देश नफर्केसम्म आन्दोलन जारी रहने

 


डिकेश लामा/ १३, मंसीर २०७४
बेलडाँगी/ नेपाली भाषी दक्षिण भूटानीहरु सन् १९९१ देखि जव देश निकालिए तव देखि देश फर्कने प्रयास र विभिन्न आन्दोलन शुरु भयो । हालसम्म केही भूटानी शरणार्थीहरुको संघ संस्था देश फर्कने अभियानमा कुनै न कुनै तवरबाट प्रयासरत रहेका छन् ।
दर्जनौं पार्टी र संघ संस्थाहरु देश फर्कन र फर्काउनका लागि खुले । कति बन्द पनि भए । तथापि नेपाली भाषी भूटानीहरुको संख्या न्यून हुँदै जाँदा पनि केही संघ संस्थाहरु भने भूटानी शरणार्थीहरुको देश फिर्ती नभएसम्म दिर्घकालीन समस्या समाधान हुँदैन भनेर दवावमुलक अभियानहरु गर्दै आएका छन् । तेस्रो मुलुकको ढोका बन्द भएसँगै स्वदेश फिर्तीको बाटो खुल्छ कि भन्ने उनीहरुमा आशा समेत बढेको छ । भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता तथा सह संयोजक सन्तविर घले शरणार्थीहरुको आफ्नो घर फर्कने नसैर्गिक अधिकार भएकोले यसमा जिम्मेवार निकायले सहयोग गर्नु पर्ने धारणा राख्नु हुन्छ ।
देश फर्काउनका लागि १७ चरणको वार्तासम्म पुगेर शरणार्थी शिविर खुदुनाबारीमा भूटान सहितको मन्त्री स्तरीय उच्च टोलीले सन् २००१ मार्च २६ तारिख देखि तत्कालिन शिविरमा रहेका १९६४ छाप्रामा रहेका १२५०० जनसंख्यामा छानविन समेत गर्यो । छानविनको क्रममा टोलीले २१ मे २००३ का दिन २ सय ९३ जना मात्र खाटी भूटानी भएको प्रेश रिलिज निकाले पछि विवाद भएको प्रमाणीकरण हालसम्म रोकिएको अवस्थामा छ । १४ बर्ष वितिसक्दा समेत न पुन प्रमाणिकरण नै भयो न छानविन टोलीको अत्तोपत्तो नै छ । यस्तो अवस्थामा पनि जसरी भए पनि भूटानीहरुले आफ्नो देश फर्कन पाउनु पर्छ भनेर विभिन्न अभियान भने अझै पनि रोकिएका छैनन् । केही समय अघि शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयोगको केन्द्रिय कार्यालय जेनेभामा स्वदेश फिर्तीका लागि तत्काल शुरु गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनु भएका राष्ट्रिय मेलमिलाप समिति भूटानका संयोजक कृष्णविर तामाङका अनुसार हाल रहेको ९ हजार हाराहारीका जनसंख्यामा अहिले पनि ५ हजार भन्दा धेरै भूटानीहरु आफ्नो देश फर्कन तयार रहेको बताउनु भयो ।

यता भूटान स्वतन्त्र जन मञ्चका महासचीव डी.वी. सुब्बाका अनुसार साँच्चै अहिले पनि स्वदेश फिर्तीका ढोका खुल्ला गरिने हो भने धेरै पूनर्वास भएका भूटानीहरु समेत भूटान फर्कन तयार रहेको दावी गर्नु भयो ।

देश फर्कने अभियानमा नरपति ढुङ्गेल, पूर्ण बहादुर तामाङ र शहबहादुर शिवाले ज्यान गुमाएको पनि १० बर्ष वितिसकेको छ । दशक पार गरिसक्दा पनि भूटानी शरणार्थीहरुको घर फिर्ती भने न प्रकृया थालिएको छ न त जिम्मेवार निकायबाट सुनवाई नै भएको छ । सन् २००६ मा युएनएचसीआरले ल्याएको स्वदेश फिर्ती , पुनर्वास र स्थानीयकरणका ३ विकल्प मध्ये पुनर्वास प्रकृयाबाट १ लाख ५ हजार भन्दा बढी भूटानी शरणार्थीहरु विश्वका ८ मुलुकमा पुगिसकेका छन् । तर स्वदेश फिर्ती भनेर शरणार्थी शिविरमा रहेका भूटानीहरुको मानव अधिकार प्राप्तीमा जिम्मेवार निकाय समेत बोलेका कुरा कार्यान्वयनमा आउन सकेका छैनन् । गएको कार्तिक २९ गते यूएनएचसीआरको दमक कार्यालयमा जिम्मेवार पदाधिकारी सहितको छलफल कार्यक्रममा तेस्रो मुलुक रोक्नु भनेको स्वदेश फिर्तीको लागि ढोका खोलिन सक्ने संभवना रहेको उच्च पदाधिकारीले दावी गरेको छलफलमा सहभागी शिविर व्यवस्थापन समितिका सचिब टिकाराम रसाइलीले बताउनु भयो ।

यता मानव अधिकारमा वकालत गर्ने विश्वका उच्च अन्तराष्ट्रिय निकाय, सँयुक्त राष्ट्र सघ र अन्तराष्ट्रिय विनियम र अनुबन्दका हस्ती राष्ट्र प्रति भूटानीहरुको घर फिर्ती सम्बन्धीको मानव अधिकार छ कि छैन भनेर प्रश्न गरिरहेका छन् । विश्व मानव अधिकार घोषणा पत्रको सम्मान गर्न र गराउन सँय्ुक्त राष्ट्र संघका सदस्य राष्ट्रले नै अस्वीकार गर्नुले अधिकार र अन्तराष्ट्रिय विनियमहरु कितावमा मात्र सिमित बन्न पुगेको मानव अधिकारकर्मीहरु बताउँछन् । होइन भने सन् १९७१ मा अर्थात ५४ बर्ष अगाडि सँयुक्त राष्ट्र संघको सदस्य बनेको भूटानले किन मानव अधिकारको सम्मान गर्दैन ? विश्व व्यापी मानव अधिकार घोषणा पत्रमा सहीछाप गरेका राष्ट्रहरुले किन दवाव दिँदैन भूटानलाई ? २५ बर्ष देखि बारम्बार भूटानी नागरिकहरु प्रश्न गरिरहेका छन् र हरेक दिन उत्तरको अपेक्षा गरिहेका छन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!