भोलीको संसद बैठक पनि कांग्रेसले अवराेध गर्ने

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने अडान लिएकाे छ ।

सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन गराउने विषयमा छलफल गर्न बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो ।

सत्तापक्षले बलजफ्ती ढंगले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

उहाँले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भीर विषय समावेश गरिएको विधेयक जबर्जस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको पनि स्पष्ट पार्नुभयो । प्रमुख सचेतक खाँडले विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराउनु भयो । सो विधेयकमा गम्भीर राष्ट्रिय बहसको आवश्यक्ता रहेको प्रमुख सचेतक खाँडको तर्क छ ।

डा. गोविन्द केसीको कतिपय माग विपरीत सत्तापक्षले त्याे विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नुपरेको कांग्रेसको भनाइ छ ।

बिहीबारबाट प्रतिधिसनिभालाई फेरि अगाडि बढाउन सभामुख महराले गर्नुभएको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

गएकाे माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधकाबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!