नारायणगढ–बुटवल सडक विस्तार, भोलि प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड चार लेनको बनाउन सुरु गरिने भएको छ ।

भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेर औपचारिक रुपमा काम सुरु गर्न लागिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । उनका अनुसार नारायणगढदेखि बुटवलसम्म विस्तार र स्तरोन्नति गर्नका लागि टेण्डरको सबै प्रक्रिया पूरा गरेर निर्माण व्यवसायीहरु उपकरणहरुसहित साइटमा मोविलाइज भइसकेका छन् । ‘सबै तयारी भइसकेको छ प्रधानमन्त्री ज्यूबाट शिलान्यास भएपछि युद्धस्तरमा काम काम थाल्नेछौ’ उनले भने ।

मध्य नेपालको नारायणगढदेखि पश्चिमको बुटवलसम्म पहिलो चरणमा विस्तार र स्तरोन्नतीको काम सुरु गर्न लागिएको हो । भौतिक योजना तथा यातायात मन्त्रालयका अनुसार करिब एक हजार किलोमिटर लामो राजमार्ग विभिन्न खण्डहरु साँघुरो भएपछि विस्तार र स्तरोन्नती गर्न लागिएको हो । सरकारले चार वर्षभित्र उक्त सडकको अधिकांश खण्ड फराकिलो बनाउने लक्ष्य राखेको छ । यो आयोजना सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) मातहत निर्माण हुनेछ ।

यो सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ पाएको छ । यो सडक खण्डलाई पनि दुर्इवटा प्याकेज बनाएर निर्माण गर्न लागिएको छ। दुर्इवटै प्याकेज निर्माणको जिम्मा सोही चिनियाँ कम्पनीलार्इ दिईएको छ ।

सबै भन्दा कम कवोल गरेको चिनियाँ कम्पनीले ठेक्का पाएको हो। उक्त चिनियाँ कम्पनीले प्याकेज १ मा ९ अर्ब १३ करोड रुपैयाँ र प्याकेज दुईमा ७ अर्ब ८६ करोड रुपैयाँ बराबर कवोल गरेको थियो । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार करिव ११५ किलोमिटर लामो यो नारायणगढदेखि दाउन्ने ६५ किमी र दोस्रो दाउन्नेबाट बुटवल बाँकी ५० किमी रहेको छ ।

यो सडकमा ६१ वटा पुल निर्माण हुनेछन् । जसमा ४१ वटा ठूला र २० वटा साना पुल पर्दछन् । राजमार्ग दुई लेनको मात्रै रहेको छ । उक्त सडकलाई स्तरोन्नति गरेर चार लेनको बनाउन लागिएको हो । दुवैतिर ७र७ मिटरको क्यारिज वे हुनेछ । एउटा लेन ३.५ र ३.५ मिटर बराबर हुनेछ । भने २.५ मिटरको सोल्डर निर्माण गरिने छ । वस्ती भएका क्षेत्रहरुमा सर्भिस लेन समेत बनाउन लागिएको छ । आयोजनाले गरेको सर्भे र डिपिआरले दाउन्नेको उकालोमा चारलेनमा सडक विस्तार गर्न नसकिने भएपछि करिव १२ किलोमिटर खण्डमा तीन लेनको मात्रै सडक निर्माण गर्न लागिएको हो । उकालो चढ्नका लागि दुईवटा लेन र एक लेन ओरालो झर्न प्रयोग हुनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको हो । ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडक निर्माणको काम पूरा भएपछि नारायणगढबाट बुटवल डेढ घण्टामा नै सजिलै पुग्न सकिने छ ।

Source : Narayani Online

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!