महानगरपालिका र ठेकेदारबीचको मेलोमतोमा सेती नदीको तीब्र दोहन !

उत्तम पौडेल,
कास्की, २५ भदौ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका २५ हेम्जा स्थित सहस्रधारा घाटमा महानगरपालिका र ठेकेदारबीचको मेलोमतोमा अनाधिकृत रुपमा सेती दोहन हुँदै आएको छ्र । सेती नदीको दोहन गर्ने, सार्वजनिक जग्गामा घाट संचालन गर्ने, व्यक्तिगत जग्गा मिच्ने र खोलाको मापदण्ड बिपरित काम गर्ने कार्य तीब्र बन्दा स्थानीय चिन्तित बनेका छन् ।

निजी जग्गामा खानी संचालन गर्ने अनुमति लिएका ठेकेदार रामचन्द्र थापाले जथाभाबी ढुंगा गिट्टी बालुवा निकालेको नै आरोपमा जिल्ला समन्वय समितिले उनलाई गत बैशाखमा कारबाही गरेको थियो । जिल्ला समन्वय समितिले रोकेको घाट अहिले पुनः महानगरसंग सम्झौता गरेर उनै ठेकेदार थापाले संचालन गरेका छन् ।

जिससको प्राबिधिक टोलीले गैरकानुनी तरिकाले गरेका कार्यको प्रतिवेदन सहित महानगरपालिकालाई उक्त खानी रोक्न निर्देशन दिएको थियो । सूचीमा ठेकेदारले गैरकानुनी तरिकाले खोला घाटमा पक्की कच्ची खोरी निर्माण गरेको, आफ्नो निजी जग्गा बाहेकको जग्गामा घाट चलाएको र तोकिएका कार्यक्षेत्र भन्दा बाहिर गएर कार्य, खोलाको बहाब परिवर्तन गरेको देखाएको थियो । अहिलेसम्म पनि खोलाको बहाब फर्काइएको छैन भने खोरी निर्माण गरेर अनधिकृत रुपमा सेतीको दोहन गर्न ठेकेदारले छोडेका छैनन् ।

यता सो घाट संचालन गर्दै आएका ठेकेदारले भने सो वरपरको जग्गा सबै आफ्नो भएको र आफुले महानगरसंग स्वीकृति लिएर घाट संचालन गरेको दाबी गर्छन ।

खोलामा डोजर र स्काभेटर नै लगाएर नदीको दोहन गर्दै आएपछि वडा नम्बर १९ र २५ का स्थानीयले पटक पटक सो कार्य रोकिदिन महानगरमा निबेदन समेत गरेका छन् । तर त्यसको सुनुवाई हुन सकेको छैन ।

यस विषयमा पोखरा महानगरपालिकाका पनि काम रोक्नको लागि निर्देशन दिइसकेको जिकिर गरेको छ । महानगरकै केही जिम्मेवार व्यक्ति र ठेकेदारको मिलोमतो भएको अबैध दोहनलाई तत्काल रोक्न आवश्यक छ । यस्तै स्थानीयको बसोबास गर्ने क्षेत्र नै जोखिममा परेको हुँदा स्थानीयलाई उचित क्षतिपूर्तिको पनि व्यवस्था गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!