‘दलालको मासु खाँदा पनि रीस मर्दैन होला’, ओमानबाट फर्केकी साङ्मो

काठमाडौं, मंसिर १४ – दुवई भनेर ओमान पुर्‍याइएकी सिन्धुपाल्चोककी साङ्मो लामा घर फर्किनुभएको छ । ओमान पुगेर समस्यामा परेकी साङमोका बारेमा उज्यालोमा खबर प्रकाशित भएको सात महिनापछि साङ्मो नेपाल फर्किनुभएको हो ।

सिन्धुपाल्चोकको गोल्चेकी साङ्मो लामा १८ वर्षकी हुँदा आफू भन्दा ५ वर्ष कान्छा सुशील लामासँग विहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि उहाँका श्रीमान् पनि ।

बिहेपछि व्यवहार चलाउन १८ वर्षकी साङ्मोलाई त समस्या थियो नै त्यो भन्दा ५ वर्ष कान्छा सुशीललाई झनै गाह्रो थियो । त्यसैले त्यतिबेलै उहाँहरुले विदेश जाने निधो गर्नुभयो ।

श्रीमानको उमेर पुगेको थिएन । त्यसैले पहिले स्याङ्मो नै विदेश जानुपर्ने भयो । उहाँ २०७० सालमा एजेण्ट मार्फत मलेसिया जानुभयो । साङ्मोको २ वर्षको करार अवधि सकिनु पनि, यता घरमा ससुराको निधन भयो । त्यसैले २०७२ असारमा साङ्मो घर फर्किनुभयो ।

नेपाल फर्किएर पनि घरव्यवहार चल्दैनथ्यो । कमाउने कुनै माध्यम थिएन । त्यसैले उहाँले फेरि विदेश नै जाने तयारीमा हुनुहुन्थ्यो । उहाँलाई दिदीकी आमाजुले जाने भए आफ्नो श्रीमानलाई पठाउने व्यक्तिलाई भनिदिने बताइन् । साङ्मोले पनि आफन्तले चिनिरहेको भएकाले अप्ठ्यारो नहोला भन्ने सोचेर हुन्छ भन्नुभयो ।

उहाँलाई दुवई पठाउने एजेण्ट हुन सिन्धुपाल्चोकका दावा लामा । साङ्मोले एजेण्टलाई न चिन्नुभएको थियो न त भेट्नुभएको नै थियो । आमाजुले चिनेको भनेपछि साङमोले एजेण्टले भने अनुसार सबै प्रक्रिया पुरा गर्नुभयो । कात्तिक ८ गते श्रम गर्न आउँदा मात्रै साङमोले दावालाई देख्नुभयो तर उहाँसँग हुञ्जेल दावाले न चश्मा खोले न त मुखमा लगाएको माक्स नै । त्यसैले उहाँलाई दावाको अनुहार याद छैन ।

मलेसिया जाँदा जति अन्जान हुनुहुन्थ्यो दुवई जाने बेलामा वैदेशिक रोजगारीका बारेमा त्यति नै धेरै कुरा बुझिसक्नुभएको थियो । उहाँले आफूलाई पठाउने लागेको कामबारे बुझ्नुभयो ।

कम्पनीमा भनेका दावाले उहाँलाई घरेलु कामदारमा पठाउन लागेको कुरा उहाँले श्रम गर्ने बेलामा थाहा पाउनुभयो । त्यति मात्रै होइन उहाँलाई सुरुमा भारतको बाटो भएर पठाउन लागेका रहेछन् । तर उहाँले आफू नेपालको विमास्थल नै प्रयोग गरेर मात्रै जाने अडान लिएपछि काठमाडौंबाटै उडाए ।

कम्पनीमा भनेर घरेलु कामदारमा पठाएका एजेण्टले झुट लुकाउन एजेण्टले दुई वटा सम्झौता पत्र दियो । ‘एउटा विमानस्थलमा च्यात्न लगायो, अर्को चाहिँ उता देखाउनु भनेर पठायो,’ साङमो भन्नुुहुन्छ ।

साङमोले कात्तिक ९ गते दुवई पुगेर दाइ सुब्बा लामालाई दुई दिनमा काम गर्न थालेपछि फोन गर्छु भनेर फोन गर्नुभयो । दुई दिन भनेकी साङमोले ७ दिनपछि फोन मात्रै फोन गर्न पाउनुभयो तर खबर साङमोले भने जस्तो आएन ।

उहाँलाई दुवई पुगेको हप्ता दिनमा त्यहीबाट ओमान लाने तयारी भइसकेको थियो । ‘त्यहाँ पुर्‍याएपछि बेचिँदोरहेछ,’ साङमो भन्नुहुन्छ । दुवई पुगेको ९ दिनमा उहाँलाई ओमान पु¥याए । ओमान पुगेपछि साङमो समस्यामा पर्नुभयो । तीन छोराछोरी सहित पाँच जनाको परिवार भएको घरमा काम गर्न पुगेकी साङमोलाई साहुले केहीदिनमै कुट्न थालिन् ।

‘बिहानदेखि बेलुकासम्म काम गर्नुपर्थ्याे तर खाने बेलामा उनीहरुको खान नपाइने । उनीहरुको खान्छ कि भनेर साहुनी जहिले पछिपछि हुन्थी,’ साङमो भन्नुहुन्छ ‘हामीले तँलाई तलब दिने भनेर ल्याएको हो त्यसैले हाम्रो घरको खान पाउँदिनस् आफ्नै पैसाले खा भन्थी ।’

साहुनीले गर्ने व्यवहार सहँदै बसेकी साङमोलाई साहुको व्यवहारले भने सहिनसक्नु भयो । उनले साङमो माथि आँखा लगाए । काम नभएको बेलामा पनि बोलाउने अनि राती कोठामा आउन खोजेपछि उहाँले साहुनीलाई त्यसबारे भन्नुभयो ।

उहाँको छेउमा साहुनीले श्रीमानलाई कराए जस्तो त गरिन् तर साङमोलाई त्यो परिवारसँग विश्वास हराइसकेको थियो । त्यसैले घरमा फोन गर्न खोज्नुभयो । फोन गरिस् भने मारेर प्लाष्टिकमा पोको पारेर फ्यालिदिने धम्की आएपछि उहाँको केही चलेन । ‘मान्छे नै अट्ने प्लाष्टिक हुँदो रैछ त्यही देखाएर धम्क्याउँथी,’ साङमोले भन्नुभयो ।

त्यही घरका छोराछोरीलाई स्कूल पुर्‍याउने बंगलादेशका ड्राइभरले फोन दिएपछि उहाँले दाइलाई फोन गरेर आफूलाई उद्धार गर्न भन्नुभयो । दाइ सुब्बा लामालाई बहिनीलाई पठाउने एजेण्टबारे केही थाहा थिएन । केही दिनमा एजेण्टको नम्बर पत्ता लगाएर उहाँले एजेण्टलाई फोन गरिरहनुभयो । हुन्छ हुन्छ भन्दै महिना दिन भन्दा पनि धेरै झुलाएपछि सुब्बाले दूतावासको नम्बर माग्नुभयो एजेण्टसँगै ।

उनले दिएको नम्बरमा फोन गर्दा २ लाख ४० हजार रुपैयाँ दिए फर्काइदिने बताए । त्यतिबेलै सुब्बालाई दूतावासका कर्मचारीले त यसरी पैसा नमाग्नुपर्ने भन्ने लागेको थियो । ‘अहिले बुझ्दा त्यो नम्बर नै दूतावासको होइन रैछ,’ सुब्बा भन्नुहुन्छ ‘त्यही दलालको त्यहाँ भएको मान्छे रैछ कि क्या हो ।’

एजेण्टले दूतावासको भनेर दिएको नम्बरबाट पनि पार नलागेपछि सुब्बाले साहुनीको नम्बर मागेर आफैं फोन गर्नुभयो । साहुनीले सुब्बालाई पनि साङमो लाई दिने धम्की दिइन् । आफूले दिने तलब अनि सुविधा दिइरहेको भन्दै फोन नगर्न धम्की दिइन् । ‘फोन गरेर टेन्सन दिस भने मारदिन्छु भनेकी थिई,’ सुब्बाले भन्नुभयो ।

आफ्नो मात्रै प्रयासले बहिनीलाई उद्धार गर्न नसकेपछि सुब्बा लामा उद्धार गरिदिन आग्रह गर्दै सिन्धुपाल्चोकको सूचना केन्द्रमा पुग्नुभयो । सूचना केन्द्र मार्फत उज्यालोमा प्रकाशित भएको खबर दाइले फेसबुकमा राखेपछि ओमानमै रहेकी सिन्धुपाल्चोककी माया लामाले देख्नुभयो ।

उहाँले साङ्मोका बारेमा पत्ता लगाउनुभयो । तर उद्धार गर्नु फलामको चिउरा चपाए जस्तै गाह्रो थियो । त्यसैले उहाँले प्रहरीमार्फत साङ्मोको अवस्थाबारे पत्ता लगाउनुभयो। साङमोले मायासँग कुरा गर्नुभयो । ‘त्यो दिदीले फोन गरेर अब तिमी त्यहाँबाट भाग्नुपर्छ त्यसका लागि म सहयोग गर्छु भन्नुभयो,’ साङमो भन्नुहुन्छ ।

योजना अनुसार भाग्न सके ज्यान बच्थ्यो कि भन्ने आशामा रहेकी साङमोलाई यदी साहुसाहुनीले थाहा पाए भनेर बाँचेर नेपाल फर्किन पाउँदिन भन्ने डर पनि त्यतिकै थियो । ‘र पनि मर्नु भन्दा बौलाउनु जाति भन्छन् नी त्यही सोचेर आँट गरें,’ साङमो राती १२ बजेतिर त्यो घरबाट भाग्नुभयो ।

 

घरको केही पर माया लामाले भने झैं उहाँलाई लिन गाडी तयार थियो । त्यही गाडीमा चढेर उहाँ ओमानमा रहेको नेपाली दूतावासमा पुग्नुभयो । त्यतिबेला उहाँलाई माया लामा आफ्नो जीवनमा भगवान भएर आए जस्तै लाग्यो । ‘अहिले पनि म माया दिदीलाई भगवान नै मान्छु ।’ साङमोको अनुहारमा त्यतिबेलाको खुसी अहिले पनि देखियो ।

यदि उद्धारमा केही समय ढिलो भएको भए आफू बाँचेर फर्किने थिइन भन्ने लाग्छ साङ्मोलाई । ‘अलि दिनमा त उनीहरुले मैले बंगाली ड्राइभरको फोनबाट फोन गरेको अनि बाहिर मैले फोन गरेर सुनाएको कुरा थाहा पाइहाल्थे नि,’ साङमोले भन्नुभयो ।

उहाँ घर फर्किएको एक महिना भन्दा पनि धेरै भइसक्यो । तर अझै उहाँले आफूलाई पठाउने एजेण्ट दावा लामालाई भेट्न सक्नुभएको छैन । ‘मैले आफैं त्यो मान्छेलाई देखेको छैन कहाँ गएर खोजौं,’ एजेण्ट भेट्न नसक्दाको पीडासँगै साङमोले आक्रोश पोख्नुभयो, ‘त्यसको मासु एक किलो खाँदा पनि रिस मर्दैन होला ।’

मोह पौडेेल/उज्यालो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!