भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारू) बराबर अनुदान सहयोग दिने भएको छ।

शुक्रबार भारतका अन्तरिम वित्तमन्त्री पियूस गोयलले सार्वजनिक गरेको आर्थिक वर्ष २०१९-२० को युनियन बजेटमार्फत नेपाललाई ७ अर्ब भारू सहयोगको अनुमान पेश गरेका हुन्।

विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा यो रकम उल्लेख छ। बजेटमार्फत उसले पाकिस्तानबाहेकका दक्षिण एसियाली छ मुलुकसहित म्यानमार, मोरिसस, मंगोलियासहित अफ्रिकी, युरेसियन, ल्याटिन अमेरिकी क्षेत्रमा सहयोग गर्ने भएको छ। गत वर्ष झैं विभिन्न आर्थिक तथा क्षेत्रीय संगठनलाई दिइने अनुदान-ऋण सहयोग पनि बजेटमा छ।

दक्षिण एसियाली मुलुकलाई दिँदै आएको अनुदानमा गत वर्षको तुलनामा खास हेरफेर छैन। सबैभन्दा बढी सहयोग भुटानलाई छ। यो वर्ष भुटानका लागि २१ अर्ब १५ करोड भारू सहयोग गर्ने भएको छ। ५ अर्ब भारू ऋण गरी जम्मा २६ अर्ब १५ करोड भारु सहयोगको घोषणा बजेटमा गरिएको छ। भारतले भुटान र माल्दिभ्सलाई मात्रै बजेटमार्फत ऋण सहयोगको घोषणा गरेको छ।

भुटानले जलविद्युत परियोजना निर्माण गर्न धेरै ऋण भारतसँग लिँदै आएको छ। भुटानको कुल वैदेशिक ऋणमध्ये ७५ प्रतिशतभन्दा बढी जलविद्युत आयोजना निर्माणमा लिइएको हो। विश्व बैंकका अनुसार जलविद्युत आयोजनामध्ये ९० प्रतिशतभन्दा बढी ऋण भारतकै छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!