धादिङ, ११ मंसिर– धादिङमा आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपेटिका जिल्ला सदरमुकाम धादिङबेशी आइपुगेको छ ।
धादिङको दुई निर्वाचन क्षेत्रका २ सय ७५ मतदान केन्द्रबाट ८ सय २५ मतपेटिका जिल्ला निर्वाचन अधिकृतको कार्यलय धादिङमा आइसकेको मुख्य निर्वाचन कार्यलय धादिङका इश्वर सिंखडाले बताए । भौगोलिक रुपमा विकट रहेको उत्तरी क्षेत्रको मतदान केन्द्रहरुबाट मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको छ ।
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको सम्पूर्ण, खनियावास गाउँपालिकाको १ र २ वडा र गंगाजमुना गाउँपालिकाको १ र २ वडा गरी १७ वाटा मतदान केन्द्रमा रहेको ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत धादिङबेशी ल्याएको सिंखडाको भनाइ छ ।
सदरमुकामबाट नजिक र सवारी चल्ने स्थानका मतपेटिका भने आईतबार साँझ नै सदरमुकाम ल्याईएको थियो ।
यस अघि ३ निर्वाचन क्षेत्र रहेको धादिङ जिल्ला संघीय संरचनामा २ वटा निर्वाचन क्षेत्र मात्रै तोकिएको थियो । निर्वाचन क्षेत्र नंबर एकका कुल १ लाख १८ हजार १ सय ५० मतदाताहरु मध्य ७९ हजार ४ सय २३ ( ६७ दशमलव २४ प्रतिशत)ले मात्रै मतदान गरेका थिए ।
यस्तै निर्वाचन क्षेत्र नंबर दुइ नंबर क्षेत्रको विवरण भने आउन बाकि रहेको सिंखडाले जानकारी दिए । सो क्षेत्रमा मा १ लाख १५हजार ३ सय ५५ मतदाता रहेको भएपनि ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यलय धादिङको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्