भावुक हुदै कृष्ण लामाले भने – ‘मर्नै लाग्दा पनि कलाकारले सम्झिएनन्’

‘हामी प्राविधिक पाखुराले भ्याएसम्म कलाकारको सेवा गर्छौ । आफू झुत्रो लुगा लाएर पनि कलाकारलाई राम्रेँ बनाउँछाैँ। उनीहरुको लुगा राम्रो भएन भने हामी आइरन लाएर भए पनि राम्रो बनाइदिन्छौं। उनीहरुलाई भोक लाग्दा हामी स्पटमा खाना पु-याइदिन्छौं । उनीहरुलाई घाम पर्दा हामी छाता ओडाइदिन्छाैं । आफू अँध्यारोमै रहेर पनि उनीहरुको मुहारमा सधैँ हामी उज्यालाे खोज्छौं। उनीहरुको दुःखमा हामी पनि दुःखी हुन्छौँ । तर हामीलाई दुःखपर्दा उनीहरु कहिल्यै दुःखी देखिएनन्।’

तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा फिल्म प्राविधिकका रुपमा काम गरिरहेका लिला बहादुर तामाङ (कृष्ण लामा) बुधबार दिउँसो आफ्नै डेरामा निकै भावुक भए । एक महिनायता उनी गम्भिर बिरामी छन् । कहिल्यै अस्पतालको बेड, कहिल्यै घरकै बेड । दैनिकी यसरी नै बितेको छ।

प्यानक्रियाजको क्यान्सर भएको छ उनलाई । कलेजोमा चार ठाउँ क्यान्सर देखिएको छ । जन्डिसले उस्तै सताएको छ । चिकित्सकको सक्दो प्रयासले पनि रोग निको हुने छाँटकाँट छैन । घोषणा नै भइसकेको छ, ‘अब जे गर्छन् भगवानले गर्छन्।’

नागरिककर्मी बुधबार दिउँसो भैँसेपटीस्थित नख्खुमा रहेको उनको झुप्रो डेरामा पुग्दा उनी बेडमै थलिएका थिए । श्रीमती र छोरा भने उनको हेरचाहमा खटिएका थिए । डाक्टरले उनलाई धेरै नबोल्नु भनेका छन् । तैपनि उनी सकि नसकी बोलिरहेका थिए।

डाक्टरले सुरुमा उनको बिरामी निको नहुने खबर नर्सिङ पढिरहेकी उनकी छोरीलाई सुनाएका रहेछन् । छोरीले बाबुको आत्मबल बलियो छ भन्दै उनैलाई सुनाउन अनुरोध गरिछिन् । त्यसपछि डाक्टरले उनलाई भनेछन्, ‘डा.उपेन्द्र देवकोटालाई जस्तै निको नहुने क्यान्सर तपाईलाई लागेको छ । दुई महिनाभन्दा बढी बाँच्न गाह्रो छ।’

त्यसयता उनी आफ्नै जीवनसँग संघर्ष गरिरहेका छन् । ‘जन्डिसमात्रै निको भए त अझै ६–७ वर्ष बाँच्छु,’ उनी आशावादी देखिए । त्यो आशा फेरि एकछिनमै हरायो । मलिनो स्वर पार्दै उनी फेरि बोले, ‘तर अहिले निकै कमजोर भइसकेँ । केही खान मन लाग्दैन । अरु त के पानी पनि पिउन सक्दिनँ, बमिट भइहाल्छ। ’

करिब डेढ सय फिल्ममा प्राविधिकका रुपमा काम गरिसकेका लामाको खास घर रामेछाप हो । १४ वर्षको हुँदा उनी कामको खोजीमा काठमाडौं आएका थिए । इट्टा बोक्नेदेखि घर पेन्टिङ गर्नेसम्मको काम गरे । सकेनन् । त्यही बेला लाइटम्यान सुधिरसँग ठोक्किन पुगे ।

‘सुधिर दाइले ल हिड् फिल्म लाइनमा काम गर्न भन्नुभयो । दिनको डेढ सय दिन्छु भन्नुभयो,’ उनले सम्झिए, ‘त्यसपछि फिल्म ‘चेलिबिटी’बाट स्पटब्वायका रुपमा काम थालेँ । ७ वर्षजति स्पटब्वायकै रुपमा काम गरेँ । त्यसपछि लाइटम्यानमा अपग्रेड भएँ । १० वर्ष लाइटम्यान गरेपछि ड्रेसम्यानका रुपमा काम गरेँ । अनि अहिले प्रोडक्सन डिजाइनर ।’

पुराना फिल्महरु ‘वसन्ती’, ‘भानुभक्त’, ‘नासो’, ‘वीर गणेश’, ‘चेलिबेटी’, ‘विजयपराजय’ लगायतमा उनले पर्दापछाडीबाट सघाएका छन् । कतै कलाकारले खाएका झुटो भाँडा माझेका छन् । घामपानी नभनी कलाकारको सेवामा सुटिङ स्पटमा खटेका छन् । कति समय कलाकारका मुहारमा प्रकाश छर्न लाइटम्यानका रुपमा उभिएका छन भने कति समय उनीहरुको ड्रेस मिलाउन ।

पर्दा पछाडि रहेर राजेश हमाल, सरोज खनाल, गोपालराज मैनाली, मिथिला शर्मा, निखिल उप्रेती, संचिता लुईटेल, भुवन केसी, विपना थापा, निरुता सिंह लगायत थुप्रै पुराना र लोकप्रिय कलाकारसँग उनले काम गरेका छन् । तर आज मृत्युको संघारमा आइपुग्दा उनलाई भेट्न कोही कलाकर्मी पुगेका छैनन्। न कसैले एक सुकाे सहयोग गरेका छ । ‘मैले बल भइन्जेल सेलिब्रेटीको सेवा गरे । आज म मर्नै लाग्दा पनि कोही कलाकारले मलाई सम्झिएनन् । आखिर हामी प्राविधिक यहाँ सधैँ तल्लो दर्जाकै हुने रहेछाैं।’

बोल्दै गर्दा बीचबीचमा लामाको बोली रोकिन्थ्यो । सास फेर्न गाह्रो हुन्थ्यो । पानी माग्थे । सकिनसकी पिउन खोज्थे । श्रीमतीले ल्याइदिन्थिन् । अनि फेरि बोल्न खोज्थे । ‘म खुशी छु, मलाई मेरै प्राविधिक साथी नगेन्द्र घिमिरेले ५ हजार सहयोग ग-यो । सुवासराज काफ्लेले दुई हजार दिनुभयो । सहयोगको नाममा मैले पा’को यति नै हो । चलचित्र प्राविधिक संघले ३१ हजार सहयाेग गरेकाे छ । धिरेन शाक्यबाहेक कोही कलाकारले मलाई एक कल फोन पनि गरेनन्, सहयोग त परको कुरा ।’

अहिलेसम्म उपचारमा साढे तीन लाख खर्च भइसकेको उनले बताए । एक छोरा, एक छोरीका पिता उनलाई आफ्नो निधनपछि घर कसरी चल्छ भन्ने चिन्ता उस्तै छ । तैपनि उनी खुशी हुने प्रयत्न गरिरहेका छन् ।

मर्नु त एकदिन सबैलाई छँदै छ । यसमा उनलाई गुनासो छैन । जीन्दगी के रहेछ र ? आँखाभरी आँसु पार्दै उनले भने, ‘संघर्ष त हो रैछ । जीवनभर संघर्षै गरियो । र, आज मर्नै लाग्दा अस्पताल जान पनि संघर्ष गरिरहेको छु ।’

बुधबार उनको स्वास्थ्य स्थिती निकै कमजोर देखिन्थ्यो । तैपनि उनी प्राविधिक भएर काम गर्दाका खुशीका पलहरु साटिरहेका थिए ।

‘राजेश हमाल दाई खुब माया गर्नुहुन्थ्यो । ‘गोपीकृष्ण’ फिल्मका बेला मैले पकाएको खाना पनि खानुभयो । भुवन केसी पनि मलाई माया गर्थे,’ ४७ वर्षिया लामाले यति भनिसकेपछि उनको सास रोकियो । बोल्न गाह्रो भयो । श्रीमतीलाई पानी मागे । पानी पिए । आराम गरे।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!