दुबई जाँदा कर्मचारीले विमानस्थलमा घुसको डिमाण्ड गरेपछि !

सरोज खड्का

कुरा गत आश्विन ११ गतेको हो । म केही दिनका लागि खाडीमुलुक दुबईको भ्रमणमा निस्कँदै थिएँ । बेलुका १०ः४५ को उडान समय थियो । एअर अरेबियाको टिकट थियो ।

बेलुका ६ बजेतिर खाना खाएर जीवनसंगीनीलाई दशैंको फूलपातीको दिन घर फर्किने बाचा गरेर म कोठाबाट निस्किएँ ।

एक महिनाका लागि हिँडेकाले खासै विदेशिएको जस्तो अनुभव पनि भएन । मेरो भाइ मात्रै मलाई पुर्‍याउन विमास्थलसम्म आए । त्यस्तै बेलुकीको ७ः ३० बजे भाइसँग विदा भएर म विमानस्थल प्रवेश गरें ।

पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको भएर पनि होला, म अलि उत्साहित पनि थिएँ । बोडिङ पास, लगेज जाँचजस्ता प्रकिया पूरा गरेर म इमिग्रेसनतर्फ लम्किएँ ।

त्यहाँ काम गर्न एवं भ्रमणमा जाने तथा अध्ययनका लागि विदेश जाने यात्रुका लागि छुटुटाछुट्टै इमिग्रेसन अधिकृतहरु थिए । म भ्रमणमा जाने भएकाले मेरो सम्वन्धित लाइनमा उभिएँ ।

पेशाले म फोटोग्राफर । नेपालका राट्रिय स्तरको टीभी च्यानलबाट सुरु भएको मेरो पेशा विभिन्न एनजीओ, आइएनजीओ तथा मिडिया हाउस हुँदै आफ्नै कार्यालय स्थापना गरेर व्यवसाय चलाउँदै थिएँ । मेरो यही व्यवसायमा केही गर्ने, नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने योजनामा थिएँ म । हाम्रो देशका लाखौं युवा दैनिक विदेशिइरहँदा देशमै केही गर्ने योजना बनाउँदै थिएँ । त्यसबेला दशैं नजिकिँदै थियो, कामको पनि खासै चाप थिएन । यही मौकाको सदुपयोग गर्ने योजना बनाएर दुबईस्थित एक फोटोग्राफी इन्स्टीच्युटमा केही एडभान्स तालिम लिने र त्यहाँ भएको नयाँ प्रविधिको आफ्नो पहुँचले भ्याएसम्म नेपालमा प्रयोग गर्ने विचार गरेर दरखास्त दिएको थिएँ । नभन्दै दरखास्त दिएको केही दिनमा अन्तरवार्ता लिएपछि निःशुल्क तालिमको प्रायोजन लेटर आएको थियो । त्यसबाट उत्साहित भएर दुबईमा रहेका साथीको सहयोगमा तीन महिनाको भिसा निकालेर म दुबई जान तयार भएको थिएँ ।

लाइनमा बसेका मभन्दा अगाडिका व्यक्ति छिरेपछि मेरो पालो आयो । इमिग्रेसन अधिकृतले मागेका सम्पूर्ण कागजातहरु (राहदानी, भिसाको प्रतिलिपि, दुबईमा रहँदा बस्नका लागि बुकिङ गरेको होटलको प्रमाण र मैले दुबईमा रहँदा खर्चका लागि लक्ष्मी बैङकबाट साटेर बोकेको २ हजार अमेरिकन डलर अनि तालिम गर्ने इन्टिच्युटको भर्ना र स्वीकृति पेपर देखाएँ ।

कर्मचारीले मेरो पेसा व्यवसाय, परिवार अनि दुबई जानको कारण आदि प्रश्नहरु गरे । मैले पनि त्यही अनुसार उत्तरहरु दिएँ । ती कर्मचारीले केही समयपछी मलाई एकछिन बेन्चमा बस्न अग्रह गरे । म नजिकै रहेको बेञ्चमा बसें ।

सबै यात्रुहरु विनाकुनै रोकावट इमिग्रेसन पास भइरहेका थिए ।

त्यस्तै १० मिनेटपछि मलाई बोलाएर तपाईका कागजातहरु आधिकारिक नभएको र अर्को माथिल्लो तहका अधिकृत आएर छानविन गर्ने जानकारी गराइयो । मैले विनाकुनै संकोच स्वीकार गरें ।

केहीछिनको पर्खाइपछि एकजना सर आउनुभयो र म बसेकै बेञ्चमा बस्नुभयो । र, तपाई जान मिल्दैन भन्नुभयो । कुन कागजात के कारणले आधिकारिक छैन भनेर मैले प्रश्न गरें । किनकि त्यो मेरो अधिकार पनि थियो ।

एकछिन बस्दै गर्न इसारा गर्दै अर्को हाकिमलाई सोधेर आउँछु भन्दै ती कर्मचारी भित्र छिरे । लगभग १५ मिनेटपछि फेरि आएर उही जान नमिल्ने र यहीँबाट फर्कन आदेश दिए ।

त्यतिञ्जेल मैले सोच्नै सकेको थिइनँ कि म के गरुँ ? फर्किन त फर्कौंला, तर मेरो टिकटको पैसा फर्किँदैन । म त फर्कौंला, तर म जे सिक्न हिँडेको थिएँ, त्यो त म नेपालमा सिक्न पाउदिनँ । म त फर्काैंउला, तर मेरो सपना त पूरा हुँदैन ।

कागजात नै पूरा नभएर फर्काउन लागिएको मलाई कुन कागजात नपुगेर वा नमिलेर फर्किएँ भन्ने थाहा पाउन मन लाग्यो । ताकि फेरि दुबई जानुपर्दा विमानस्थलबाटै फर्किनु नपरोस् । यही सोच्दै म फेरि अधिकृतको छेउमा गएँ ।

मलाई कुन कारणले फर्काउन लागिएको हो, भनिदिनुस्, ता कि पछि फेरि मैले वा मेरा कुनै चिनेजानेकाहरुले विदेश जाँदा फर्किनु नपरोस् ।

अधिकृतले बडो सरल भाषामा उत्तर दिए– भन्न मिल्दैन ।

यो कारणले हो भनेर भनिदिएको भए शायद म सारसर घर फर्किन्थें होला । तर, उनको त्यो जवाफ मलाई चित्त बुझेन । सरासर मलाई अन्याय भएको महसुस भयो । अलिअलि रीस पनि उठ्यो । र, मैले सही जवाफ नपाएसम्म एयरपोर्टबाट नफर्किने अडान लिएँ ।

उनले फेरि अघि आएका अधिकृतलाई पुकारे । एकछिन बस्दै गर्न भनियो । म फेरि बेञ्चमा बसें ।

तर, १०/१५ मिनेट बितिसक्दा पनि कोही नआएपछि म फेरि कर्मचारी छेउ गएँ र सोधें । उनले हाकिम साहेब व्यस्त हुनुभएकाले समय लाग्ने बताए । म उनी आउने प्रतिक्षामा बसें । त्यो बेलासम्म ३५/४० मिनेट बितिसकेको थियो ।

उडानको समय लगभग १ घन्टा बाँकी हुँदा सर (अधिकृत) मेरो प्रायोजक र इन्स्टिच्युट गलत भएको भन्दै आइपुगे । मलाई राम्रोसँग थाहा थियो कि त्यो गलत होइन । मैले अन्तरवार्ता र परीक्षाको सामना गरेर निःशुल्क तालिमको अवसर पाएको थिएँ ।

त्यसैले मैले कर्मचारीको कुरामा प्रतिवाद गरें । तर, अधिकृत कुनै पनि हालतमा मेरो कुरा मान्न तयार भएनन् । के आधारमा गलत सावित गर्नुभयो भनेर मैले सोधेपछि उनी केही अक्मकिए र भने– इन्टिच्युटबाट फोन गर्न लगाउनु, हामी सोध्छौं । सही रहेछ भने जानुस भने ।

तर त्यतिबेला रातिको ९ः४० भएको थियो । दुबईमा करिब ७: ४५ । मैले फोन गरें । तर, फोन उठेन । त्यो रातको समयमा फोन उठाउने मान्छे हुँदैन भन्ने शायद उनलाई पनि राम्रोसँग थाहा थियो ।

केही समयको वादविवादपछि उनले भने अलिकति खर्च गर्नुभयो भने काम बन्छ ।

बल्ल मलाई थाहा भयो खासमा मेरो गल्ती के रहेछ ! काम बन्नका लागि उनले मसँग सिधै ४० हजार माग गरे । र, ४० हजार नदिए त्यहीँबाट फर्किनुपर्ने बताए । म ४० हजार दिन तयार भएँ । तर, मलाई इमिग्रेसनले रकम लिएको रसिद दिनुपर्ने माग राखेँ ।

त्यो रकम वैधानिक नभएको र विभिन्न अधिकृतहरुलाई अलिअलि बाँड्नुपर्ने अनि मलाई जान अनुमति मिल्ने कुरा बताइयो । मलाई यस्तो अप्ठ्यारोमा पारियो कि मेरो उडानको समय आउनै लागेको अवस्थामा कि त मैले जहाजको टिकटको पैसा माया मार्नुपर्‍यो, कि त ४० हजार कर्मचारीलाई घुस दिएर जानुपर्‍यो ।

मलाई के गरौं, के नगरौं भयो । र, अन्त्यमा केही रकम दिएर आफ्नो उद्देश्य पूरा गर्ने निर्णय गरें र रकम दिन तयार भएँ । तर, मसँग मात्र ३० हजार रुपैयाँ नगद थियो र त्यतिमै कुरा मिलाउन अनुरोध गरें । उनले भनेजति नै चाहिने र मैले खर्चका लागि बोकेको अमेरिकन डलरबाट भए पनि दिनुपर्ने बताए ।

मैले मेरो दुबईको बसाइका क्रममा खान र बस्नका लागि बोकेको पैसा नै (जुन रकम नेपमल सरकारले बिदेश भ्रमणमा जानेले बोक्नैपर्ने नियम लागु गरेको छ) ती कर्मचारीले मागेपछि मैले उनीहलाई पैसा पनि नदिने र म दुबई पनि नजाने निर्णय फर्किने विचार गरें ।

तर, फर्किने बेलामा मैले उनीहरुलाई डर देखाउने सोच बनाएर म टीभीमा काम गर्ने क्यामेरामेन हो, तिमीहरुले घुस मागेको सबै कुरा मेरो हिडन क्यामेरामा रेकर्ड भएको छ र फर्किएर टीभीमा सार्वजनिक गरिदिन्छु भनें ।

मेरो कुरा सुनेपछि उनीहरु थोरै डराएर मुखामुख गर्दै थिए, त्यहीबेला दुबईको इन्टिच्युटको व्यवस्थापकको फोन आयो । मैले विमानस्थलमा भएका सबैकुरा उसलाई भनें र अधिकृतसँग कुरा गर्न भनी उनलाई फोन दिएँ । तर, उनले कुरा गर्न मानेनन् ।

त्यसपछि उनले मलाई पैसा नलिई इमिग्रेसन पास गराए । उडानको समय भइसकेकाले म भित्र गएर प्रतीक्षा गर्नुपरेन र सरासर जहाजतर्फ लागें ।

जहाजको सीटमा बसिकसेपछि सोच्न थालें– सबैलाई जान दिइयो, तर मलाईमात्रै किन रोकियो ? मलाई मात्रै किन पैसा मागियो ? अनि मेरो कागजात गलत थियो भने मलाई किन जान दिइयो ?

सरकारी कर्मचारीले घुस माग्छन् भन्ने सुनेको मात्रै थिएँ । तर, विश्वास लागेको थिएन । तर, त्यस दिन आफैंसँग मोगेपछि मलाई ती अधिकृतको अनुहार सम्झेर घृणा लागेर आयो ।

अझैपनि मलाई पूरा विश्वास छ, सबै अधिकृतहरु घुसखोर छैनन् । ती त केही उदाहरण हुन्, जसले गर्दा हाम्रो देश धेरै भ्रस्टाचार हुने देशहरुमध्ये एशियाको तेस्रो स्थानमा परेको छ ।

र, विमानस्थलजस्तो संवेदनशील स्थानमा बसेर यस्तो कार्य गर्ने ती कर्मचारीहरुलाई कार्वाही हुन्छ भन्ने पनि हाम्रो सरकारप्रति मलाई पूर्ण विश्वास छ ।

अर्को कथा

मसँगैको सीटमा तराईमूलका एकजना ४० कटेका ब्यक्ति थिए । झोलाबाट घरमै बनाएर ल्याएको खाजाको पोको निकालेर फुकाउँदै मलाई सोधे कहाँ जान लागेको ? मैले उत्तर दिँदै उनलाई पनि सोधें । उनी कतार हिँडेका रहेछन् ।

मलाई विमानस्थलमा रोकेको उनले पनि देखेका रहेछन् । मलाई रोक्नुको कारण लगायत सम्पूर्ण कुरा उनलाई सुनाएँ । मलाई छाँगाबाट खसेजस्तो त त्यतिबेला भयो, जब उनले उनी आएको प्रकृया सुनाए ।

कामको खोजीमा कतार हिँडेका उनीसँग दुबईको भ्रमण भिसा थियो । ५ दिनपछि फिर्ता आउने टिकट बोकेका उनीसँगै अरु १३ जना साथीहरु पनि रहेछन् ।

चार जना कतार र १० जना दुबई हिँडेका उनीहरु सबैसँग एक महिनाको दुबईको भिजिट भिसा थियो । दुबई जानेहरुलाई त्यहाँ पुगेपछि काम लगाइदिने र कतार जानेहरुलाई दुबईको विमानस्थलमा नै कतारको भिसा र टिकट बोकेर अर्को मान्छे बसेको बताइएको रहेछ ।

त्यहाँ गएर के काम गर्ने, कति तलब पाइन्छ, काम गर्न जानेको हुनुपर्छ कि पर्दैन अनि मुख्य कुरा भिजिट भिसामा गएर काम गर्न पाइन्छ कि पाइँदैन भन्नेबारे उनीहरु अनविज्ञ थिए ।

कुनै खास उद्देश्य नभएका र अंग्रेजी त परै जाओेस, राम्रोसँग नेपाली पनि बोल्न नजान्ने उनीहरुलाई भिजिटमा हिँडेको भन्दा पत्याउने विमानस्थलका अधिकृतले मलाई किन पत्याएनन् ? अचम्म लाग्यो ।

उनले भने अनुसार २ लाख २० हजार नेपाली रुपैयाँ प्रतिव्यक्ति दलाललाई बुझाएर हिँडेका उनीहरुलाई विमानस्थलमा कहीँ पनि रोकतोक भएन । दलालले भने अनुसार सबैतिर उनीहरुको सेटीङ हुन्छ रे । विमानस्थलमा मात्र ६० हजार बुझाउनुपर्छ रे । किन र कसलाई दिनुपर्ने हो, त्यो उनीहरुलाई थाहा भएन ।

केही नया कुराको ज्ञान बोकेर देश फर्किने र आफ्नो व्यवसाय निरन्तर गर्ने सोच भएका मजस्तालाई रोकेर अन्धाधुन्ध दलालको भरमा परेर पैसा टिप्न पाइन्छ भन्दै हिँडेकालाई २०÷२५ हजार घुस खाएर खाडीमा पठाउने त्यस्ता अधिकृतलाई त फाइदा होला, तर ती व्यक्तिले २ लाख २० हजार खर्च गरेर हिँडेका थिए, उनको अवस्था के होला ? म सोचमग्न भएँ ।

जोसँग कुनै सीप छैन, उसले विदेशमा के काम पाए होलान् ? दलाल र विमानस्थलका कर्मचारीलाई तिरेको पैसाको साँवा ब्याज तिर्न सके कि सकेनन् होला ?

मेरो दिमागले ती अधिकृतको तस्वीर भुल्न सकेन । उनले गरेको व्यवहार भुल्न सकिनँ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!