ठूलो सुरक्षा चुनौती ‘विप्लव’

काठमाडौं : पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९० प्रतिशत प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । जिल्लाको दरबन्दी अपुग भएपछि प्रहरी मुख्यालयले शुक्रबारसम्म मात्रै केन्द्र (ट्राफिक, अख्तियार, गण, गुल्मलगायत) बाट झन्डै नौ हजार प्रहरी बाहिर पठाएको छ । अझै पठाउने क्रम जारी छ।

अहिले कुल प्रहरी संख्या ७२ हजार सात सय ३३ हजार छ । आइतबार पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुँदै छ । सुरक्षामा प्रहरीसँगै ९८ हजार दुई सय ६८ जना म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् ।प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने ९० प्रतिशत सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएको बताउँछन् ।

उनले भने, ‘चुनावमा सुरक्षाकर्मी खटाएको चुनौतीको कारणले होइन, भयरहित ढंगमा चुनाव सम्पन्न गराउन हो । सुरक्षाकर्मी हाइअलर्टमा राखिएको छ ।’उनले चुनावलाई ठूलो विपत्तिको रूपमा नबुझ्न आग्रह गर्दै चार वटै सुरक्षा निकायको आपसी समन्वयमा सुरक्षा व्यवस्था मिलाइएकाले मतदातालाई ढुक्कले मतदान गर्न अनुरोध गरे ।

केन्द्रीय सुरक्षा समितिबाट खटनपटनको व्यवस्था हुने भए पनि सुरक्षा निकायले आ-आफ्नै ढंगले सुरक्षा चुनौतीसँगै उम्मेदवार, मतदाता सुरक्षादेखि बुथसम्मको सुरक्षाबारे विश्लेषण गर्दै आएका छन् । चुनावमा ठूलो सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई लिइएको छ । तर, प्रहरी मुख्यालयले विप्लवका गतिविधिलाई उसले आफ्नो उपस्थिति देखाउन मात्रै विस्फोट गराएको विश्लेषण गरेको छ । उम्मेदवार कब्जादेखि मतदानस्थलमा विस्फोट गराउने तर भौतिक क्षति नपुर्‍याउने योजना विप्लवले बनाएको रिपोर्ट प्रहरीसँग छ ।

कालिकोट, पूर्वीपहाडको पाँचथर, भोजपुर र संखुवासभा, मध्यपश्चिमका रुकमु, रोल्पा, जाजरकोटका विप्लवको पकड जिल्ला रहेको विश्लेषणपछि ती जिल्लामा उच्च सतर्कता अपनाइएको छ । विप्लव कार्यकर्ता माओवादी केन्द्रसँग रुष्ट रहेका कारण पनि तर्साउने खालका विस्फोट गराइएको प्रहरीको बुझाइ छ । एउटै पार्टीमा हुँदा फाइदा लिन नसकेका र पार्टी नेतृत्वबाट लखेटिएका कार्यकताको जमात अहिले विप्लवसँग रहेको बुझाइ प्रहरीको छ ।

‘विस्फोटका घटनादेखि उम्मेदवार अपहरणका घटना त २०७० को संविधानसभा चुनावमा पनि भएको थियो, त्यतिबेला दलीय नेतृत्वको सरकार नभएर कर्मचारी नेतृत्व (पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी) को सरकार थियो’, प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘त्यतिबेला सबै दलसँग एकखालको समझदारी थियो, प्रतिपक्षले पनि सरकारलाई विश्वास गरेका थिए तर अहिले दलीय प्रतिस्पर्धा छ । कांग्रेसले बाम गठबन्धनलाई परास्त गर्ने र गठबन्धनले कांग्रेस सरकारमा रहेकाले सुरक्षाकर्मी र निजामती कर्मचारीलाई आफूअनुकूल प्रयोग गर्ने आशंका गरेको छ । यो द्विविधाले पनि चुनावमा अनेक आशंका जोडिएका छन् ।’

सरकारले चुनावको मुखमा सीडीओ सरुवा, प्रहरीको बढुवा र सरुवा काम गरेकाले यस्ता विषयले अर्थ राख्ने ती अधिकृतले बताए ।सुरक्षा निकायबाट सूचना चुहावट नभए पनि विभिन्न पार्टीको ‘ट्याग’ लागेका केही निजामती कर्मचारीबाट भने सूचना चुहावट हुने आशंकामा प्रहरीले सूक्ष्म निगरानी गरिरहेको छ ।

निर्वाचनमा खटिने निजामती कर्मचारी र निर्वाचन बुथभित्र खटिने मतदान अधिकृतमाथि प्रहरीले सूक्ष्म निगरानी गर्ने रणनीति बनाएको छ । प्रहरीले हालसम्म २९ स्थानबाट विस्फोटक सामग्री बरामद गरेको छ भने साढे चार सय विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी मुख्यालयले चुनाव बिथोल्न रणनीति विभिन्न चार वटा कारणमा आधारित रहेको विश्लेषण गरेको छ । चुनावमा कार्यकर्ताको पहिचान, अस्तित्व जोगाइराख्न, असामान्जस्य परिस्थिति सिर्जना गर्न र पछि फाइदा लिन चुनाव बिथोल्ने तत्वको योजना रहेको बुझाइ प्रहरीको छ ।

यी अवस्थामा गोली चल्न सक्छ- निर्वाचन बुथ कब्जाको परिस्थिति
– मतदान केन्द्रमा विस्फोट गराउनेविरुद्ध प्रतिकारको अवस्थामा
– धेरै धनजनको क्षति हुन सक्ने अवस्थामा
– सुरक्षाकर्मी नै असुरक्षित रहने अवस्थामा
– मतपेटिका लुट्न खोजेमा
– मतपेटिका बोकेको गाडीमा आगजनी गर्न खोजेमा

उच्च मनोबलमा खटिनु

सागर पण्डित

गृह मन्त्रालयले आइतबार मतदान हुने केही जिल्ला सुरक्षाका हिसाबले निकै संवेदनशील रहेको विश्लेषण गर्दै बुथ क्याप्चरजस्ता निर्वाचनविरोधी गतिविधि रोक्न २४ सै घन्टा अलर्ट रही उच्च मनोबलसाथ खटिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहले सम्भावित ‘बुथ क्याप्चर’लाई निस्तेज पार्न सबै मतदानस्थललाई सुरक्षा नियन्त्रणमा राखेको स्पष्ट पारेको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यकताअनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।‘निर्वाचन बिथोल्ने तथा शान्ति सुरक्षामाथि गम्भीर समस्या सिर्जना गर्ने जोसुकैलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएका छौं’, गृहसचिव सापकोटाले अन्नपूर्णस“ग भने ।

सबै जिल्लामा पर्याप्त सुरक्षाकर्मी परिचालित भएकाले निर्वाचन बिथोल्न जस्तोसुकै हर्कत भए पनि सुरक्षा निकायले नियन्त्रणमा लिन र त्यस्ता प्रयास निस्तेज पार्न सक्षम हुने सचिव सापकोटाले स्पष्ट पारे ।केही दिनअघि गृहमा भएको ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मतदान स्थलको सुरक्षा गर्न कठिन हुने र बुथ क्याप्चरसमेत हुन सक्ने रिपोर्टिङ भएको थियो ।

केही जिल्लामा केही दलका नेताले नै आपराधिक समूह प्रयोग गरी निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रयास गर्ने रिपोर्टिङसमेत गृहमा प्राप्त भएको छ । त्यसैले पनि गृहले निर्वाचन बिथोल्न र बुथ क्याम्पचर गर्न आपराधिक समूहसमेत प्रयोग हुन सक्ने भन्दै सबै जिल्लाका सुरक्षा निकायलाई त्यसतर्फ गम्भीर रहन ध्यानाकर्षण गराएको हो ।गृहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाको निर्वाचन सुरक्षाको तयारी पूरा भएको समेत स्पष्ट पारेको छ ।

प्रथम चरणमा निर्वाचन हुने जिल्लामा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी सुरक्षित रूपमा मतदान स्थलमा पुगिसकेको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए ।प्रवक्ता दुवाडीका अनुसार सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायले मतदान स्थलमा सुरक्षा निगरानी र नियन्त्रण राखिसकेका छन् ।

गृहले दुवै चरणको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मजबुत सुरक्षा व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।निर्वाचनको वातावरणमा अवरोध पु¥याउने गतिविधि नियन्त्रण गरी संलग्नउपर कारबाही भइरहेको समेत गृहले स्पष्ट पारेको छ । Annapurna Post

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!