हावाहुरी पिडीत भन्छन -‘खाटमुनि लुकेर ज्यान बचायौँ’

बारा – ‘भूकम्प आउँदा खाटमुनि लुक्नुपर्छ भन्ने सुनेको थिए । तर हावाहुरी आउँदा के गर्ने भन्ने थाहै थिएन । त्यस्तै गर्ने होला भनेर खाटमुनि लुकेर हामीले आफ्नो ज्यान जोगायौँ ।’

बाराको कलैया उपमहानगरपालिका १८ भलुहीभरवलीयाका ६३ वर्षीय साहेब कुर्मी २७ जनाको ज्यान जाने गरी आएको हावाहुरीमा कसरी ज्यान बचाइयो भन्नेबारे त्यहाँ पुगेका उद्दारकर्मीसँग यसरी आफ्नो कुरा सुनाउँदै हुनुहुन्थ्यो ।

खाटमुनि पसेर ज्यान जोगाउन सकेकोमा खुशी देखिए पनि वरपर छिमेकका कतिपयले ज्यान गुमाएको सुन्दा आफू स्तब्ध भएको पनि उहाँले सुनाउनुभयो ।

मलिन अनुहार बनाउँदै उहाँले भन्नुभयो, ‘साँझ बाहिरको काम सकेर घरमै बसिरहेको थिएँ । आकाश कालो निलो भएर पानी पर्ला झैँ भएको थियो । बिजुली चम्किरहेको थियो ।

बुहारीले खाना भर्खर बनाएकी थिइन् । खाने तयारी हुँदै थियो । त्यतिकैमा असिनासहितको पानी पर्यो ।

छोरो गाडी चलाउँथ्यो । गाडि थन्काएर घरमा छिर्न नपाउँदै उसलाई असिनाले लाग्यो । असिनाले लागेर उसको टाउकोबाट रगत आइरहेको थियो । उसलाई समातेर घरभित्र ल्याउन नपाउँदै अचम्मैको आवाज आयो ।

हेलिकप्टर नजिकै आएर बस्न खोजेको जस्तो ठूलो आवाजसहित हावाहुरी आयो । हाम्रो तीन ओटा घर छ । हामी चाहिँ बीचको घरमा आएर बसेका थियौँ । सबैलाई मैले नै बीचको घरमा बस्न भनेको थिए ।

लगत्तै नजिकै रहेका घर ढले । हामी बसेको बीचको घरको पनि छाना सबै उडाइदियो । भित्ता खस्यो । लाग्थ्यो अब संसार यत्ति रहेछ । सबै सकियो । हामी पनि सकियौँ ।

Related image

कान्छो छोरो–बुहारी अनि हामी दुवै जनासँगै थियौँ । छानो उडाइदिएपछि हामी खाटमुनि पस्यौँ । त्यहाँ लुक्दा मात्रै हामी बच्यौँ । खाटमुनि नपसेको भए भित्ताले नै थिच्ने रहेछ । धन्न बाँचियो ।

हुरी धेरै बेर पनि चलेन । त्यस्तै दुई मिनेट जति चलेको थियो होला । तर एकदमै भयानक अनि डरलाग्दो गरी चलेको थियो ।

जेठो छोरा र उसको परिवार नजिकै रहेको अर्को घरमा छुट्टै बस्थ्यो । हावा रोकिनेबित्तिकै उसैको याद आयो । अरु त हामीसँगै थियौँ ।

हतारहतार बाहिर निस्केर उसको घर हेरेको गर्ल्याम्मै ढलेको छ । म त झस्याङ्गै भए । तर कसोकसो घर गर्ल्याम्मै ढल्दा पनि उसको परिवारलाई केही भएको रहेन छ । मर्न लेखेको रहेनछ, कसो बाँचिएछ भन्ने लाग्छ अहिले त ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!