जनवरी १ देखि मलेसियामा विदेशी कामदारलाई नयाँ नियम

मलेसिया । मलेसियाको रोजगारदाता(कम्पनी)हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था (SOCSO ) मा दर्ता गराउनु पर्ने नयाँ नियम लागु हुने  भएको छ । अहिले विदेशी श्रमिक क्षतिपूर्ति योजना (FWCS) अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने  नयाँ व्यवस्था मलेसिया सरकारले लागु गर्ने तयारी गरेको मलेसिया स्थित नेपाली राजदूतावासले जनाएको छ ।

यो नियम लागु भएसंगै रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ । यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा संस्था मार्फत दर्ता भएका कामदारहरुले स्वास्थ्य उपचार, स्थायी तथा अस्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनस् स्थापना सुविधा प्राप्त गर्ने राजदूतावासले जनाएको छ।

यो सुविधा मलेसियामा बैधानिक रुपमा बसेका कामदारहरुले मात्र प्राप्त गर्न सक्ने जनाइएको छ । मलेसियामा हाल कार्यरत नेपाली कामदार तथा मलेसिया जाने तयारीमा रहेकाहरुले आ–आफ्नो रोजगारदातासंग सम्पर्क गरि आफुलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन मलेसिया स्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!