वीरगन्जबाट हराएका बालक दिल्लीमा..कसरी पुगे ?

पर्सा — वीरगन्ज घर बताउने एक बालक भारतको राजधानी दिल्लीमा फेला परेका छन् । आफ्नो नाम भोलामहादेव पटेल बताउने करिब ७ वर्षीय बालक दिल्लीस्थित महिला बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालको शाखामा आइतबारदेखि आश्रित छन् ।

केआई नेपाल वीरगन्ज शाखा प्रमुख तारा सापकोटाका अनुसार केआई नेपाल दिल्ली शाखा प्रमुख नवीन जोशीले शाखामा ती बालकलाई हाल आश्रय दिएका छन् । दिल्ली प्रहरीले ती बालकलाई आइतबार त्यहाँस्थित रेल्वे स्टेसनमा बेवारिसे अवस्थामा फेला पारेपछि जोशीलाई सम्पर्क गरेका थिए ।

त्यसपछि जोशीले ती बालकबारे सापकोटालाई सूचना दिएका हुन् । बालकले बुवाको नाम सुरज र आमाको नाम संगीता बताएका छन् । बालकले आफू बाबा बोर्डिङ स्कुलमा पढ्ने र आफ्ना शिक्षक शिक्षिकाको नाम क्रमश: दीपक र रानी बताएका छन् ।

दाजुको नाम धिरज र भाइको नाम गोलु बताउने उनले कहिले आफ्नो घर वीरगन्ज १२ पानगल्ली, कहिले रानिघाट, कहिले बनारसी चोक बताएका छन् । अत्यधिक रोइकराइ गरिरहेका उनी त्यहाँ कसरी पुगे भन्ने बारे अझै यकिन हुन सकेको छैन ।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट दिल्लीसम्म सोझै चल्ने सत्याग्रह एक्सप्रेस रेलबाट उनी त्यहाँ पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी आफैं रेलमा चढे वा कसैले उनलाई फकाएर लग्यो भनी खुल्न सकिरहेको छैन । प्रहरीको सहयोगबाट बालकका अभिभावक तथा परिवारजन पत्ता लगाउने प्रयास जारी रहेको सापकोटाले बताइन् । अवस्थामा फेला परेका बालक ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!