मलेसिया रोजगारीका नाममा ठगी, आरोपित वेलकेयर हस्पिटललाई सफाई

काठमाडौं । मलेसिया जाने कामदारहरुलाई बायोमिडिकल मार्फत स्वास्थ्य परीक्षण गर्ने वेलकेयर हस्पिटललाई जिल्ला अदालत काठमाडौंले ठगी मुद्धामा सफाई दिएको छ।

न्यायाधिश मातृका आचार्यको एकल इजलास पश्चात् ठगीको प्रमाण नभेटिएपछि सफाइ दिएको अदालतले जनाएको छ। वेलकेयर अस्पतालका सञ्चालक कैलाश खड्का स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष समेत रहेका छन्।

योभन्दा ७ महिना अगाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयलाई सो विषयमा छानबिन गर्न अनुरोध गरेको थियो। गृहले छानबिन गरी बायोमेडिकल गर्ने ३९ वटा स्वास्थ्य संस्थाहरु माथि ठगीको मुद्धा लगाएको थियो। वेलकेयरसँग २ करोड २२ लाख रुपैयाँ बराबर रकम विगो दाबी गरिएको थियो।

गत जेठ २ गते मलेसियामा कामदार पठाउन रोक लगाउँदै श्रम मन्त्री विष्टले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३९ वटा स्वास्थ्य संस्थाहरुको एकाधिकारलाई खारेज गर्न लगाएका थिए। मन्त्रालयले मलेसिया कामदार पठाउँदा स्वास्थ्य परीक्षणका नाममा बढी रकम असुल्ने कम्पनीहरुको सिण्डिकेटको अन्त्य गर्ने भन्दै ३९ संस्था सहित २३७ कम्पनीले स्वास्थ्य परीक्षणको जिम्मेवारी पाउने निर्णण गरेको थियो।

त्यसबेला स्वास्थ्य मन्त्रालयले सेवा हेरी श्रमिकको स्वास्थ्य परीक्षण गरेबापत सेवाशुल्क ५ हजार ७ सय ८० रुपैयाँ तोकेको थियो। तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २५ मा बढीमा ६ महिना परीक्षण कालभन्दै बायोमेडिकल मार्फत कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति दिएका थिए।

सुरुमा स्वास्थ्य परीक्षण शुल्क ३ हजार र भिसा शुल्क ७ सय मात्रै भएतापनि त्यसपछि भने मलेसियाका लागि नेपाली कामदारहरुले स्वास्थ्य परीक्षणका नाममा १४ हजारभन्दा बढी रकम बुझाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!