मंसिर ११ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिडर म्यानचेस्टर सिटीले ८ अंकको अग्रता कामय गरेको छ । लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले हडर्ल्सफिल्ड टाउनलाई २–१ ले पराजित गर्दै लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी ८ कायम गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा सर्जिओ अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे । हडल्र्सफिल्टका लागि पहिलो हाफको इन्जुरी समयमा म्यानचेस्टर सिटीका ओटामेन्डीले उपहार गोल गरे ।
ओटामेन्डीको आत्मघाती गोलबाट हडर्ल्सफिल्डले पहिलो हाफमा १–० को अग्रता लियो । तर दोस्रो हाफमा म्यानचेस्टर सिटीले दुई गोल गरेर खेलको नतिजा आफ्नो पक्षमा पार्यो । ४७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अग्युरोले सिटीका लागि बराबरी गोल गरे ।
८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीले २–१ को जित निश्चित गर्यो । खेलको अन्तिममा हडर्ल्सफिल्डका भान ला पार्रा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भयो ।
प्रिमियर लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा पहिलो हाफमा पछि परेर पनि सिटीले खेल जितेको यो सन् १९९५ पछि पहिलो पटक हो ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १३ खेलबाट ३७ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २९ अंक छ । १५ अंक रहेको हडर्ल्सफिल्ड ११ औं स्थानमा छ । -Ujyaalo Online
प्रतिक्रिया दिनुहोस्