिको यो लडाइँ अन्त्य होस् अनि आरामले बसौं भन्ने लाग्दैन ? ‘ भन्ने प्रश्नमा टाइसुटमा सजिएका अर्का लेबनिजले जवाफ दिए, ‘लाग्छ, तर जबसम्म यहुदीहरूले प्यालेस्टाइन छोड्दैनन्, तबसम्म सम्भव छैन, तनाव यही नै हो।’ सायद यस्तै तनाव यस लेखको आरम्भमा चर्चा गरिएका लेबनिजहरूमा पनि हुनुपर्छ। त्यसैले शान्त तर बेचैन देखिन्थे। तर यस्तो स्थिति कहिलेसम्म ? के भगवान बुद्धको भूमिबाट दशकौंदेखि लेबनानमा तैनाथ नेपाली शान्तिसेना र तिनका सहकर्मीहरूको प्रयास सार्थक होला ? Annapurna Post

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!