जोसुकै परुन्, मन्त्रीमाथि स्टेप चाल्नुपर्ने हुन्छ :प्रचण्ड

१९ भदौ, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड अचेल मिडियामा खासै बोल्दैनन् । मंगलबार खुमलटारमा सञ्चारकर्मीसँग प्रस्तुत भएका प्रचण्डले भने- ‘मैले अहिले धेरै बोल्ने परिस्थिति छैन जस्तो लाग्छ ।’

तर, आफूले धेरै बोल्न मिल्दैन भन्दाभन्दै पनि प्रचण्डले केही कुराहरु चाहिँ खुलासा गरे । सरकारको कामलाई लिएर जनतामा निराशा देखिएको स्वीकार गर्दै उनले भने- ‘अब समस्या समाधानका लागि केही ठोस पहल अनिवार्य छ । यत्तिकै चल्छ कि भनेर सोचियो भने ढिलो हुन सक्छ ।’

प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही कडा कदम चाल्नुपर्ने हुन सक्ने बताए । उनले भने- ‘समीक्षा सुरु भएको छ, सरकारका कामहरुको पनि र पार्टी एकताका कामहरुको पनि ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताए । त्यसैले अब जो जो परे पनि केही स्टेप चाल्नुपर्ने उनले बताए । उनले अगाडि भने ‘जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्नेखालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ । कसैलाई सिध्याउने भन्ने त होइन तर पार्टी, आन्दोलन, जनता र राष्ट्रका लागि व्यक्ति ठूलो कुरा होइन ।’

मन्त्रीलाई हटाउनेबारे यो समूह वा ऊ समूह भनेर दुबै अध्यक्षले नहेरेको प्रचण्डले बताए । उनले भने- ‘जोसुकै होस्, कदम चाल्नुपर्छ भन्नेतिर नै हाम्रो सोचाइ र छलफल केन्द्रित छ ।’

नेकपाको एकता प्रक्रियामा कुनै समस्या नरहेको र प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै असमझदारी नरहेको बताउँदै उनले भदौभित्रै पार्टी एकता टुंगिने बताए ।

अध्यक्ष प्रचण्डले भारत र चीनको निम्तामा छिमेकी देशको भ्रमण गर्न लागेको बताउँदै भ्रमणको एजेण्डा राष्ट्रिय हित र विकासका आयोजनाहरुमा छलफल गर्ने मात्र रहेको बताए । उनले भने- ‘म भारत र चीन जान्छु नै । सबै सेड्युल तयार भैसकेको छ । पर्सि इण्डिया जान्छु । त्यताबाट फर्किएर आएको ६ दिनपछि चाइना जान्छु ।’

प्रचण्डले पार्टी एकता, सरकार र विदेश भ्रमणबारे व्यक्त गरेको विचार उनकै शब्दमा :

जोसुकै परुन्, सरकारको समीक्षा सुरु भएको छ

अहिले देशमा जुनखालको परिस्थिति बनेको छ, त्यसको समीक्षा पनि हामीले सुरु गरेका छौं । थिति अलि गम्भीर हुन थालेको छ । जनतामा निराशा बढ्ने संकेतहरु देखिएका छन् । मिडियामा जुन कुराहरु आइराखेका छन्, त्यसका बारेमा हामी विषयको गम्भीरतालाई विचार गरेर अब समीक्षा सुरु गर्नुपर्छ भनेर भनिएको छ ।

दुईवटा अध्यक्षका वीचमा अहिले गम्भीर ढंगले छलफल गर्ने प्रक्रिया सुरु भएको छ । वीचमा ३/४ महिना अलि त्यस्तो गरिएको थिएन हामीले । अहिले पछि चाहिँ घटनाहरु चाहे गोविन्द केसीको कुरा होस् या ठाउँ-ठाउँमा भइरहेका महिला हिंसाका घटनासँग सम्बन्धित कुरा होस्, या अन्य कुराहरु, यसमा दुई अध्यक्षका वीचमा गम्भीर ढंगले छलफल सुरु भएको छ ।

जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्नेखालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ ।
तपाईहरुलाई के नपरोस् भने दुईटा अध्यक्षकै वीचमा कुरै नहुने र शंकाको नजरले मात्रै हेर्ने छ कि ? यो सत्य होइन । छलफल हुन्छ । गर्न थालिएको छ । सरकारको कामकाजको समीक्षा र पार्टी एकतासँग सम्बन्धित प्रक्रियाको समीक्षा गरेर त्यो समीक्षाको एउटा प्रस्ताव तयार गर्ने भनिएको छ दुईटा अध्यक्षले । त्यो प्रस्तावलाई सचिवालयले अन्तिम रुप दिने अनि ४५ जनाको स्थायी कमिटीमा लगेर छलफल गराउने ।

हामीले केही न केही स्टेप चाल्नुपर्छ भन्नेतिर नै हाम्रा छलफलहरु केन्द्रित छन् । छलफल नै सुरु नभएको वा अनदेखा भएको भन्ने स्थिति होइन । छलफल सुरु भएको छ । समीक्षा सुरु भएको छ, सरकारका कामहरुको पनि र पार्टी एकताका कामहरुको पनि ।

यसलाई कुन विधिबाट लैजाने भन्नेमा जरुरी पर्छ भने हामीले अलिकति बलियो कदम नै चाल्नुपर्छ सरकारका सम्बन्धमा र मन्त्रीहरुका सम्बन्धमा भन्ने तहसम्म पनि छलफल भएका छन् । यहाँ एउटा पक्षको मन्त्रीलाई छुँदा अर्को पक्षको भनेजसरी सोचिएको छैन । जोजो छ, त्यस्तो छ भने हामीले जनतामा बढ्न थालेको निराशाको स्थितिलाई हेर्दा जोसुकै होस्, कदम चाल्नुपर्छ भन्नेतिर नै हाम्रो सोचाइ र छलफल केन्द्रित छ । योचाहिँ मन्त्रीलाई नचलाऊ, उचाहिँ मन्त्रीलाई चलाऊँ भन्नेजस्तो ठाउँमा छैनौं हामी ।

जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्नेखालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ । कसैलाई सिध्याउने भन्ने त होइन, तर पार्टी, आन्दोलन, जनता र राष्ट्रका लागि व्यक्ति त ठूलो कुरा होइन । यसमा सोच्नुपर्छ भन्ने लाइटमा नै छलफल अगाडि गैराखेको छ ।

पार्टी एकता प्रक्रिया भदौभित्रै टुंगिन्छ

पार्टी एकता समस्या भएर अडि्एको चाहिँ होइन, लिडरसिपको कार्यव्यस्तताले हो । प्रधानमन्त्री कहिले भारत भ्रमण, कहिले चीन भ्रमण, कहिले बिमस्टेक सम्मेलन । कहिले प्रधानमन्त्रीको हैसियतले थुप्रै काम परिराख्ने ।

दुईवटा अध्यक्षको प्रणाली हामीले जुन बनाएका छौं, यो अन्तरविरोध भएर होइन कि दुईवटा अध्यक्ष नभई नहुने, अनि दुईवटै अध्यक्ष भएर निर्णय लिनलाई समय मिलाउन नै हामीलाई धेरै गाह्रो पर्छ बेलाबेलामा ।

समय मिलाउनै सकिँदैन अनि धकेलिँदै जान्छ । दिन, हप्ता, १० दिन, १५ दिन, २० दिन । यसरी धकेलिने एकदमै सामान्य जस्तो भएको छ । यसरी दुईवटा अध्यक्ष सधैं चल्ने त होइन, हामीले महाधिवेशनसम्म यही तरिकाले जाने भनेका छौं । तर, अहिले हामी दुबैजनालाई अप्ठ्यारो र जटिल भएको चाहिँ महसुस हुने गरेको छ ।

यो कुरा एकदम क्लियर हुनुहोला । यहाँ (ओली र प्रचण्डका वीचमा) केही छ कि भनेर तपाईहरुले खोजे पनि अहिले भेटिँदैन । भेटिनेखालको स्थिति छैन ।
तर, अन्तरविरोध भएर जटिल भएको हैन है ! अहिले त्यस्तो छैन । हामीले जे गरेका हौं, एउटा ठूलो, असाधारण पहल गरेकै हो । यो पहल ठीक छ र यसलाई सफल पार्नुपर्छ । र, हामीले नै यसमा बल गर्नुपर्छ भन्नेमा हामीवीच अहिले विमति छैन । यो कुरा एकदम क्लियर हुनुहोला । यहाँ (ओली र प्रचण्डका वीचमा) केही छ कि भनेर तपाईहरुले खोजे पनि अहिले भेटिँदैन । भेटिनेखालको स्थिति छैन ।

कमिटी बनाउने बेलामा हामीले कार्यदल बनाएका थियौं, ती कार्यदलले सुझाव दिएका छन् । मान्छेहरुमा म पर्नुपर्‍यो, म परिनँ भने छुटिहाल्छु कि भन्ने तलका साथीहरुमा लाग्नु स्वाभाविकै छ । माथि त सेटल भैसकेकै छ । जहाँ-जहाँ कमिटीहरु बन्दैछन्, प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटी, विभिन्न जनसंंगठनहरु, विभागहरु, आयोगहरु, जो बन्दैछन्, त्यसमा साथीहरुले अलि अपेक्षा गर्नु र प्रतिस्पर्धा गर्नु अस्वाभाविक खालको देखिएको छैन । केहीकेही ठाउँमा अलिअलि होलान् । ती नगन्य लाग्छ मलाई । त्यो जटिल भएर पार लगाउनै नसकिनेजस्तो छैन । अहिले गृहकार्य भैराखेको छ ।

मलाई लाग्छ, यो महिनाभित्र हामीले एकता प्रक्रिया टुंग्याइदिनुपर्छ । हामीले भदौसम्म सक्ने भनेको हो । अब भदौभित्र एकता प्रक्रियाको मूलभूत काम सक्नुपर्छ र संस्थागतरुपले जनतामा गएर अभियान चलाउने, प्रशिक्षण दिने, स्कुलिङ चलाउने गर्नुपर्छ । अहिले यत्रो पार्टी छ, छताछुल्ल जस्तो भएर बसेको छ । त्यसैले यो एकता प्रक्रियालाई यो महिनाभित्र टुंग्याउने उद्देश्य राखिएको छ । यहीअनुसार काम भएको छ ।

यसबीचमा दुईदिन सचिवालयको बैठक बस्ने अनि दुई दिनचाहिँ स्थायी समितिको बैठक बसेर यो प्रक्रियालाई अन्तिम रुप दिने भन्नेतिर अगाडि बढिएको छ । एकता प्रक्रियामा ठूलो समस्या आएको होइन, समयको म्यानेज गर्न नसकिएको स्थितिचाहिँ थोरै छ ।

भारत र चीन भ्रमण : शंकाले लंका जलाउने गरेको छ

म भारत र चीन जान्छु नै । मैले जानुपर्छ भन्ने नै लागेको छ । मान्छेहरुमा के हो, कसो हो भन्ने थोरै टीकाटिप्पणी त होला, तर जुन उद्देश्यका साथ अगाडि बढ्न खोजिएको छ, त्यसका निम्ति मैले जानु नै पर्छ । नेपालको राष्ट्रिय हित र यहाँको विकासमा जनताको आकांक्षालाई सम्वोधन गर्नेगरी मैले भारतसँग पनि अलि गम्भीर ढंगले केही कुरा गर्नुपर्छ । चीनसँग पनि केही कुरा गम्भीर रुपले गर्नुपर्छ भन्ने लागेको छ ।

दुईवटा अध्यक्ष भएको हुनाले स्वतः नै अर्को अध्यक्ष पनि आएर सहमित समझदारी कार्यान्वयनको वातावरण राम्रो बने हुन्थ्यो भने चाहना चाइनिजहरुले राख्नु अथवा भारतीयहरुले राख्नु अस्वाभाविक होइन ।
जसरी मैले दोस्रोपटक सरकारको नेतृत्व लिँदैगर्दा छिमेकीसँगको सम्बन्धमा एउटा सन्तुलन भत्किएको जस्तो थियो । बिगि्रएको जस्तो थियो । अविश्वासको मात्रा थियो । त्यसलाई बदल्न सुरुमा सन्तुलनमा ल्याउने र आफ्ना आन्तरिक कामहरु अगाडि बढाउने सकारात्मक वातावरण बनोस् भन्ने उद्देश्य थियो ।

अहिले विमस्टेकको सम्मेलनसम्म आउँदा यसवीचका घटनाक्रमहरु हेर्दा पनि फेरि दुबै देशको नेतृत्वले मलाई आइदिए हुन्थ्यो भन्ने सुरुदेखिको चाहना छ । यो अहिले भर्खरै भएको होइन । प्रधानमन्त्रीजी भारत जानुभो, चीन जानुभो । त्यो चीन-भारत भ्रमण सकारात्मक नै भएको हो । चीन भारत भ्रमण असफल भएको होइन । तर, हामीले पार्टी एकता गरेको र दुईवटा अध्यक्ष भएको हुनाले स्वतः नै अर्को अध्यक्ष पनि आएर सहमित समझदारी कार्यान्वयनको वातावरण राम्रो बने हुन्थ्यो भने चाहना चाइनिजहरुले राख्नु अथवा भारतीयहरुले राख्नु अस्वाभाविक होइन ।

त्यसकारण मैले राष्ट्रिय हितमा र विकासका आयोजनाहरुसँग सम्बिन्धत भएर एकचोटि छलफल गर्नु उचितै हुन्छ भनेरमात्रै जाने हो म ।

हुन त मानिसहरुले थोरै यताउता हुनेवित्तिकै असाध्यै धेरै शंका गर्ने र त्यसले फेरि लंकैसम्म पुर्‍याउने प्रचलन पनि हामीकहाँ छ । म अस्ति १५ दिन झण्डै सिंगापुर बसें । मैले सिंगापुरमा न चिनियाँ, न भारतीय, न युरोपियन र न अमेरिकन, कसैलाई पनि भेटिनँ । न भेट्न खोज्दा मैले रेस्पोन्स गरें । म विल्कुल पारिवारिक र व्यक्तिगत काममा छु भनेर भेट इन्कार गरें । तर, टिप्पणीचाहिँ भेट्यो नै भन्ने भएछ । आफ्नै साथीहरुलाई पनि विश्वास दिलाउन मलाई हम्मेहम्मे पर्‍यो । तर, त्यो विल्कुल सत्य थिएन ।

अहिले पनि म यता अथवा उता, या सरकारलाई… भनेर जान आँटेको होइन । नेपालको राष्ट्रिय हित र विकासका आयोजनाहरु अगाडि बढाउने उद्देश्यमात्रै राखेर र दुई देशसँगको सन्तुलनलाई अझ सुदृढ गर्ने बाहेक अर्को कुनै मेरो एजेण्डा छैन । सकारात्मक वातावरण बनाउने र सरकारलाई सफल बनाउने उपायहरुको खोजी गर्ने उद्देश्यले नै जान्छु म । हिजो सरकारसँग भएका सहमति सम्झौता कार्यान्वयनलाई कसरी तीव्रता दिने भन्ने उद्देश्यले मात्रै जान्छु म । त्योबाहेक मेरो अर्को उद्देश्य हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!