हावाहुरीको पूर्वजानकारी दिने मौसमी राडार कहाँ हरायो ?

१८ चैत, काठमाडौं । पानी र असिनासँगै आएको हावाहुरीका कारण आइतबार साँझ पर्सा र बारामा कम्तीमा २७ जनाको ज्यान गएको छ । पाँच सयभन्दा बढी घाइते भएका छन् ।

ठूलो जनधनको क्षतिसँगै प्रश्न उठेको छ, हावाहुरीको पूर्वानुमान गर्न सकिँदैनथ्यो ?

‘अवश्य सकिन्छ, तर यसका लागि मौसमी राडार चाहिन्छ’, जल तथा मौसम विज्ञान विभागमा पूर्वमहानिर्देशक डा. ऋषिराम शर्मा भन्छन् ।

वेदर सर्भिलेन्स राडारसमेत भनिने मौसमी राडारले हावाहुरीको पूर्वानुमान गर्न सक्छ । यसको सहायताले वर्षाको गति, मात्रा, हावाको बहाव, हावाहुरी, चट्याङ आदिको पूर्वानुमान गर्न सकिन्छ ।

हावाहुरीबारे पूर्वजानकारी पाउन सकेको भए बारा–पर्सामा पक्कै त्यति ठूलो जनधनको क्षती नहुन सक्थ्यो ।

त्यसो त नेपालमा पूर्वसूचना दिने अत्याधुनिक प्रविधि भित्र्याउने पहल नभएको पनि होइन । तर, सरकारी ढिलासुस्ती र लापरवाहीले अहिलेसम्म काम हुन सकेन ।

आफैं जान्नु, नजाने अरुको मान्नु

मौसमी राडार सञ्चालनमा ल्याउन नसक्दा हावाहुरीसम्बन्धी पूर्वानुमान गर्न नसकिएको विभागका अधिकारीहरूले बताएका छन् । विभागले तीन दिनसम्मको बादल, वर्षा, हिमपात, असिना आदिको पूर्वानुमान गर्दै आएको छ ।

विभागले आइतबारदेखि मंगलबारसम्म पूर्वी र मध्य भागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको थियो । ‘देशका पूर्व र मध्य भेगका केही स्थानहरू अनि पश्चिमी भेगका एक दुई स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ’, विभागको बुलेटिनमा भनिएको थियो ।

भारतको मौसमविज्ञान विभागले भने आइतबार बारा–पर्सा लगायत नेपालसँग जोडिएको बिहार, पश्चिम बंगाल लगायतका क्षेत्रमा ४०–५० किलोमिटर प्रतिघन्टाका दरले हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो ।

विभागका पूर्वमहानिर्देशक डा. शर्मा बारा–पर्सामा आइतबार ५० किलोमिटर प्रतिघन्टा भन्दा बढी वेगमा हावाहुरी चलेको हुन सक्ने बताउँछन् । यस्तो एक्स्ट्रिम हावाहुरी विरलै आउने गरेको उनको भनाई छ ।

यो घटनाले छिमेकी देशको मौसम पूर्वानुमानलाई पनि नजरअन्दाज गर्न नमिल्ने पाठ सिकाएको मौसमविदहरू बताउँछन्

कहाँ पुग्यो तीन ठाउँमा मौसमी राडार राख्ने योजना ?

जल तथा मौसम विज्ञान विज्ञाग विभागले मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै तीनवटा मौसमी राडार स्थापना गर्ने घोषणा गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा राडार राख्ने विभागको योजना अहिलेसम्म अलपत्र छ ।

त्यसमध्ये वीरेन्द्रनगरमा राडार स्थापना भइसकेको छ । यसका लागि विभागले एसियाली विकास बैंकको सहयोग लिएको थियो । करिब २० करोड रुपैयाँ लागतमा स्थापना भएको यो राडार प्रयोगमा भने आउन सकेको छैन ।

राडारको केन्द्र कार्यालय वीरेन्द्रनगरमै राख्ने कि कोहलपुरमा भन्ने विवादले सञ्चालनमा आउन नसकेको जानकारहरू बताउँछन् । हवाई दुर्घटना लगायतका विपदको पूर्वानुमान गर्न सकिने राडार राजनीतिक खिचातानीका कारण सञ्चालनमा ढिलाइ भइरहेको विभागका अधिकारीहरू बताउँछन् ।

‘मौसम पूर्वानुमान जस्तो नितान्त विपदसँग जोडिएको विषयलाई पनि राजनीतिक नेतृत्वले गम्भीर रुपमा लिएनन्’, विभागका ती अधिकारीले अनलाइनखबरसँग भने । उनका अनुसार पाल्पा र उदयपुरमा भने नेपाल सरकारकै लगानीमा राडार स्थापना गर्ने तयारी अलपत्र अवस्थामा छ ।

के हो मौसमी राडार ?

दोस्रो विश्वयुद्धका बेला सैन्य राडार सञ्चालकहरूले पहिलोपटक वर्षा, हिउँ र असिनाले राडारमा प्रतिध्वनी अंकित भएको सूचना पाए । विश्वयुद्धपछि अमेरिकी एअर फोर्समा कार्यरत मौसमविद् डेबिड एटलास नेतृत्वको टोलीले डोपलर वेदर राडारको विकास गरे ।

यो राडारको विकास भएपछि कहाँ, कहिले, कति मात्रामा वर्षा भइरहेको छ, वर्षाको तीव्रता, हावाको बहाव, बादल, चट्याङ, असिना, हिउँको पूर्वानुमान गर्न सजिलो भयो ।

मौसमविदहरूका अनुसार यसको माध्यमबाट केन्द्रदेखि तीन सय किलोमिटर वरिपरिको दुरीसम्म मौसमको पूर्वानुमान लगाउन सकिन्छ ।

विभागका पूर्वमहानिर्देशक डा. शर्मा मौसमको पूर्वजानकारी भएपछि बाढी, डुबान, चट्याङ, आँधीबेहरीबाट हुने क्षती कम गर्न सकिने बताउँछन् । यो प्रविधि विमान दुर्घटना न्यूनीकरणमा पनि उपयोगी हुँदै आएको छ ।

मौसमविद मणिरत्न शाक्य केही समयअघि मात्रै सूचना पुर्‍याउन सक्दा पनि क्षती कम गर्न सकिने बताउँछन् । शाक्य भन्छन्, ‘नाउकास्टिङमार्फत कम्तिमा दुई घण्टा अगाडि मौसमबारे पूर्वानुमान गर्न सकिन्छ ।’

तर, नेपालमा मौसमी सूचना प्रणालीलाई कति हल्का रुपमा लिइएको छ भन्ने थाहा पाउन गत असारको एउटा उदाहरण हेरे पुग्छ ।

असार ६ गते शुरु भएको दैनिक रु. २० हजारको बेलुन उडाउने कार्य अहिले बन्द भइसकेको छ ।

विभागले हरेक दिन बिहान ५ः३० बजे उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटरमाथि पुगेर बिहान ९ बजेसम्म काठमाडौं र नुवाकोट सीमाना आसपासमा खस्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!