अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा आनी डोल्मा मात्र बाँचिन्, पाइलट बन्न चाहन्छिन् उनी

काठमाडौं– अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा आनी डोल्मा मात्र बाँचिन्। अस्पतालको सघन उपचार कक्षमा आनीको उपचार भइरहँदा उनीजस्तै दुर्घटनामा बाँच्न सफल गोमा एयरकी परिचारिका प्रज्ञा महर्जनबारे कुरा गरौं।

‘निर्मम दुर्घटनामा परेर पनि बाँचेपछिको जीवन कस्तो लाग्दो रहेछ? के यो साँच्चै नाफाको जिन्दगी हो त?’

२०७४ जेठ १३ गते शनिबार लुक्ला विमानस्थलमा भएको दुर्घटनामा बाँच्न सफल प्रज्ञालाई लाग्दो रहेछ, दुर्घटना कहिल्यै सम्झन नपरोस्। तर के गर्नु, दुर्घटनाको घाउ शरीरभरि अझै साक्षी बनेर बसेका छन्। जीउ राम्ररी तंग्रिएको छैन। हात–गोडा फतक्क गल्छन्। घटना सम्झदा कता-कता मन निसासिन्छ।

दुर्घटनामा उनका दुवै हात, दायाँ खुट्टा र मेरुदण्ड भाँचिएका थिए। उपचारसँगै थेरापी र व्यायाम गर्दै दिन काटिरहेकी छिन् उनी। ‘निहुरिन हुँदैन, सामान्य वस्तु उचाल्न पनि गाह्रो हुन्छ’, प्रज्ञाले भनिन्, ‘शारिरीक रुपमा बिस्तारै ठिक हुँदैछु। तर नयाँ जीवन पाएर भने रमाइलो लागिरहेको छ। अबका दिनमा मेरो सपना पूरा गर्न लाग्नेछु।’

दैनिक सय मिटरसम्म हिँडेर शरीरलाई पूर्ववत् बनाउन लागिपरेकी प्रज्ञाको सपना के छ त?

‘म कम्तिमा पनि भेस्ना भूलोभिक बन्न चाहन्छु’, उनी मुस्कुराइन्।

के हो यो ‘भेस्ना भूलोभिक’ भनेको?

‘भेस्ना भूलोभिक’ एयर होस्टेसकै नाम रहेछ। जहाज दुर्घटनामा बाँचेकी एक सर्वियन एयर होस्टेस। सन् १९७२ मा सर्बियाबाट चेकोस्लोभाकियाका लागि उडेको विमान एकाएक दुर्घटनामा पर्‍याे। डोलास डिसी–९ नामको सो विमानमा रहेका सम्पूर्ण यात्रुसहित चालकको निधन भयो। तर, संयोगबस् २१ वर्षिया परिचारिका ‘भेस्ना भुलोभिक’ भने बाँच्न सफल भइन्। ३३ हजार फिटमाथि आकासबाट धर्तीमा झरेर पनि बाँच्न सफल बनेकी भेस्नाको नाम गिनिज बुकमा लेखियो।

‘भेस्ना फेरि आफ्नै दुनियाँमा फर्किएकी रहेछिन्, उनको अठोटलाई मान्नु पर्छ’, नेपाली भेस्ना बन्न चाहने प्रज्ञाले भनिन्, ‘भेस्ना त फेरी एयर होस्टेस मात्र भइन्, मलाई त पाइलट नै हुन मन छ।’

१५ महिना अघिको त्यो शनिबार। अर्थात् २०७४ जेठ १३ गते। प्रज्ञाका लागि त्यो पाँचौ उडान अर्थात् हालसम्मकाे अन्तिम उडान थियो। मौसम पनि खराब थिएन। लुक्ला आफैंमा कठिन विमानस्थलमा दरिन्छ। त्यसैले मौसमको हेक्का नराखी त्यता कोही उड्दैन। तर गोमा एयरल्यान्सको नाइन एनएकेवाइ (याङ्की) विमानस्थल नजिकै पुग्दा अप्रत्याशित रुपमा अनियन्त्रित हुन पुग्यो। प्रज्ञालाई सम्झना छ, ‘जहाज अलिक हल्लिएको थियो। गडबडी सुरु भयो भन्ने नलागेको होइन। विमानस्थलमा अवतरण गर्न खास समय लाग्दैन भन्ने पनि थियो, त्यसैले अनिष्ट हुँदैन भन्ने आशा थियो। तर जहाज एकाएक दुर्घटनामा पर्यो।’

‘मलाई ६ घण्टापछि मात्र चेत खुल्यो, बल्ल थाहा पाएँ कि, जहाज त साँच्चै दुर्घटनामा पो परेको रहेछ,’ प्रज्ञाले अमिलो मन पार्दै उही घटना सम्झिन्, ‘जहाज त धावनमार्ग भन्दा ५० मिटर परको भीरमा ठोक्किएको रहेछ।’

कार्गो बोकेको सो जहाजमा क्याप्टेन पारस कुमार राई र को-पाइलट सृजन मानन्धर थिए। दुर्घटनामा दुबैको मृत्यु भयो। भीरमा बजारिएको जहाजमा प्रज्ञा गम्भीर घाइते भइन्। उनलाई उद्धार गरेर काठमाडौं ल्याइयो। चेक–जाँचपछि उनलाई शल्यक्रिया गर्नुपर्ने भयो। डा विनोद बिजुक्छेले ‘स्पाइनल सर्जरी’ गरे। हात खुट्टाको शल्यक्रिया भने डा चक्रराज पाण्डेले गरे। ‘डाक्टरहरुले अबका केही महिनामै मलाई काममा फर्कन योग्य हुने बताएका छन्’, उनले सुनाइन्, ‘मेरो मनमा अठोट छ, म फेरी काममा फर्किन्छु। सके पाइलट बन्छु नत्र एयर होस्टेस त छँदै छ।’

२०५२ सालमा जन्मिएकी ललितपुरकी प्रज्ञा कालिमाटीको बर्नहार्ट कलेजबाट प्लस टूपछि उड्ययनसम्बन्धि तालिम प्राप्त हुन्। तालिम सकेपछि विमान परिचारिकाको पहिलो अनुभव पनि उनका लागि लुक्ला नै थियो। ‘लुक्लालाई खरतनाक विमानस्थल भन्थे तर मलाई त्यस्तो लाग्दैनथ्यो, दुर्घटना भन्ने कुरा मेरो दिमागमा कहिल्यै आएन’, उनले भनिन्, ‘तर दुर्भाग्य भयो। जिन्दगीमा यस्तो दुर्घटना पनि भोगियो।’

प्रज्ञामा पहिलेभन्दा अहिले अझै आत्मविश्वास बलियो बन्दै आएको अनुभूति सुनाइन् उनकी आमा गुलाब महर्जनले। भनिन्, ‘हामीलाई पनि त्यो घटना सम्झन नपरोस् जस्तो लाग्छ। तर, अहिले छोरीलाई निको हुँदै आएको छ। उसले आफ्नो मन दह्रो बनाएको देख्दा खुसी लागेको छ।’

प्रज्ञालाई भेट्दा उनका सहकर्मीहरु सबैले दुर्घटनापछिको बाँकी जीवनलाई अझै सुन्दर र कर्मशील बनाउन सुझाव दिने रहेछन्। यस्ता सुझाव र सद्भावले उनमा अझै ऊर्जा र रस भरिने रहेछ।

त्यसैले त उनी भन्छिन्, ‘लाइफ इज ब्युटिफूल।’-नेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!